ज्योति विकास बैंकका कर्मचारीमाथि भएको घटनामा राष्ट्र बैंकले पनि खोल्यो मुख
काठमाडौँ । ज्योति विकास बैंकको सप्तरीस्थित रुपनी शाखाका कर्मचारीमाथि भएको हातपात र दुर्व्यवहारको घटनाको विषयमा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले मुख खोलेको छ । राष्ट्र बैंकले मंगलबार विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हुने गैरजिम्मेवार क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पछिल्लो समय बैंकका कर्मचारीमाथि भौतिक आक्रमण र धम्कीका घटना बढ्न थालेपछि केन्द्रीय बैंकले कडा शब्दमा चेतावनी दिँदै त्यस्ता गतिविधिमा संलग्नलाई कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेको छ ।
राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा बैंकिङ प्रणालीको यथार्थ बुझिदिन सर्वसाधारणलाई आग्रह गरिएको छ । बैंकले प्रवाह गर्ने कर्जा भनेको सर्वसाधारणले जम्मा गरेको निक्षेप (बचत) रकम नै भएको र उक्त रकम सुरक्षित फिर्ता गर्न ऋणीले लिएको कर्जा नियमित रूपमा तिर्नुपर्ने दायित्व रहेको राष्ट्र बैंकले स्मरण गराएको छ ।
‘बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप सङ्कलन गरी कर्जा प्रवाह गर्ने भएकाले कर्जा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न नसक्ने, तरलतामा प्रभाव पर्ने हुँदा ऋणीले लिएको कर्जा भुक्तानी नियमित रूपमा गर्नुपर्ने हुन्छ,’ राष्ट्र बैंकले भनेको छ ।
कुनै ऋणीलाई प्रतिकूल परिस्थितिका कारण ऋण तिर्न असहज भएको खण्डमा राष्ट्र बैंकले समय-समयमा पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधा दिँदै आएको पनि जनाएको छ । साथै, बैंकिङ कारोबारमा कुनै गुनासो भए सम्बन्धित संस्था वा राष्ट्र बैंककै गुनासो सुनुवाइ इकाईमा सम्पर्क गर्न सकिने व्यवस्था हुँदाहुँदै कर्मचारीमाथि आक्रमण गर्नु गलत भएको बैंकको ठहर छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरू विरुद्ध हुने गैरव्यावसायिक र उच्छृङ्खल गतिविधिले वित्तीय सेवा नै प्रभावित हुन सक्ने चिन्ता व्यक्त समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण