बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विद्यालयको जीर्ण भवनमा रहेको प्रहरी चौकी १४ वर्षपछि आफ्नै भवनमा

बुधबार, ०२ पुस २०८२, २२ : ४७
बुधबार, ०२ पुस २०८२

सारांश

  • वाप्लुखा प्रहरीचौकी १४ वर्षपछि आफ्नै भवनमा सरेको छ।
  • प्रहरीचौकी कोशी प्रदेश सरकारको २५ लाख बजेटमा बनेको हो।
  • नयाँ भवन बनेपछि सेवा प्रवाह सहज भएको प्रहरीको भनाइ छ।

खोटाङ ।  खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा निर्माण गरिएको प्रहरी चौकीको नयाँ भवन सञ्चालनमा ल्याइएको छ । चौध वर्षदेखि विद्यालयको जीर्ण भवनबाट काम गर्दै आएको वाप्लुखा प्रहरीचौकीका लागि कोशी प्रदेश सरकारको रु २५ लाख लागतमा निर्माण गरिएको चारकोठे ट्रस भवन सञ्चालनमा ल्याइएको हो ।

चालु आर्थिक वर्षमा पनि सोही प्रहरी चौकीलाई कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट पुनः रु २५ लाख बजेट विनियोजन भएको जनाइएको छ । विनियोजित बजेटले प्रहरी चौकीका लागि आवश्यक शौचालय र भान्छा घर निर्माण गर्ने तयारी गरिएको गाउँपालिकाका उपप्रमुख रुपेश राईले जानकारी दिए ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाको वाप्लुखा, लिकुवापोखरी र सावाकटरे क्षेत्रभित्र सुरक्षा प्रदान गर्ने गरी वाप्लुखाको कानढाकामा विसं २०५४ मा सामान्य भवन निर्माण गरेर प्रहरी चौकी स्थापना गरिएको थियो । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को सशस्त्र द्वन्द्वको समयमा विसं २०५७ चैतमा प्रहरी चौकी जलेर ध्वस्त भएपछि विसं २०६८ मा पुनः स्थापना गरिएको हो ।

वाप्लुखाको महाकन्य आधारभूत विद्यालयलाई पुरानो स्थानभन्दा केही तल विद्यार्थीको पायक पर्ने ठाउँमा सारेपछि विद्यालयको भवन खाली भएको थियो । विद्यार्थीका लागि अपायक पर्ने ठाउँमा रहेको भवन अभिभावकको छलफलअनुसार खाली भएपछि सृजनशील आमासमूहले उक्त विद्यालय भवनलाई प्रयोग गर्दै आएको थियो ।

द्वन्द्वकलामा विस्थापित भएको वाप्लुखा प्रहरी चौकी पुनःस्थापनापश्चात् आफ्नै भवन नभएपछि सोही विद्यालय भवनको दुई वटा कोठामा राखिएको स्थानीयवासी एवं नेपाली कम्युनिस्ट पार्टी खोटेहाङ गाउँपालिका अध्यक्ष दिपेन थुलुङले जानकारी दिए । साँघुरो र अँध्यारो कोठामा दिउँसो पनि बत्ती बाल्नुपर्ने अवस्था रहेको विद्यालय भवन विसं २०७२ को भूकम्पका कारण चर्किएर चिरा परेको छ ।

भूकम्पले जीर्ण बनेको विद्यालय भवन वर्षात्को समयमा छाना चुहिने समस्या रहेको प्रहरीले बताउँदै आएका थिए । एउटा कोठा चिरा परेर भासिएको छ । सोही भवनमा बसिरहेका प्रहरीले अब भने नयाँ भवन पाएका छन् ।

कोशी प्रदेश सरकारको लगानीमा प्रहरी चौकीको आफ्नै भवन निर्माण गरेर सञ्चालनमा आएपछि सेवा प्रवाहमा सहज भएको प्रहरीले जनाएको छ । चारकोठे ट्रस भवनमा कार्यालय, ब्यारेक र हिरासत सञ्चालन गरिएको छ ।

प्रहरी चौकीको नवनिर्मित ट्रस भवन कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले औपचारिक उद्घाटन गरे । भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले प्रदेश सरकारले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप