शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
विकास निर्माण

पूर्वपश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण चल्दै, तिनाउमा ठेक्का लगाइँदै

बिहीबार, २५ मङ्सिर २०८२, ०६ : ४१
बिहीबार, २५ मङ्सिर २०८२

सारांश

  • नेपाल सरकारले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणी र तिनाउ नदीमा सिग्नेचर ब्रिज बनाउने घोषणा गरेको छ।
  • रुपन्देहीको तिनाउमा सिग्नेचर ब्रिज निर्माणका लागि ठेक्का आह्वान गरिएको छ, जसमा २ अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ।
  • बुटवलमा बन्ने सिग्नेचर ब्रिज विश्व बैंकको ऋण सहयोगमा बन्ने र यसले पर्यटन प्रवद्र्धनमा मद्दत गर्ने अपेक्षा गरिएको छ।

बुटवल  । नेपाल सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणी र तिनाउ नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माणको घोषणा गरेसँगै हाल नारायणीमा निर्माणको काम चलिरहेको छ । 

यता, रुपन्देहीको तिनाउमा पनि ‘सिग्नेचर ब्रिज’ निर्माणका लागि ठेक्का आह्वान गरिएको छ ।

सरकारले बजेटमा नारायणी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण गर्ने घोषणा गरेको थियो । नारायणीमा निर्माणका लागि तुँदी कन्स्ट्रक्सन प्रालिले चार वर्षभित्रमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको छ । मूल्य अभिवृद्धि करसहित रु एक अर्ब ६८ करोड ७६ लाख २३ हजार तीन सय ५४ मा ठेक्का सम्झौता भएको हो ।

विभागले ठेक्का सम्झौता गरेर यसको हेरचाह गर्ने जिम्मा डिभिजन सडक कार्यालय चितवनलाई दिएको छ । उता नारायणीमा काम चलिरहेको बेला रुपन्देहीको तिनाउमा टेन्डर प्रक्रिया अघि बढेको विभागले जनाएको छ ।

बुटवलको तिनाउ नदीमा अत्याधुनिक ‘सिग्नेचर ब्रिज’ निर्माणका लागि सडक विभागको वैदेशिक सहायता महाशाखाले टेन्डर आह्वान गर्दै योजनालाई अगाडि बढाएको जनाएको छ । 

अहिलेको पुललाई यथावत् राखेर उत्तर र दक्षिणतिर २–२ लेनका गरी थप दुई नयाँ पुल बन्नेछन् । २६६ मिटर लामो पुल निर्माणमा करिब २ अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सिग्नेचर पुल हेर्दै आकर्षक र कलात्मक हुने भएकाले अन्य परम्परागत पुलभन्दा फरक खालको संरचना हुनेछ ।

उक्त महाशाखाका सिनियर इन्जिनियर सुरेश पौडेलले रातोपाटीलाई बताए । उनले भने, ‘टेन्डर आह्वान गरेको करिब एक हप्ता भएको छ । अब त्यसमा स्वदेशी तथा विदेशी को–को आउँछन्, तीमध्ये छनोट गरेर थप प्रक्रिया अगाडि बढाउने छौँ ।’

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हालको तिनाउ पुल जीर्ण हुँदै गएको र बुटवल क्षेत्रमा सवारी चाप अत्यधिक बढेपछि नयाँ पुल निर्माण आवश्यक देखिएकाले यो कार्य थालिएको हो । अहिले बुटवल–गोरुसिंगे सडक निर्माणको काम चलिरहेको छ । पुल पनि ठेक्का लगाएपछि सोही कार्यालयले हेर्ने उक्त महाशाखा प्रमुख पौडेलले बताए ।

कस्तो बन्नेछ पुल ?

पूर्व–पश्चिम राजमार्गमा पर्ने तिनाउमा अहिले एउटा पुल छ । अहिले जारी गरिएको सूचना अनुसार ठेक्काका लागि मापदण्ड पुगेका स्वदेशी र विदेशी निर्माण कम्पनीले भाग लिन पाउनेछन् ।

अहिलेको पुललाई यथावत् राखेर उत्तर र दक्षिणतिर २–२ लेनका गरी थप दुई नयाँ पुल बन्नेछन् । २६६ मिटर लामो पुल निर्माणमा करिब २ अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सिग्नेचर पुल हेर्दै आकर्षक र कलात्मक हुने भएकाले अन्य परम्परागत पुलभन्दा फरक खालको संरचना हुनेछ ।

इन्जिनियर पौडेलले उक्त पुल सडकभन्दा माथि बुटवल र तिनाउको सौन्दर्यीकरण गर्न कलात्मक ढंगबाट निर्माण गरिने बताए ।

तिनाउ पश्चिम–बुटवल–गोरुसिंगे सडक चार र छ लेनमा विस्तार भइरहेकाले भविष्यमा सवारी व्यवस्थापन सहज हुने र जीतगढी किल्ला क्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि मद्दत पुग्ने अपेक्षा गरिएको बुटवल–गोरुसिंगे सडक निर्माण परियोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले बताइन् ।

उनले सडक निर्माणको काम चलिरहेको र त्यससँगै पुलले पनि थप आकर्षक सवारी आवागमनका लागि सहज पुर्‍याउने स्पष्ट पारिन् ।

आयोजनाका निर्देशक सुरेश पौडेलका अनुसार विश्व बैंकको ऋण सहयोगमा बन्ने पुल आकर्षक र पर्यटनमैत्री हुने गरी डिजाइन गरिएको छ । उनले अहिले टेन्डर आह्वान गर्नका लागि के–के गर्ने भन्नेबारे खुलाउने र त्यसमा डिजाइन गर्नका लागि निर्माण व्यवसायीलाई ७ महिनाको समय अवधि दिने बताए ।

उनले अब करिब २ महिनामा ठेक्का लाग्ने, त्यसपछि ७ महिना डिजाइनको समय र त्यसपछि ३ वर्षमा काम सम्पन्न गर्ने सम्झौता हुने बताए ।

तिनाउ ब्रिज छेउमा जीतगढी किल्लासँगै पुलले महत्त्वपूर्ण पर्यटन सम्भावना बोकेको बुटवल नगरपालिकाका मेयर खेलराज पाण्डेयले बताए । उनले तिनाउ नदीसँगै जीतगढी किल्ला र केही माथि मणिमुकुन्द पार्क समेत रहेको अवस्थामा अब बन्ने सिग्नेचर ब्रिजबाट थप पर्यटक बुटवल तान्न सकिने बताए ।

p

हाल प्रयोगमा रहेको तिनाउ पुल २०३८ मा बनेको हो । पुरानो र साँघुरो भइसकेका कारण नेपाली तथा विदेशी इन्जिनियरहरूको संयोजनमा आधुनिक पुलको डिजाइन तयार गरिएको हो ।

विश्व बैंकको सहयोगमा निर्माण हुने पुलको आर्किटेक्ट डिजाइन भारतको अन्तर्राष्ट्रिय कम्पनी ‘टोटल सिनर्जी कन्सल्टिङ’ ले तयार पारेको छ भने स्ट्रक्चर डिजाइन स्विस सरकारको स्विस डेभलपमेन्ट को–अपरेसनले गरेको हो । 

इन्जिनियर पौडेलका अनुसार विश्वका धेरै सहरहरूमा नदीमाथि आधुनिक र आकर्षक पुलका रूपमा सिग्नेचर ब्रिज लोकप्रिय छन् ।

अहिले बुटवलदेखि गोरुसिंगेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिका लागि धमाधम काम चलिरहेको छ । त्यही ठाउँमा तिनाउ ब्रिजको पनि निर्माण हुनेछ । तत्कालीन राजा महेन्द्र शाहको पालामा बनेको यो सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो ।

t

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका लुम्बिनी प्रदेश संयोजक हुन् । 

लेखकबाट थप