बिकेन कागती दाना, विकल्पमा रस र चुक बनाउँदै
सारांश
- स्याङ्जामा कागतीको दाना बिक्री नभएपछि किसानले रस र चुक बनाउन थाले।
- जाडोमा कागतीको माग घट्दा किसानहरूले उत्पादन जोगाउन यस्तो उपाय अपनाए।
- स्थानीय किसानहरूले उत्पादनलाई बजारीकरण गर्न सहकारीमार्फत काम गर्दैछन्।
स्याङ्जा। यहाँ उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक रूपमा उत्पादन भएको कागतीको दानाले बजार नपाएपछि विकल्पका रूपमा कागती पेलेर रस तथा चुक नै बिक्री गर्ने अवस्थामा किसानहरू पुगेका हुन् ।
जाडो मौसममा कागती दानाको माग कम हुँदा बजारमा खपत हुन नसकेकाले बिग्रिन नदिनका लागि चुक बनाएको वालिङ–१४ स्थित न्यौपाने नर्सरी कृषि तथा पशुपालन फार्मका सञ्चालक प्रकाश न्यौपानेले बताए । व्यावसायिक रूपमा कागतीखेती गरेका न्यौपानेले झन्डै छ क्विन्टल कागतीको दाना बिक्री गरे। जाडो लागेसँगै बिक्री नभएको चार क्विन्टल कागतीबाट रस तथा चुक बनाएका हुन् ।
“कागतीको दाना बोटबाट दैनिक झर्न थाले, यता बजारमा खपत भएन”, उनले भने, “दाना कुहाएर फाल्नुभन्दा विकल्पका रूपमा लामो समयसम्म रहने भएकाले चुक र केही समयसम्म रहने भएकाले रसको रूपमा परिणत गरी बिक्री गर्न थालेको छु ।”
कागतीको चुकको बजार माग राम्रो रहेकाले पनि वैकल्पिक विधि अपनाइएको हो । चुक प्रतिलिटर रु एक हजार ६०० का दरले बिक्री हुने गरेको छ । स्थानीय अगुवा किसान न्यौपानेले जस्तै यस ठाउँमा रहेका अन्य किसानले पनि उत्पादन गरेका कृषिजन्य वस्तुले बजार नपाएपछि वैकल्पिक विधि अपनाएका छन् ।
वालिङ–१४ र भिरकोट नगरपालिका–९ का व्यावसायिक किसानले उत्पादन गरेको सागसब्जी, फलफूललगायत सामग्रीको आगामी दिनमा सहकारीमार्फत सामूहिक रूपमा बजारीकरण गर्ने तयारीमा स्थानीय रहेका छन् । मौसमी तथा बेमौसमी जातका सागसब्जी, सुन्तला, कागती, च्याउ, मह, अकबरे खुर्सानी, अदुवाको व्यावसायिक उत्पादन गर्दै आएका यहाँका किसानले उत्पादन गरेको कृषिजन्य वस्तुले सहजै बजार नपाएपछि सहकारीमार्फत बजारीकरण गर्ने तयारीमा छन् । भौगोलिक र यातायातका दृष्टिले विकटमा रहेकाले पनि बजारीकरणमा समस्या भएको हो ।
वालिङ–१४ अमलडाँडाका व्यावसायिक कागतीखेती गर्ने किसान यामप्रसाद पौडेलले साउनदेखि यता झन्डै आठ टन कागतीको दाना बिक्री गरेको बताए । जाडो लागेसँगै कागती बिक्री हुन छाडेपछि एक टन जतिको पेलेर रस बनाएका छन् । उनीसँग अहिले पेलेको रस झन्डै पाँच सय लिटर छ ।
“गर्मीयाममा जस्तो जाडोमा कागतीका दाना बिक्री हुँदैन”, उनले भने, “थोरै थोरै बिक्री हुन्छ, बाँकी रहेका कागतीलाई पेलेर रस निकाल्छु र त्यसलाई प्रशोधन गरेर लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।” बजारमा रस पनि खपत हुने गरेको छ । अहिले कागतीको माग पनि कम र बजार मूल्य कम पर्ने भएकाले भण्डारण गर्न सक्ने व्यवस्था हुने हो भने गर्मी लागेसँगै राम्रो मूल्य पर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण