जेनजीसँगको सहमति स्वागत गर्दै विश्वप्रकाशले भने, ‘दलहरूलाई स्वामित्व र अपनत्वमा गाँस्न सक्नुपर्दथ्यो’
सारांश
- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार र जेनजी समूहबीचको सहमतिलाई स्वागत गरेका छन्।
- उनले सहमति कार्यान्वयनमा गम्भीरता देखाउन र दलहरूलाई अपनत्वमा लिन सरकारलाई आग्रह गरे।
- निर्वाचनको मिति सार्नुपरे पनि सहमतिको मुख्य उद्देश्यलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार र जेनजी समूहबिच भएको सहमतिलाई स्वागत गर्दै यसको कार्यान्वयनमा गम्भीरता देखाउन सरकारलाई आग्रह गरेका छन्। उनले जेनजी आन्दोलनले स्थापित गरेको ‘सुशासनको सङ्कल्प र अठोट’ अब सबैको साझा जिम्मेवारी र कर्तव्य बन्नुपर्नेमा जोड दिएका हुन्।
शर्माले राजनीतिक दलहरूलाई लोकतन्त्रको मुख्य सारथि मान्दै सहमतिमा हस्ताक्षर गर्ने क्रममा सरकारले दलहरूलाई समेत अपनत्वमा गाँस्न नसकेकोमा भने असन्तुष्टि जनाएका छन्। उनले भविष्यका लागि सहमतिको भरपर्दो आधार बनाउन दलहरूको स्वामित्व आवश्यक रहेको बताएका छन्।
सहमति कार्यान्वयनको सन्दर्भमा महामन्त्री शर्माले फागुन २१ गतेको तोकिएको निर्वाचन मिति बाधक बन्न नहुने स्पष्ट पारेका छन्। यद्यपि, मुख्य प्रश्न समाधान र संविधान भएकाले जेनजी समूहहरूलाई अपनत्वमा जोड्न, विश्वसनीय चुनावी वातावरण बनाउन र हिमाली क्षेत्रलाई सहज बनाउनका लागि निर्वाचनलाई थोरै पर सारेर वैशाखमा पुर्याउनुपर्ने अवस्था आए त्यसलाई स्वाभाविक रूपमा स्वीकार गर्नुपर्ने उनको धारणा छ।
उनले सहमति र सहकार्यबाट आगामी यात्रालाई सहज बनाउनु सबैको साझा दायित्व भएको बताएका छन्।
यस्तो छ शर्माको भनाई :
सरकार र जेनजीबिचको सहमतिलाई स्वागत छ l
विभिन्न आन्दोलनको जगमा प्राप्त उपलब्धि संस्थागत गर्दै अघि बढ्ने सहमति महत्त्वपूर्ण छ l मूलत जेनजी प्रदर्शनले स्थापित गरेको `सुशासनको सङ्कल्प र अठोट´ आगामी दिनका लागि सबैको साझा जिम्मेवारी र साझा कर्तव्य बन्नुपर्दछ l
राजनैतिक दलहरू लोकतन्त्रको मुख्य र अविच्छिन्न सारथि हुन् भन्ने तथ्य हेक्का राखेर सरकारले सहमतिको हस्ताक्षर गरिरहँदा दलहरूलाई स्वामित्व र अपनत्वमा गाँस्न सक्नुपर्दथ्यो l त्यसो गरेर `भोलिकालागि भरपर्दो´ बनाउन सरकार नचुक्नु पर्थ्यो l अब दस्ताबेजको प्रारम्भिक कार्यान्वयन क्रममा सरकारले यसमा गम्भीरता राख्न जरुरी छ l कार्यान्वयनमा अत्यावश्यक समय लगाइरहँदा फागुन २१ को मिति बाधक बन्नुहुन्न l हामी सबै त्यो मितिप्रति प्रतिबद्ध छौँ l तर मूल प्रश्न समाधान र संविधान हो, अतः जेनजी समूहहरूलाई अपनत्वमा गाँस्न, विश्वसनीय चुनावी वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई समेत सहज बनाउन निर्वाचन थोरै पर वैशाखमा पुग्नुपरे त्यसलाई स्वाभाविक रूपमै स्वीकार गर्नुपर्ने हुन्छ l सहमति र सहकार्य मार्फत आगामी यात्रालाई सहज बनाउनु हामी सबैको साझा दायित्व हो l
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशबाट पदाधिकारी हटाउने विवाद सम्बन्धी मुद्दा : सर्वोच्च बार र नेपाल बारबाट ८ जना 'एमिकस क्युरी' पठाइयो
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण