बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शोभितको 'पीआर'लाई प्रिमियरमा कसले के भन्यो ?

बिहीबार, २५ मङ्सिर २०८२, १२ : १०
बिहीबार, २५ मङ्सिर २०८२

सारांश

  • शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म 'पर्मानेन्ट रेसिडेन्ट: पीआर' को प्रिमियर बुधबार सम्पन्न भयो।
  • फिल्म हेरेपछि कलाकारहरूले नव कलाकारको कामको प्रशंसा गरे, रेजिना उप्रेती केही दृश्यमा भावुक भइन्।
  • यो फिल्मले अस्ट्रेलियामा स्थायी बसोबासका लागि नेपाली विद्यार्थीको संघर्ष र वैदेशिक अध्ययनको सामाजिक पाटोलाई चित्रण गर्छ।

काठमाडौँ । शुक्रबार (मङ्सिर २६)बाट प्रदर्शनमा आउने फिल्म ‘पर्मानेन्ट रेसिडेन्ट : पीआर’ को बुधबार प्रिमियर गरिएको छ । क्यूएफएक्सको सामाखुसीस्थित सिटी स्क्वायर हलमा गरिएको  प्रिमियर पत्रकारदेखि निर्देशक दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, दीपक आचार्य काकु, रेखा थापा, सविन श्रेष्ठ, निर्मल शर्मा, सलिनमान बनियाँ, प्रभात पाल, कलाकर्मी तथा रंगपत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।

फिल्म हेरेपछि अभिनेत्री रेखा थापाले फिल्म  राम्रो बनेको र नव कलाकारहरूको काम मन परेको प्रतिक्रिया दिइन् । अभिनेता सलिनमान बनियाँले फिल्मका मुख्य कलाकारहरू नयाँ कलाकार भएता पनि पुरानो जस्तै लागेको बताए। 

‘डेब्यु मुभिका लागि उहाँहरूले एकदमै राम्रो गर्नुभएको छ,’ मिडियासँगको कुराकानीमा भने, ‘एकदमै राम्रो लाग्यो। मैले डेव्यु गर्दाको फिल्म भन्दा उहाँहरूको अझ राम्रो लाग्यो।’ 

यसै फिल्मका निर्देशक शोभित बस्नेतले आफ्नो फिल्मको कलाकारहरूको तारिफ हुँदा निकै खुसी भएको बताए। उनले मिडियासँगको कुराकानीमा भने, ‘यिनीहरू हल भित्र छिर्दा कसैले चिनेको थिएन । बाहिर निस्किदा हिरो हिरोइनसँग फोटो खिच्न तानातान गरेको देख्दा खुसी लागेको छ ।’

दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, दीपक आचार्य काकु,जयकिशन बस्नेत, सविन श्रेष्ठले फिल्म राम्रो बनेको भन्दै नव कलाकार सुरज र विनीता कार्कीलाई बधाई तथा शुभकामना दिए ।

रेजिना उप्रेतीले आफूलाई केहि दृश्यहरूले भावुक बनेको प्रतिक्रिया दिइन् । नेपालीहरु विदेशमा पुगेपछि कस्तो अवस्थामा पुगिदो रहेछ भन्ने कुराले आफूलाई छोएको भन्दै भावुक बनिन् ।  

नेपाली विद्यार्थीले अस्ट्रेलियाको स्थायी आवासीय पत्र (पीआर)प्राप्त गर्नको लागि गर्ने कतिको संघर्ष  गर्नुपर्छ र घरको रिणले कसरी सताउँछ भन्ने कुरालाई फिल्मको कथाले बोल्छ । निर्देशक शोभित बस्नेतले अस्ट्रेलिया र नेपाल सुटिङ गरेको यो फिल्मले वैदेशिक अध्ययनको सामाजिक पाटोलाई केलाउने छ ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा आरए सुरज पौडेल, विनीता कार्की, राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का,उत्तम के.सी.नेपाल, र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ । 

फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन् ।  बन्दे प्रसादको सम्पादन रहेको फिल्ममा गणेश बुढाथोकीको लेखन रहेको छ । सौरभ सायमी र सौरभ लामाले फिल्मको छायांकन गरेका छन् भने वितरण आर आर फिल्म्सले गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप