बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

जेनजीमा दलीय प्रभावको झल्को

ओलीको अभिव्यक्तिप्रति जेनजी अगुवाहरूको आक्रोश
बिहीबार, २५ मङ्सिर २०८२, २० : ००
बिहीबार, २५ मङ्सिर २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौतालाई कलाविहीन नाटकको संज्ञा दिए । बिहीबार सम्पादकहरूसँगको संवादमा ओलीले प्रणाली र व्यवस्थाबारे सम्झौता गर्ने अधिकार वर्तमान सरकारलाई नभएको जिकिर गरे । भदौ २३ र २४ गते जेनजी विद्रोहले सत्ताच्युत भएका ओलीले युवाहरूको आन्दोलनलाई स्विकारेका छैनन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको सरकारलाई पनि उनले ‘हाहुमा बनेको सरकार’ भएकाले चुनाव पनि गराउन नसक्ने टिप्पणी गरेका छन् ।

‘हिजो एउटा कलाविहीन नाटक भयो । त्यसमा धेरै भन्नुपर्छ र ? यो सरकारले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो ? गोबर टाँसेको सरकारले कलाविहीन नाटक गर्‍यो नि । त्यहीँ अस्वीकार भयो नि । त्यहीँ च्यातिदियो नि । त्यसकारण त्यो कलाविहीन भद्दा नाटक हो,’ उनले भने ।

जेनजी आन्दोलनको झण्डै तीन महिनामा बुधबार बेलुका प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकार र आन्दोलनरत जेनजी समूहबिच १० बुँदे सम्झौता भएको थियो । तर सीमित व्यक्तिको स्वार्थमा झारा टार्ने हिसाबले आएको भन्दै जेनजीकै एक समूहले सम्झौता पत्र च्यातेको थियो । प्रधानमन्त्री कार्कीकै अगाडि सम्झौता पत्र च्यातिएपछि केहीबेर होहल्ला र धकेलाधकेल भएको थियो ।

प्रधानमन्त्री कार्कीले सम्झौतालाई भविष्यका आन्दोलन र राजनीतिक परिवर्तनलाई निर्देशित गर्न कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेकी थिइन् । साथै विश्वमै नेपाल जेनजी आन्दोलनको अग्रज मुलुक भएको बताइन् । 

‘जेनजी आन्दोलनको नेपाल अग्रज देश हो । जहाँ जहाँ जेनजी आन्दोलन भएको छ, त्यहाँ त्यहाँ नेपालको झण्डा देखाएर त्यसलाई मान्यता दिएको देखियो । अहिले जुन सम्झौता भएको छ, यसले भोलिको परिवर्तनलाई निर्देश गर्छ । संविधान बनाउन पनि यसले निर्देश गर्छ’, उनले भनेकी थिइन् ।

सम्झौता पत्र च्यात्ने व्यक्ति सुदूरपश्चिम प्रदेश कैलालीका विजय सोडारी रहेको पाइएको छ । सम्झौता पत्रले जेनजीको भावना प्रतिनिधित्व नगर्ने भएकाले अस्वीकार गरेका थिए । तर जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले सरकार र जेनजीबिच भएको सम्झौता कार्यक्रममा घुसपैठ भएको जिकिर गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले सम्झौता पत्र च्यात्ने व्यक्ति जेनजी आन्दोलनका बेला नेपालमै नभएको दाबी गरे ।

‘जेनजी आन्दोलनमाथि घुसपैठ यसैलाई भनिन्छ । हिजो जेनजीको पक्षमा सम्झौता नभएको भन्दै सम्झौता पत्र च्यात्ने अजय सोडारी आन्दोलनका बेला कोरियामा थिए,’ उनले भनेका छन् ।

सोडारी जेनजी आन्दोलन भएको ४० दिनपछि कोरियाबाट डिपोर्ट भएको आरोप लगाएका छन् । गुरुङले ‘घुसपैठ’ भएको आरोप लगाउनु र पूर्वप्रधानमन्त्री ओलीले सम्झौता पत्रलाई च्यातेर अस्वीकार गरेको अभिव्यक्ति दिनुलाई युवाहरूको आन्दोलनलाई कमजोर बनाउन राजनीतिकरण गर्न खोजिएको प्रष्ट देखिन्छ ।

सामाजिक अभियन्ता तथा जेनजी अगुवा मुस्कान खातुनले सम्पूर्ण जेनजीको एउटै उद्देश्य देश विकास गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र विभिन्न प्रकारको हिंसा अन्त्य होस् भनेर रहेको बताइन् । तर अहिले जेनजी समूह नै विभाजित हुँदा आन्दोलन कमजोर हुने भएकाले एकजुट हुन आग्रह गरेकी छन् । 

‘वास्तवमा समाजमा कसले बढी दायित्व गर्नुभएको हुनुहुन्छ । इतिहास पढेर, बुझेर पार्टीमा लागेका सम्पूर्ण जेनजी एउटै पार्टी या एउटै ठाउँमा एकताबद्ध भएर गएमा राम्रो हुन्छ । अहिले विभिन्न ठाउँ या पार्टीमा जेनजी हुनुहुन्छ । सम्पूर्ण जेनजीले यो बुझ्न जरुरी छ कि हामी एकता हुन जरुरी छ’, उनले भनिन् ।

जेनजी आन्दोलनले वर्षौंसम्म कुनै एक दल वा व्यक्ति विशेषको कब्जामा रहेको राज्य संयन्त्रलाई भत्काएको थियो । आन्दोलनले २७ घण्टामै दुईतिहाइ नजिकको सरकार मात्र ढालेन, राज्यका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई नै निकम्बा सावित पारिदियो । तर आन्दोलनपछि जेनजी समूहभित्रै अन्तरद्वन्द्व बढ्दै जाँदा या असंगठित भएर अगाडि बढ्दै जाँदा फेरि पुरानै दलहरूको दबदबा रहने हो कि भन्ने चिन्ता बढेको छ । 

जेनजी आन्दोलनले सबै राजनीतिक दलमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको आवाज बलियो बन्दै गएको छ । यद्यपि वर्षौंसम्म जाम भएर बसेको संगठनमा रुपान्तरणको बहस निकै पेचिलो बन्दै गएको छ । भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्ध शान्तिपूर्ण आन्दोलनका लागि जेनजी अगुवा पुरुषोत्तम यादव लगायत सीमित व्यक्तिले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुमति लिएका थिए । आन्दोलनपछि हामी नेपालका अगुवा सुदन गुरुङले हरेक गतिविधिमा हस्तक्षेप गर्दै गए । अहिले जेनजी समूह मात्रै २५–३० समूह पुगेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेस केन्द्रित दल लगायत नयाँ तथा पुराना दलले जेनजी पुस्तालाई सक्रिय बनाएका छन् । 

माओवादी केन्द्रले बनाएको जेनजी रेड फोर्सकी संयोजक स्मृति तिमिल्सिना

आ–आफ्ना अयोग्यतालाई ढाकछोप गर्न हरेक दलले जेनजी पुस्तालाई फेरि दुरुपयोग गर्ने हो कि भन्ने विश्लेषण भइरहेको छ । डा. बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीले जेनजी अगुवा ओजस्वी भट्टराईलाई नेतृत्व तहमा ल्याएको छ । नेपाली कम्युनिस्ट पार्टीले चर्चित सामाजिक अभियन्ता तथा जेनजी अगुवा मुस्कान खातुनलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ । अखिल क्रान्तिकारीले मंसिर २४ देखि पुस ५ गतेसम्म जेनजी महोत्सव आयोजना गरेको छ । सबै पार्टीभित्र अहिले जेनजी युवाहरू भित्र्याउने अभियान नै चलेको छ । यसले कतै जेनजी आन्दोलन दलीय छायामा पर्छ कि भन्ने चिन्ता व्यक्त हुन थालेको छ । तर समाजमा यस्ता खालका अन्तरद्वन्द्व हुनु स्वाभाविक भएको प्रलोपा अध्यक्ष परिषद्की अध्यक्ष ओजस्वी भट्टराई बताउँछिन् । 

‘विभिन्न खालका टिकाटिप्पणी भइरहन्छन् । त्यसलाई चिर्दै जाने हो । दलको छत्र छायामा पर्छन् भन्नु युवाको क्षमतामाथि प्रश्न उठाउनु हो,’ उनी भन्छिन्, ‘योग्य नै छैनन्, आफ्ना विचार राख्न सक्दैनन् भन्ने कुरा गर्छन् भने आफूले योग्यता देखाउने हो । पुराना दलले जेनजी पुस्ताको कुरा सुन्ने, रुपान्तरण हुने, युवालाई अगाडि बढाउने विषयलाई मैले सकारात्मक रुपमा हेरेको छु ।‘

जेनजी आन्दोलन कुनै दल र व्यक्ति विशेष नभई पुस्तान्तरण र युवाको अर्थपूर्ण सहभागिता भएन भन्नेमा रहेको भट्टराई बताउँछिन् । ‘त्यसमा उनीहरु (राजनीतिक दल) ले आफैं जागरुक भएर प्लेटफर्म बनाउनुलाई सकारात्मक रुपमा लिनुपर्छ,’ उनी भन्छिन् । 

सबै राजनीतिक दलले केन्द्रीय कार्य समितिमा कम्तीमा एकतिहाइ युवा पुस्ता ल्याउनुपर्नेमा उनको जोड छ । ‘सम्झौताको बुँदा बुँदा पढेर यो बुँदामा सहमत छैन भन्ने कुरा हामीले खोज्नुपर्छ । तर सम्झौताको वैधानिकतामाथि नै प्रश्न गर्ने हो भने त्यस दिन म भागेकै होइन भन्नुपर्‍यो । सम्झौताको यो बुँदा मान्दिन भन्न सकिन्छ तर सम्झौता नै मान्दिन यो नाटक हो भन्नु जेनजी आन्दोलनको वास्तविकतालाई अस्वीकार गर्नु हो,’ उनी भन्छिन् । 

जेनजी मुभमेन्ट अलाइन्सकी अगुवा मनिका निरौला दलीय प्रभाव पर्ने सम्भावना भएपनि त्यसलाई चिरेर अगाडि बढ्नुपर्ने बताउँछिन् । भदौ २४ गतेको विध्वंश जनतामा देखिएका निराशाको संग्राम बिन्दु भएको उनको भनाइ छ ।

जनतामा देखिएको निराशा भदौ २४ गते संग्राम बिन्दु भएजस्तो लाग्छ । लामो समय अन्याय भोगेको जनताले त्यति क्रूर दमन भोग्दा प्रतिकारको प्रस्फुटन थियो । त्यो एक क्षणले आन्दोलनलाई दिगो गर्न सक्दैन, संघर्ष निरन्तर जारी राख्नुपर्छ’, उनी भन्छिन्, ‘जेनजी आन्दोलनमा पनि दलीय प्रभाव पार्ने सम्भावना हुन्छ । नवयुवा आफैं नै सतर्क भएर अगाडि बढ्नुपर्छ । देशमा न राजनीतिक संस्कार परिवर्तन भएको छ न देशमा जगडिएर बसेको भ्रष्टाचार तीन महिनामा अन्त्य गर्न सम्भव छ । यस्ता चुनौती आउँदै गर्छन् । कि त राजनीतिमा आउँदिन भन्नुपर्‍यो आइसकेपछि हरेक चुनौती सामना गर्नुपर्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप