शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

युक्रेन युद्ध अन्त्यका लागि पश्चिमी राष्ट्रहरूको कूटनीतिक पहल

बिहीबार, २५ मङ्सिर २०८२, ०१ : ००
बिहीबार, २५ मङ्सिर २०८२

सारांश

  • रुससँगको युद्ध अन्त्यका लागि पश्चिमी राष्ट्रहरूको कूटनीतिक पहल सुरु भएको छ।
  • युक्रेनका सहयोगी राष्ट्रहरू भर्चुअल बैठकमा जुटेका छन् र सुरक्षा ग्यारेन्टीबारे छलफल गर्नेछन्।
  • राष्ट्रपति ट्रम्पले कीएभलाई शान्ति सम्झौताका लागि दबाब दिइरहेका छन्।

काठमाडौँ । रुससँगको करिब चार वर्ष लामो युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कीएभलाई शान्ति सम्झौता स्वीकार गर्न दबाब बढाइरहेका बेला युक्रेनका सहयोगी राष्ट्रहरूले बिहीबार भर्चुअल बैठक गर्ने भएका छन् ।

फ्रान्स सरकारका प्रवक्ता मोड ब्रेजेओनले बुधबार भने, “फ्रान्स र बेलायतको सह–अध्यक्षतामा पुनः बस्न लागिएको ‘कोएलिसन अफ द विलिङ’ को भोलिको बैठकले युक्रेनलाई प्रदान गरिने सुरक्षा ग्यारेन्टी र अमेरिकाको महत्त्वपूर्ण भूमिकाबारे ठोस प्रगति गर्न मद्दत गर्नेछ ।”

एलीसे प्यालेसका अनुसार बैठक भिडियो कन्फरेन्समार्फत सञ्चालन हुनेछ ।

अघिल्ला चरणमा अमेरिकाले अघि सारेको सम्झौतापत्रका केही प्रावधानलाई युक्रेनका युरोपेली सहयोगीहरूले रुसका पक्षमा अत्यधिक अनुकूल भएको भन्दै आलोचना गरेका थिए । यद्यपि राष्ट्रपति ट्रम्पले कीएभलाई सो प्रस्ताव स्वीकार गर्न निरन्तर दबाब दिइरहेका छन् ।

यसबिच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मङ्गलबार सुरक्षा सुनिश्चित हुन सके देशमा नयाँ चुनाव गराउने तयारी रहेको बताएका थिए ।

सोमबार, युक्रेनका युरोपेली साझेदारहरूले जेलेन्स्कीलाई ठोस समर्थन व्यक्त गर्दै अमेरिकाको नयाँ प्रस्तावका निश्चित अंशप्रति गम्भीर शङ्का र चिन्ता जनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप