सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमाले केन्द्रीय सदस्यमा मकवानपुरबाट ५ जना विजयी

बिहीबार, ०३ पुस २०८२, १६ : २७
बिहीबार, ०३ पुस २०८२

मकवानपुर । नेकपा एमाले मकवानपुरबाट केन्द्रीय सदस्यका लागि दाबी गर्दै चुनावमा होमिएका ५ जनाले जित निकालेका छन् । 

काठमाडौँमा सम्पन्न नेकपा एमाले ११ औँ महाधिवेशनको अन्तिम चुनावी मत परिणाममा केन्द्रीय सदस्यमा भारती पाठक, रामेश्वर राना, महेश बर्तौला, एकालाल श्रेष्ठ र नवीन सिग्देल विजयी भएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्यानलमा रहेका ५ जनालाई निर्वाचनमा जित निकालेका हुन् भने चुनावी प्रतिस्पर्धामा रहेका २ जना पराजित भएका छन् ।

मकवानपुरबाट केन्द्रीय सदस्य पदमा ७ जनाको उम्मेदवारी रहेकोमा कृष्ण दाहाल र देवकृष्ण विक पराजित भएका छन् । पराजित भएका दाहाल र विक ईश्वर पोखरेल प्यानलबाट उम्मेदवारी दिएका थिए । बागमती प्रदेशसभाकी सदस्यसमेत रहेकी पाठकले (महिला) क्लस्टरबाट केन्द्रीय सदस्य पदमा जित निकालेकी हुन् । उनले १ हजार ९१५ मत प्राप्त गरेकी छन् ।

पूर्व सांसद एवम् एमालेका मुख्य सचेतक महेश बर्तौलाले खुला क्लस्टरमा उम्मेदवारी दिएर जित निकालेका छन् । उनले १ हजार ५२९ मत प्राप्त गरेका छन् भने नेकपा एमाले मकवानपुरका इन्चार्ज रानाले बागमती प्रदेश भूगोल तर्फको खुल्ला क्लस्टरमा केन्द्रीय सदस्य पदमा जित निकालेका छन् । उनले १ हजार ४९८ मत प्राप्त गरेका छन् ।

त्यस्तै बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले एमाले केन्द्रीय सदस्यमा आदिवासी जनजाति खुल्ला क्लस्टरमा जित निकालेका छन् ।

उनले १ हजार ५०९ मत प्राप्त गरेका छन् भने हेटौँडा–४ का वडा अध्यक्ष समेत रहेका नवीन सिग्देलले केन्द्रीय लेखा आयोग सदस्यमा पदमा जित निकालेका छन् ।

उनले कुल १ हजार ६१४ मत ल्याएर विजयी भएका हुन् । लेखा आयोग सदस्यमा निर्वाचित भएका सिग्देल एमाले मकवानपुरका पूर्व सचिव समेत रहेका छन् ।

यसअघि चितवनमा भएको १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्विरोध चुनिएका रामेश्वर राना, भारती पाठक केन्द्रीय सदस्य रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप