आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक तीन सय बिरामीको उपचार गर्दै बुढानीलकण्ठको नगर अस्पताल
सारांश
- बूढानीलकण्ठको नगर अस्पतालले दैनिक ३०० बिरामीको उपचार गर्दै सेवा विस्तार गरेको छ।
- अस्पतालमा बर्थिङ सेन्टरको सुरुवातले मातृशिशु स्वास्थ्यमा सुधार ल्याउने विश्वास छ।
- अस्पतालको आम्दानी बढेसँगै थप सेवा विस्तार र कर्मचारी थप्ने योजना छ।
काठमाडौँ । बुढानीलकण्ठको नगर अस्पतालले आफ्नो सेवा विस्तार गरी दैनिक तीन सयसम्म बिरामीलाई उपचार गर्न थालेको छ । डेढ वर्षअघि तीन जनाको उपचारबाट सेवा सुरु गरेको यस अस्पतालमा अहिले सेवा विस्तार गरी बर्थिङ सेन्टरको पनि सुरुआत गरिएको छ ।
बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले बहिरङ्ग सेवाबाट तीन जनाको उपचार गरेर अस्पताल सञ्चालनको सुरुआत गरे पनि अहिले सेवा विस्तार गरिएको जानकारी दिए । “सुरुमा अस्पताल चलाउन सक्दैनन् कि भनेर शङ्का गर्नेहरू थिए । अहिले हाम्रो नगर अस्पतालले चौबिसै घण्टा आकस्मिकसहित बहिरङ्ग सेवाबाट समेत दैनिक तीन सय बिरामीलाई उपचार सेवा दिइरहेको छ”, अधिकारीले भने, “गत सोमबारदेखि बर्थिङ सेन्टरको समेत सुरुआत भएको छ ।”
अस्पताल २०८१ वैशाखदेखि सञ्चालनमा आएको हो । सङ्घ, प्रदेश र नगरपालिकाको आन्तरिक स्रोतबाट अस्पताल निर्माण गरिएको प्रमुख अधिकारीले जानकारी दिए । थप सेवा विस्तार गर्न मेडिकल सामग्री खरिद प्रक्रियामा रहेको पनि उनले जानकारी दिए ।
त्यसैगरी, नगरपालिकाका उपप्रमुख अनिता लामाले बर्थिङ सेन्टरको सुरुआतले मातृशिुशु स्वास्थ्यमा सुधार आउने विश्वास व्यक्त गरिन् । “हाम्रो नगरपालिका सहरी क्षेत्र भएको हुँदा घरमै बच्चा जन्माउने अवस्था त छैन तर नगर अस्पतालमा बर्थिङ सेन्टर थपिएपछि मातृ शिशु स्वास्थ्यमा थप सुधार पक्का हुनेछ”, लामाले भनिन्, “यो सामुदायिक स्वास्थ्य सेवाको क्षेत्रमा कोशेढुङ्गा हो । अस्पतालमा थप सेवा विस्तार गरिरहेका छौँ ।”
आम्दानी पनि बढ्यो
सेवा लिने नागरिकको सङ्ख्या बढेसँगै अस्पतालको आम्दानी समेत बढेको छ । गत आर्थिक वर्षमा अस्पतालले रु एक करोड १७ लाख आम्दानी गरेको थियो । नगरपालिकाका प्रशासकीय अधिकृत गोपाल पोखरेलका अनुसार चालु आर्थिक वर्षको रु पाँच महिनामै रु एक करोड ८० लाख आम्दानी गरिसकेको छ ।
“सेवासँगै आम्दानी बढ्दै जाँदा अस्पताल आर्थिक रूपमा सक्षम हुँदै गएको छ । तर सार्वजनिक स्वास्थ्य सेवामा नाफा घाटा मात्र हेरिँदैन । आवश्यकताअनुसार नगरपालिकाले भरपुर सहयोग गर्दै आएको छ”, पोखरेलले भने, “अहिले अस्पतालमा ७० जना कर्मचारी कार्यरत छन् । थप सेवाहरू विस्तार गर्ने, प्राविधिक जनशक्ति थप्ने र आवश्यक मेडिकल सामग्री खरिद गर्ने प्रक्रिया चलिरहेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण