मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आर्यन खानलाई करियरकै पहिलो अवार्ड

शनिबार, ०५ पुस २०८२, १४ : २७
शनिबार, ०५ पुस २०८२

सारांश

  • आर्यन खानले आफ्नो पहिलो वेब सिरिज 'द ब्याड्स अफ बलिउड' बाट 'बेस्ट डेब्यु डाइरेक्टर अफ द इयर' अवार्ड जिते।
  • आफ्नो पहिलो अवार्ड आमा गौरी खानलाई समर्पण गर्दै उनले आमाको प्रेरणाको कुरा गरे।
  • 'द ब्याड्स अफ बलिउड' एक व्यङ्ग्यात्मक सिरिज हो, जसलाई दर्शक र समीक्षक दुवैले प्रशंसा गरेका छन्।

मुम्बई । बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशकका रूपमा आफ्नो करियरको पहिलो अवार्ड हात पारेका छन्। 

शुक्रबार नयाँ दिल्लीमा आयोजित 'एनडीटीवी इन्डियन अफ द इयर' समारोहमा उनलाई आफ्नो डेब्यु वेब सिरिज 'द ब्याड्स अफ बलिउड' का लागि 'बेस्ट डेब्यु डाइरेक्टर अफ द इयर' बाट सम्मानित गरियो। यो विशेष घडीमा उनकी हजुरआमा सविता छिब्बर पनि साथमै थिइन्। 

अवार्ड ग्रहण गरेपछि आर्यनले दिएको मन्तव्यले यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ। आफ्नो पहिलो अवार्डका बारेमा बोल्दै आर्यनले ठट्टाको शैलीमा आफूलाई पनि बुबा शाहरुखलाई जस्तै अवार्डहरू निकै मनपर्ने र भविष्यमा अरू धेरै अवार्ड जित्ने आशा रहेको बताए। तर, यो पहिलो सम्मान उनले बुबालाई नभई आमा गौरी खानलाई समर्पण गरे। 

उनले आमालाई सम्झिँदै भने, ‘मेरी आमा मलाई सधैँ छिटो सुत्न, कसैको मजाक नउडाउन र गालीगलौज नगर्न सिकाउनुहुन्छ, आज यिनै कुराहरूका लागि मैले यो अवार्ड पाएको छु।’ उनले यो अवार्डले गर्दा अब घर जाँदा आमाबाट अलि कम गाली खाने विश्वास समेत व्यक्त गरे।

आर्यनले आफ्नो वेब सिरिजको कास्ट, क्रू र नेटफ्लिक्सलाई एक नयाँ निर्देशकमाथि भरोसा गरेकोमा धन्यवाद दिएका छन्। गत सेप्टेम्बर १८ मा रिलिज भएको 'द ब्याड्स अफ बलिउड' हिन्दी फिल्म उद्योगमाथि बनाइएको एक व्यङ्ग्यात्मक सिरिज हो, जसलाई दर्शक र समीक्षकले निकै रुचाएका छन्। 

शाहरुखका छोरा भएर पनि अभिनयभन्दा निर्देशन रोजेका आर्यनले आफ्नो पहिलो प्रयासबाटै सफलताको स्वाद चाखेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप