शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

अरुणाचल प्रदेशमा ट्रक दुर्घटनामा २१ मजदुरको मृत्यु

बिहीबार, २५ मङ्सिर २०८२, २० : ५०
बिहीबार, २५ मङ्सिर २०८२

काठमाडौँ । अरुणाचल प्रदेशको अन्जौ जिल्लास्थित छागलागाम नजिकै मजदुरहरू बोकेको एक ट्रक पहाडबाट गहिरो खाडलमा खस्दा २१ जनाको ज्यान गएको छ ।

अन्जौ प्रहरीले जनाएअनुसार यो घटना सोमबार राति ९ बजेतिर भएको थियो। तर, यस दुर्घटनामा बाँच्न सफल एक जना घाइते मजदुर कसैगरी सदरमुकाम सहर पुगेर प्रशासनलाई जानकारी दिएपछि मात्र घटनाबारे पत्ता लागेको थियो ।

यस दुर्घटनाको पुष्टि गर्दै अन्जौ जिल्लाका प्रहरी अधीक्षक अनुराग द्विवेदीले बीबीसीलाई भने, ‘२२ जना मजदुर लिएर असमबाट अरुणाचल प्रदेशतर्फ आइरहेको ट्रक छागलागामबाट करिब १० किलोमिटर अगाडि पहाडबाट गहिरो खाडलमा खसेको थियो ।’

उनले थपे, ‘यस दुर्घटनामा २१ जनाको मृत्यु भएको छ। यो घटना सोमबार रातिको हो। दुर्घटनामा जीवित बचेका एक मात्र मजदुरले प्रशासनलाई जानकारी दिएलगत्तै राहत टोली घटनास्थल पुगेको थियो ।’

प्रहरीका अनुसार हालसम्म १३ जना मजदुरको शव फेला परिसकेको छ भने बाँकी बेपत्ताहरूको खोजी कार्य जारी छ ।

यस दुर्घटनामा बाँचेका बुद्धेश्वर नाम गरेका घाइते मजदुरले स्थानीय सञ्चार माध्यमलाई राति गाडी चिप्लिएर सिधै गहिरो खाडलमा खसेको बताएका छन्। अँध्यारोका कारण को कहाँ खस्यो भन्ने पत्ता लाग्न सकेको थिएन ।

दुर्घटनामा ज्यान गुमाउने सबै मजदुर असमको तिनसुकिया जिल्लाका बासिन्दा थिए । यस दुर्घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दुःख व्यक्त गरेका छन् ।

पीएमओ इन्डियाले जारी गरेको वक्तव्यअनुसार प्रत्येक मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेहरूलाई पचास हजार रुपैयाँ सहायता राशि प्रदान गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप