शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसबाट प्रत्यक्षतर्फ जित्ने एक मात्रै महिला छाडेर गगन थापा सिफारिस

बुधबार, ०२ पुस २०८२, १५ : ५६
बुधबार, ०२ पुस २०८२

सारांश

  • तेह्रथुम कांग्रेसले गगन थापालाई प्रतिनिधिसभा सदस्यका लागि एकल नाम सिफारिस गरेपछि विवाद सुरु भएको छ।
  • २०७९ को निर्वाचनमा विजयी सीता गुरुङलाई जिल्ला कार्यसमितिले उम्मेदवार सिफारिस गरेन, तर महामन्त्री थापाको नाम सिफारिस गर्यो।
  • गुरुङले आफू क्रियाशील सदस्यता व्यवस्थापनमा व्यस्त भएकोले उपस्थित हुन नसक्ने भन्दै सिफारिस गर्न अनुरोध गरेकी थिइन्।

काठमाडौं । नेपाली कांग्रेस तेह्रथुमले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ महामन्त्री गगन थापाको एकल नाम सिफारिस गरेपछि विवाद हुने देखिएको छ ।

२०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका ५७ जना उम्मेदवारले प्रत्यक्षतर्फ जित्दा एक मात्र महिला केन्द्रीय सदस्य सीता गुरुङले तेह्रथुमबाट जितेकी थिइन्, तर अहिले जिल्ला कार्यसमितिले उम्मेदवारका रूपमा उनको नाम सिफारिस गरेन । बरु काठमाडौँ क्षेत्र नम्बर ४ बाट चुनाव जितिरहेका महामन्त्री थापाको नाम सिफारिस गर्‍यो । 

उम्मेदवार सिफारिस गर्न राखिएको जिल्ला कार्यसमितिको बैठकमा क्रियाशील सदस्यता व्यवस्थापन समितिको सदस्य भएको र समितिको बैठक रहेकाले आफू उपस्थित हुन नसक्ने भन्दै प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सिफारिस गरिदिन गुरुङले लिखित पत्र पठाएकी थिइन् ।

Sita gurung

रातोपाटीलाई प्राप्त पत्रमा गुरुङले लेखेकी छन्, ‘नेपाली कांग्रेस जिल्ला कार्यसमितिले मिति २०८२–०८–२१ गतेका दिन प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्ष र समानुपातिक निर्वाचनका उम्मेदवार एवं राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नामावली सिफारिस गर्न आह्वान गरेको बैठकमा क्रियाशील सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा सदस्य ९ रहेको र १५औँ महाधिवेशन कार्यतालिका अनुसार तीव्र रूप‌मा गर्नुपर्ने गहन जिम्मेवारी भएकोले उक्त बैठकमा उपस्थित हुन नसकेको व्यहोरा जानकारी गराउँदै प्रतिनीधि सभा सदस्य निर्वाचनमा मेरो पनि प्रतिनीधि सभा सदस्य प्रत्यक्ष तर्फको उम्मेदवारमा नाम सिफारिस गरिदिन हुन हार्दिक अनुरोध गर्दछु।’ 

तर जिल्ला कार्यसमिति बैठकले महामन्त्री थापाको एकल नाम सिफारिस गर्‍यो । 'पार्टीको काम भएकाले आउन पाइनँ, उम्मेदवार सिफारिस गरिदिनु' भन्दै गुरुङले लिखित पत्र पठाउँदा पनि किन सिफारिस गरिदिनुभएन भन्ने रातोपाटीको प्रश्नमा कांग्रेस तेह्रथुमका सभापति अर्जुनबहादुर तुम्बाहाम्फेले भने, ‘त्यस्ता पत्र त कति आउँछन्, कति आउँछन् ।’ 

सभापति तुम्बाहाम्फेले गुरुङको नाम सिफारिस नहुनुमा कारण अर्कै रहेको बताए । अनुशासनका नाममा केन्द्रले गरेको निर्णयका कारण गुरुङको नाम सिफारिसमा नपरेको उनको भनाइ छ । तेह्रथुमका कांग्रेस नेता तुलसी सुब्बालाई अनुशासनको कारबाही गरिएको छ । गुरुङले जिल्लामा गल्ती नै नगरेका सिनिअर नेताहरूमाथि उजुरी गरेर कारबाही गराएकाले उनको नाम जिल्ला कार्यसमितिले सिफारिस नगरेको तुम्बाहाम्फेले प्रस्ट्याए । 

गरुङ भने जिल्ला कार्यसमितिको सिफारिसमा नपर्नुमा अनभिज्ञता प्रकट गर्छिन् । ‘महामन्त्री सिफारिस भएपछि म हुन्छु त ? भोलि प्रधानमन्त्री हुने मान्छे, पार्टीको सभापति हुने मान्छे । सहरका माननीय महामन्त्री थापाले गाउँका समस्या पनि बुझ्नुहुन्छ,' उनले व्यंग्यात्मक तरिकाले भनिन्, 'त्यहाँबाट निर्वाचित भएपछि भोलि नीति–कार्यक्रम ल्याउन पनि सहज होला भनेर सिफारिस गरिएको होला ।’

Taplejung Congress

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप