मेरो विचारबाट त्रसित ओली गुटले पार्टी सदस्यता खायो : भीम रावल
सारांश
- भीम रावलले एमालेलाई राष्ट्रिय हितमा हिँडाउन खोज्दा पार्टी सदस्यता खोसिएको आरोप लगाए।
- रावलले केही व्यक्तिहरूले सत्य लुकाउन खोजेको र आफूलाई भ्रमित पारेको आरोप लगाए।
- उनले एमाले महाधिवेशनमा केपी ओलीको कार्यशैलीको विरोध गर्नेहरूको प्रशंसा गरे।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफूले एमालेलाई राष्ट्रिय हित, विधि, प्रणाली र जनताको आकाङ्क्षाको बाटोमा हिँडाउन खोज्दा त्रसित भएकाहरूले पार्टी सदस्यता खाएको आरोप लगाएका छन् । नेता रावलले अहिले यस्तो सत्यमाथि पर्दा हाल्न केही व्यक्तिहरूले निरर्थक प्रयास गरेको समेत बताएका छन् ।
बुधबार राति सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै रावलले भनेका छन्– ‘मैले एमालेलाई राष्ट्रिय हित, विधि, प्रणाली र जनताको आकाङ्क्षाको बाटोमा हिँडाउनको लागि बारम्बार आग्रह गरेँ। मेरो यस्तो विचारबाट त्रसित ओली गुटले स्वेच्छाचारी रूपमा मेरो पार्टी सदस्यता खाएको हो। यस्तो सत्यमाथि पर्दा हाल्ने केही व्यक्तिहरूको अभ्यास निरर्थक छ।’
उनले एमाले महाधिवेशनको सन्दर्भमा पार्टीका कतिपय नेताहरूले आफ्नो नाम बारम्बार लिएको पाउँदा आफू प्रसन्न भएको बताएका छन् । रावलले दसौँ राष्ट्रिय महाधिवेशनमा केपी ओलीको निरङ्कुश, स्वेच्छाचारी र सिद्धान्तहीन कार्यका विरुद्ध आफूले आवाज उठाए जसरी अहिले पनि केही साथीहरूले आवाज उठाएको तर कतिपयले आफूले उठाएको आवाजलाई गलत किसिमले अर्थ्याएर भ्रम सिर्जना गरिरहेको देख्दा आश्चर्य लागेको समेत बताएका छन् ।
उनले भनेका छन्– ‘मैले दशौँ राष्ट्रिय महाधिवेशनमा केपी ओलीजीका निरङ्कुश, स्वेच्छाचारी र सिद्धान्तहीन कार्यका विरुद्धमा तथा जनताको बहुदलीय जनवाद अनुकूल स्वच्छ प्रतिस्पर्धा, विधि, प्रणाली र स्थापित मान्यताको पक्षमा जुन आवाज उठाएको थिएँ अहिले केही साथीहरूले त्यस्तै आवाज एघारौँ महाधिवेशनको सन्दर्भमा उठाएको पाएँ। तर कतिपयले मैले उठाएको उक्त आवाजलाई गलत किसिमले अर्थ्याएर मैले नै पार्टी छोडेको जस्तो भ्रम सिर्जना गरिरहेको देख्दा आश्चर्य लागेको छ।’
नेता रावलले एमालेका इमानदार, देशभक्त, सत्य र न्यायका पक्षधर नेता–कार्यकर्ताले महाधिवेशनमा पार्टीलाई निरङ्कुश स्वेच्छाचारी, सिद्धान्तहीन र अहङ्कारी नेतृत्वबाट मुक्त गरेर अगाडि जाने बुद्धिमत्तापूर्ण काम गरेमा देश, जनता, कम्युनिस्ट सङ्गठन र राजनीतिलाई एकताबद्ध तथा बलियो बनाउन सहयोग पुग्ने दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण