ग्रिन कार्ड अन्तर्वार्ताकै लागि जाँदा पक्राउ परेपछि...
सारांश
- ६० वर्षीया भारतीय मूलकी महिला बबलजीत कौरलाई ग्रिन कार्ड प्रक्रियाका लागि जाँदा अध्यागमनले नियन्त्रणमा लियो।
- कौर १९९४ देखि अमेरिकामा बस्दै आएकी थिइन् र उनको परिवारले ग्रिन कार्डका लागि स्पोन्सर गरेको थियो।
- अध्यागमन नीतिमा कडाइका कारण लामो समयदेखि अमेरिकामा बसोबास गर्नेहरू समेत प्रभावित भएका छन्।
काठमाडौँ । झन्डै तीन दशकदेखि अमेरिकामा बस्दै आएकी ६० वर्षीया भारतीय मूलकी महिला बबलजीत कौर ग्रिन कार्डसम्बन्धी बायोमेट्रिक प्रक्रियाका लागि इमिग्रेसन कार्यालय पुगेकै बेला नियन्त्रणमा परेकी छन् । स्पोन्सर ग्रिन कार्ड स्वीकृतिको प्रक्रिया अघि बढाउने क्रममा कार्यालय पुगेकी कौरलाई अमेरिकी अध्यागमन निकाय (आइसिई) ले नियन्त्रणमा लिएर हिरासत पठाएको हो ।
परिवारका सदस्यका अनुसार बबलजीत कौर सन् १९९४ देखि पति सहित अमेरिकाको लङ बिच क्षेत्रमा बस्दै आएकी थिइन् । उनकी छोरी र ज्वाइँले ग्रिन कार्डका लागि स्पोन्सर गरेका थिए । सोही प्रक्रिया पूरा गर्न इमिग्रेसन कार्यालय पुगेको केही समयमै अधिकारीहरूले उनलाई छुट्टै कोठामा लगेर नियन्त्रणमा लिएका थिए ।
कौरकी छोरी ज्योति कौरका अनुसार कार्यालयभित्र केही अधिकारी आएर आमालाई अलग्गै कोठामा लगेका थिए । आमालाई वकिललाई फोन गर्ने अनुमति दिइए पनि अन्ततः हिरासतमा राखियो । त्यसपछि घण्टौँसम्म परिवारले कुनै जानकारी पाउन सकेन । पछि मात्र उनलाई अडेलान्तोस्थित डिटेन्सन सेन्टरमा सारिएको थाहा भएको ज्योतिले बताइन् । अडेलान्तो पहिले संघीय जेलका रूपमा प्रयोग हुँदै आएको स्थान हो, जसलाई अहिले अध्यागमन कार्यालयको हिरासतको रूपमा प्रयोग गरिएको छ ।
ज्योतिका अनुसार आमा बबलजीत कौर पक्राउ पर्दा अत्यन्त भयभीत अवस्थामा थिइन् । हिरासतमा रहेका अन्य व्यक्तिसँगै हातखुट्टा बाँधेर गाडीमा राखी लगिएको जानकारी पाएपछि परिवार थप त्रसित बनेको बताइन्। उनले हिरासतको अवस्था अमानवीय रहेको दाबी गर्दै आमालाई रिहा गराउन सबै सम्भव प्रयास गरिरहेको बताइन् ।
बबलजीत कौर लङ बिचको बेल्मोन्ट शोर क्षेत्रमा ‘नटराज क्युजिन’ नामक रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी थिइन् । उनी वर्षौँदेखि भारतीय तथा नेपाली परिकारमार्फत स्थानीय समुदायमा परिचित व्यवसायीका रूपमा चिनिन्थिन् । उनका तीन सन्तानमध्ये एक छोरी र एक छोरा अमेरिकी नागरिक हुन् भने अर्की छोरी कानुनी हैसियतमा अमेरिका बसिरहेकी छन् ।
पछिल्लो समय अमेरिकामा अध्यागमन नीतिमा कडाइ बढेसँगै पुरानो भिसा सकिएका तर आपराधिक रेकर्ड नभएका व्यक्तिहरू समेत डिटेन्सनमा पर्ने घटना बढ्दै गएको कानुन व्यवसायीहरूको भनाइ छ । लामो समयदेखि अमेरिका बसोबास गर्दै आएका वृद्धवृद्धा समेत यसबाट प्रभावित हुन थालेका छन् ।
लङ बिच क्षेत्रका जनप्रतिनिधि रोबर्ट गार्सियाले घटनाप्रति चिन्ता व्यक्त गर्दै बबलजीत कौरलाई रिहा गराउन सक्दो पहल गर्ने बताएका छन् । उनले यस्तो डिटेन्सन प्रक्रिया डरलाग्दो र अमानवीय भएको टिप्पणी गरेका छन् ।
बबलजीत कौरको परिवारले मानवीय आधारमा रिहाइको माग गर्दै कानुनी तथा राजनीतिक तहमा सहयोग खोजिरहेको छ । छोरी ज्योतिले एक सञ्चारमाध्यमसँग कुरा गर्दै भनिन, ‘ग्रिन कार्ड प्रक्रियाका लागि आफैँ उपस्थित हुँदा पक्राउ पर्नु अन्यायपूर्ण मात्र होइन, आप्रवासी समुदायमा भय सिर्जना गर्ने कार्य हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण