बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कथा

छिमाडोल्माको कलेजी पछयौरी

शनिबार, २७ मङ्सिर २०८२, ११ : ३७
शनिबार, २७ मङ्सिर २०८२

सारांश

  • बाम्ती बजारमा हिउँ परेको र छिमाडोल्माको विदेश जाने निर्णयबारे कथा प्रस्तुत छ।
  • छिमाडोल्मा विदेशमा दुःख पाएर फर्किएपछि, आमा र छेवाङसँगको सम्बन्धबारे चर्चा गरिएको छ।
  • अन्त्यमा, छिमाडोल्माको उद्धार र समाजमा फर्किंदाका चुनौतीहरूलाई उजागर गरिएको छ।

हिजो हिउँ पर्छजस्तो थिएन तर राति तुसारो परेपछि आज बिहान बाम्ती बजार सेताम्मे हिउँले छोपेको छ । फुसफुस झरेको हिउँ र सिरेटोका कारण चिसो पानी छुन सके पो । पारी देखिएको पहाड पनि पूरै बादलले ढाकेपछि हिमाल जस्तै देखिन्छ । बजारमा नागबेलीझैँ घुमाउरो रूपमा छरिएका साना–साना बाटाहरू सुनसान छन् । भारत सरकारले बनाई दिएको स्कुल अलिक तल चौरमा एक्लै उभिएको छ । परबाट हेर्दा एक्लै उभिएको यो भवन कुनै हिमालझैँ देखिन्छ । 

एकै ठाउँ झुरुप्प उभिएर बनेको बाक्लो घर र यी सागुरा नागबेली बाटाहरू अनि बजार भन्दा माथिपट्टि देखिएको अर्को देउराली डाँडा ।  छिमाडोल्माले पारी हिमाल हेर्दै मनमा सोची अझै एक–दुई दिन नखुल्ने रहेछ मौसम । दक्षिणतिर डाँडाको गुम्बामा फरफराई रहेको लुमदारलाई एकफेर हेरेपछि उसले ठुलो सास फेरि । कतिखेर चौर पुगी थाहै भएन । चौरमा बाख्रा चराउँदै ढुङ्गामा थचक्क बसी र भुईँ हेर्दै बिस्तारै फुसफुसाई ‘यो गाउँ नछोडे मेरो जिन्दगी यही सकिन्छ ।’ 

हो, त्यही दिन छिमाडोल्माले पहिलो पटक विदेश जाने विचार गरी । 

कयौँपटक आमाको आँखाबाट बगेको आँशु देख्दा उसको मन त्यो पर देखिएको हिमाल जस्तै चिसिएको छ । आमाको जीवनमा दुःख र कहिले नसकिने संघर्ष देखेपछि छिमाडोल्माको दुःख सुरु भयो । उ सानै छँदा हो आप्पाले घर छोडेर हिँडेको । आमाको एक्लो पाखुरीले उ हुर्किई । काठमाडौँमा अर्कै बिहे गरेर बसेको आप्पा कहिलेकाहीँ घर आउँदा पाहुनाझैँ लाग्छ । सानोमा निद्राबाट ब्युँझिदा आप्पा नदेख्दा धेरैपल्ट ऊ डाँको छोडेर रोएकी छे । आप्पासँगै माथि देउराली गएर कल्फीमिस्री किनी माग्ने सपना । काठमाडौँ सहर घुम्ने रहर, सपना सबै–सबै देख्दादेख्दै बाल्यकाल कतिखेर फुत्किगयो पत्तै भएन । कहिलेकाहीँ मात्रै आप्पा किन आउँछन् ? रातभरि आमा र आप्पाको  झगडा किन हुन्छ ? उसको मस्तिष्कमा सधैँ यो खेलिरहने प्रश्न हो । 

अस्ति त हो उसले आमाको आँसु पुछिदिँदै भनेको, ‘आप्पाले जे गरेपनि म छु तिमो जीवनको सहारा’ त्यो दिन आमाको आँखामा छछल्किरहेको आँसु भित्रै हराएझैँ अनुभूति गरि र मनमनै पारी हिमालतिर हेर्दै सोची ‘म विदेश गएपछि दुःख सकिनेछ ।’ साँच्चै यो बादल माथि–माथि उड्दै जसरी बीचैमा हराउँछ । यी बादलले कतिपल्ट आमाको आँसु छुँदै गयो... यसको कुनै अभिलेख छैन । त्यो दिन राती अबेरसम्म आमाछोरी गनथन गरिरहे । भोलीपल्ट ब्युझिँदा छिमाडोल्माको मन दुखिरहेको थियो ।

निकै तल लम्पसार त्यही चौरलाई हेर्दै छिमाडोल्मा बोली ‘आमा म चरानमा गए है ।’ 

‘दिन खुला जस्तो छैन, छिटो आइज है’

उ बस्तु लिएर चउरतिर हिँडी । रातभरि झरीले चुटेर गोरेटो बाटो चिप्लो थियो । छिमाडोल्माले परैबाटदेखि छेवाङ आँगनमा उभिएर  उसैको बाटो हेरिरहेछ । हरेक दिन सोनम आफ्नै घरको आँगनमा छिमाडोल्माको बाटो हेरिरहन्छ । उसैको घर भएर जान्छ । सिरेटोसँगै चलेको बतासले छिमाडोल्माको कलेजी रङको पछ्यौरी झन्डै हावाले उडाएको...

‘यो बतास पनि यही बेला कस्सिएर चल्नु पर्ने छिमा तेरो पछ्यौरी झण्डैले उडाएको ।’ 

दुबै जना यही चउरमा लड्दै, झगडा गर्दै हुर्के । स्कुल एउटै, बस्तुको चरान एउटै । आउँदा जाँदा नजर जुधिरहन्छ । आज पनि उसलाई देखेपछि बढेको ढुकढुकी र हावाले उडाउनै लागेको पछ्यौरी समाल्दै भनी, ‘देखिनस् बस्तु चराउन जाँदैछु ।’ 

छेवाङलाई छिमा विदेश जाँदैछे भन्ने सुनेपछि साह्रै नमिठो लागिरहेको छ । पहिलोपटक उसले महसुस गर्‍यो छिमाडोल्मालाई आफै भन्दा ज्यादा माया गर्दोरहेछ । बल गरेर छेवाङ बोल्यो, ‘छिमा नजा हो विदेश’

‘नगएर तैँले पाल्छस् त मलाई ?’.

‘जिन्दगीभर पाल्छु पिर नगर तर तँ नजा विदेश । कति दुःख हुन्छ तँलाई थाहा छ ?’ 

छेवाङको कुरा त्यो दिन सुने नसुनेझैँ गरी र चउरतिर लागी । जीवनभर नजुर्ने माया सायद यस्तै हुन्छ । 

छेवाङको मायाले उसको बाटो छेक्न सकेन । छिमाडोल्मा कतार गएको गाउँभरि चर्चा चल्यो । जाने बेला उनीहरूको भेट भएन । छिमाडोल्माको सधै उज्यालो देखिने घर अचेल सुनसान छ । मामबुढीको अनुहार मौन छ । भएको एउटा छोरी विदेश लागेपछि उसको जाँगर सबै ओइलाई गएको छ । दिन र रात कसरी बित्छ उसलाई पत्तै छैन । 

‘के गर्दैछौ माम ?’ 

पल्लो घरको सुनुवारनी माइली पिर्कामा बस्दै बोली । 

‘ठिकै छ छिमाको झझल्को लाग्छ, हातखुट्टा गलेझैँ हुन्छ ।’

कहिल्यै कतै नगएको छोरी यसरी एक्कासि बिदेसिँदा मामको मुटु कति दुःखेको छ त्यो उसैलाई थाहा छ । कि त त्यो पहाड, हिमाल र यहाँका बुट्यानहरूलाई थाहा छ ।

‘छोरीको केही खबर आयो ?’

छोरीले छोडी राखेको पछ्यौरी टाउकोमा एकफेर मिलाएपछि मामले भनी । ‘अहिलेसम्म खबर आएको छैन !’ यति बोलेर माम मौन बसी । उसको आँखा उदास थियो, उसले मुटुभित्रै लुकाएको दुःख जस्तै दुवै केही बोलेनन् मौन भए । आखिरीमा मान्छेको जुनी दुःखकै पहाड रहेछ । 

‘घरको लोग्ने मान्छेको भर थियो भने यो दिन आउने थिएन ।’, माम फुसफुसाइन् ।

हुन पनि आफै मर्ने बेला छोरी बिदेसिँदा पर्नु पिर परेको थियो मामलाई । कसलाई सुनाउने पिरको कथा भित्रै पाकेर थङथिलो भएको छ ।  

‘छोरी कमाउन गएको हो मर्न गएको होइन पिर नगर आउँछ एकदिन ।’ सुनुवारनी माइलीले मामलाई हेर्दै भनी । 

‘दुःखले नै विदेश पुर्‍यायो मेरो छोरीलाई ।’ आँखाबाट झरेको आँसु दुई हातले पुछेपछि उत्तरतर्फ हेरी । निक्खर सेतो बादल छिटो–छिटो हिँडिरहेको थियो भिरालो डाँडामा, उभिरहेको रुखहरूलाई छिचोल्दै । 

‘सुर्ता नगर आउँछ, तिम्रो छोरी आँटिलो छ ।’  

जीवन यहीँ बिताएको मामलाई हिमाल यति निष्ठुर कहिल्यै लागेको थिएन । निकैबेर त्यो हिमाल हेरेपछि बिस्तारै बोली । ‘छिमेकीले नै मिलाएको भिसा हो तर पिर लाग्छ किन–किन मनमा चिसो पस्छ ।’ 

‘काठमाडौँको म्यानपावर हो भन्छन्, म अनपढ छु कालो अक्षर भैँसी बराबर ।’ यति भनिसकेर शिरको पछ्यौरीलाई फेरि एकपल्ट मिलाई । मामको माथिको अघिल्लो दाँत फुस्केको उहिल्यै हो । ग्याल्बोले पिटेपछि पहिला हल्लियो पछि आफै झर्‍यो । त्यो दिन उसले पनि लोग्नेलाई कोदालोको बिडले कस्सेर हिर्काइ । त्यो घटनापछि लोग्ने कहिल्यै फर्किएर आएन । 

मामको जाँगर र हिम्मत दुवैको चर्चा कति हो कति । छोरीकै भरले कत्रो बल थपिएको थियो उसको जीवनमा । बाच्ने सहारा त्यही छोरी थिई । नत्र कहिले साथ छोड्दिन भन्ने लोग्ने किन पर भयो ? के उसलाई त्यो छोरीको मायाले तानेन ? चाडपर्वमा कहिले परिवारको मायाले तानेन ? मायाले नताने पनि कर्तव्यले तान्नुपर्ने थियो । लोकलाजले तान्नुपर्ने थियो । र त मामको मन पत्थर भैसकेको छ । कयौँ रात, वर्ष उसले कसरी बिताई उसैलाई थाहा होला तर पाखुरामा बल भइन्जेल गरेर खाने त्यो आँट अब बिस्तारै कमजोर भएको छ । तर यो पल्ट उसको हृदयमा आधी चलेको छ । महिनौँ बित्यो छोरीको खबर छैन । छोरी सुखमा छ कि दुःखमा छ केही थाहा छैन । कसरी बसेकी होली ? कस्तो अवस्थामा होली ? खान पाएकी छे कि छैन ? पिरले दिनदिनै शिथिल भएकी छे ।  

दुई वर्षपछि अचानक एक दिन खबर आयो छिमाडोल्मा काठमाडौँको वैदेशिक रोजगारीमा कामको सिलसिलामा जाँदा जोखिममा परेका महिलाहरूलाई उद्धार गर्ने सेल्टरमा छ भन्ने । यो खबरले बाम्ती बजार मंसिरको चिसो मौसममा पनि अचानक तात्यो । 

एयरपोर्टमा झर्दा चोटैचोटले भरिएको आँखा र करङ देखिएको शरीर मात्र थियो छिमाडोल्माको । सपना त थियो आमालाई सुख दिने । बाध्यताले मान्छेलाई के मात्र बनाउँदैन । पातलो कतारी कालो सलले सकी नसकी अनुहार छोप्ने कोसिस गरिरहेकी थिई । सेल्टर पुगेपछि शरीरको चोटहरू निक्कै बिसेक भएको छ । हतारिँदै सेल्टर पुगेकी मामले रुँदै छोरीको शरीरलाई अँगालो हालेर सुमसुम्याएको त्यो पल दुनियाँ रुवाउने थियो ।

सेल्टरमा कसैको आसुँ थामिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्दा लग–लग काँपिरहेको शरीर अझै राम्रोसँग ठिक भएको थिएन । ‘मेरो छोरी कसरी यस्तो भइस् ?’ मामले सुमसुम्याउँदै अँगाल्दा उसले आमालाई इशाराले मनले नरुनु भनी तर मुखले केही बोल्न सकिन । मामको आँसु थामिएन हजार हन्डर खाएर हुर्काएको छोरीको यो अवस्था देख्दा मन थाम्नै सकिन मामले । तर छिमाडोल्माको आशु झरेन शून्य आँखाले आमालाई हेरिरही । सेल्टरका अरू महिलाहरू रुँदै थिए । नरुनेहरू सबै मौन थिए । 

कामको खोजीमा वैदेशिक रोजगारीमा गएका महिलाहरू, जो जोखिममा पर्छन् उनीहरूलाई उद्धार गर्ने उद्देश्यका साथ खोलिएको यो संस्थामा जोखिमबाट बाच्न सफल भएर फर्किएका सयौँ महिलाहरू छन् । विभिन्न किसिमको मानसिक र शारीरिक जोखिमलाई सामना गरेर फर्किएका, समाज र परिवारबाट परित्यक्त यी महिलाहरूको भाव शून्य अनुहार हेर्दा जो कोही स्तब्ध हुन्छ । किन मान्छे यति क्रूर हुन्छ ? मान्छे, मान्छेबाटै डराएर बाँच्नुपर्ने यो समाज किन यति क्रूर भएको हो ? अन्तिम अवस्थामा पनि आखिर मान्छे बाँच्न चाहन्छ भन्ने दृश्य देख्न पनि यहाँ एकपल्ट आउनुपर्छ । 

कसरी मानिसहरू आफ्नो दुःखलाई बिर्सिएर हाँस्ने कोसिस गरिरहेछन् । धेरै बेरपछि छिमाको आँखाबाट बिस्तारै आँसु झर्‍यो । सेल्टरमा अजिब दृश्यहरु देखिए । कोही भित्ता हेरेर चिच्याउँदै रुने । कोही त्यसै चुपचाप बसिरहेका । कोही डाको छोडेर रुँदै कराउँदै गरेका । कोही लोग्ने मान्छे देख्यो कि थरथरी काम्ने । यी सबैको बिचमा छिमाडोल्मा चुपचाप भावशुन्य कुर्सीमा बसिरहेकी थिई । 

कति सपना सजाएकी थिई तर आज जीवनमा कहिल्यै कल्पना नगरेको परिस्थितिमा उभिएकी छे । आफ्नै अगाडी आमा, बलिन्द्र आँसुसहित उभिएको देख्दा उसलाई किन विदेश गएँ भन्ने प्रश्न र छेवाङको सम्झना एकैसाथ आयो । तर समयको घाउबाट उ पक्कै अघि बढ्नेछे । भैरहवाबाट बस हुँदै तीन दिनमा दिल्ली पुगेपछि पहाडगञ्जको होटेलमा महिना दिन बसेर कतार पुगेकी उ मालिकको मानसिक र शारीरिक यातनाका कारण यो अवस्थामा पुगेकी थिई ।

विजय दिदी बोलिन् । ‘छेवाङको नाम लिन्छ को हो ?’ 

‘घरछेउको छिमेकी हो’, यति भनेर माम रुन थालिन् । सेल्टरमा सबैको आँसु थामिएन । किन मान्छेले भोग्नु पर्ने सन्जोगहरू यति भयानक भइदिन्छ कसै कसैको जीवनमा ? कोही–केही बोलेनन्, गहिरो स्तब्धताले झनै शून्य भयो । मनमा चलेको विरह उसको आँखा हेरेर बुझ्न सकिन्छ । गाली, अपमान र शारीरिक यातना झेल्नु परेको यो ६ महिनाको घटनाक्रमले छिमाडोल्माको जीवनलाई कहाँदेखि कहाँ पुर्‍यायो ? 

उसँगै गएका कुमारी उप्रेती, राधा बस्नेत कहाँ छन्, जो पहाडगञ्जको त्यो होटलमा महिना दिन बसेर छुट्टिएका थिए । आँखा र ओठभरी काँटीले घोचेको गहिरो घाउ र दागले उ यति कमजोर भएकी छे कि अरूको सहारा बिना उसलाई उभिन गाह्रो हुन्छ । के यी सबै दुःखसँगै एक दिन छिमा संसारबाट गुमनाम मर्नेछे । के उसले न्याय पाउँछे ? के छेवाङले उसैगरि मन पराउला ? छिमाडोल्मासँग मेरो भेट रिपोर्टिङका क्रममा भएको हो । के फेरि पनि उसलाई यो समाजका मानिसहरूप्रति पहिलाझैँ विश्वास होला त ? 

म एक पत्रकार, वैदेशिक रोजगारीका कारण जोखिममा परेको महिलामाथि फिचर लेख्ने सिलसिलामा छिमाडोल्मासँग मेरो भेट भएको थियो । यातनाले थरथर कामेको शरीर केही महिनापछि ठिक होला । तर के अब ऊ यी सबै परिस्थितिहरूबाट माथि उठ्न सक्छे ? मेरो दिमाग रन्थनाइ रह्यो । थरथर कापेको हातले ओढिरहेको पछ्यौरी बिस्तारै समेटेर ओढ्दा मैले फेरि एकपल्ट उनलाई नियालेर हेरेँ उसको शिरमा कलेजी रङको सल थियो, ठ्याक्कै उस्तै रङ्गको जो मामले ओडीरहेकी थिई । जुन पछ्याउरी उसलाई छेवाङले दिएको थियो । 

मलाई छिमाडोल्मा केही महिना अथवा वर्षपछि मर्दैछे भन्ने भयले पिरोली रर्‍यो किनभने उसको अवस्था यति दयननीय थियो कि मेरो मस्तिष्कमा कयौँ प्रश्नहरू अत्यासलाग्दो गरी सल्बलाइरहेको छ । गेटमा ट्रयाक्सी आइसकेको थियो । सेल्टरको प्रमुख अनुराधा दिदीले भने पछि हो म पनि उसलाई घरसम्म पुर्‍याउन बाम्ती बजार आएको । 

सायद यो उदासीनताले अब कहिले छोड्ने छैन मलाई । कस्तो डरलाग्दो सन्जोग ? जीवन कति सस्तो छ हगी आफैले आफैलाई मनमनै भनेँ । म बाँचेको समयको उदाङ्गो तस्बिर थिई ऊ । संस्कार, धर्म, नेतृत्व र व्यवस्थाले निरीह हुन बाध्य एक जुझारु युवती, जसका हजार सपनाहरूको हत्या गरिएको थियो । 

उसले भुईँ छुन लागेको पछ्यौरीलाई आफूतिर तान्दै आमालाई पुलुक्क हेरी । हिजोअस्ती भावशुन्य देखिने ती आँखा आज केही खुसी देखिन्थ्यो । म खुसी छु उनी आफ्नो घर फर्कँदैछिन् । तर के त्यो देउरालीले उसैगरी छिमालाई पर्खिरहेको छ त ? यो समाजले उसैगर स्वीकार गर्ला त ? के छेवाङ्गले उसैगरी माया गर्ला ? जवाफ म सँग पनि थिएन । 

यो कथा भनौँ वा घटनाक्रमसँग म सन्जोगले गाँसिन पुगे । राती दश बजे हामी छिमाको घर पुग्यौ । भोलीपल्ट झिसमिसेमा अनुराधा दिदी र म माथि देउरालीको उकालोमा काठमाडौँ आउन हिँडिरहेका थियौँ एउटा अनौठो मनोदशाका साथ । आकाशमा जुन छर्लङ्गै थियो । चिसो बतास चलिरहेको थियो । सुमोले रहन बजाएर आफ्ना प्यासेन्जरलाई छिटो–छिटो आउनु भनिरहेको थियो ।  

एकछिन उभिएर माथि हेरे थोदुङगुम्बालाई । कुनै रहस्य जस्तै मानेपेमे फरफराई रहेको थियो, जुनको उज्यालोमा । छिमाडोल्मा तिम्रो कथा तिम्रो जीवन अनि तिम्रो पछ्यौरीलाई सायद म कहिले बिर्सने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विमला तुम्खेवा
विमला तुम्खेवा
लेखकबाट थप