ताप्लेजुङको हिमाली बस्ती याङ्मामा ब्वाँसोको आतङ्क, गोठमै छिरेर मार्न थाल्यो चौपाया
सारांश
- ताप्लेजुङको याङ्मामा ब्वाँसोको आक्रमणबाट किसानले चौरी र याक गुमाउँदै लाखौंको क्षति बेहोर्नुपरेको छ।
- यस वर्ष हालसम्म नौ वटा चौरी मरेका छन् भने अघिल्लो वर्ष ३० भन्दा बढी चौपायाको क्षति भएको थियो।
- स्थानीय सरकार राहत दिन असमर्थ रहेको र संघ तथा प्रदेश सरकारले ठोस कदम चाल्नुपर्ने स्थानीयको माग छ।
ताप्लेजुङ । ताप्लेजुङको हिमाली बस्ती याङ्माका पशुपालक किसानहरू जङ्गली जनावर ब्वाँसो (च्याङु) को आक्रमणबाट बर्सेनि पीडित बन्दै आएका छन्। फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला अन्तर्गत पर्ने यस क्षेत्रमा ब्वाँसोले गोठमै छिरेर याक र चौरी मार्न थालेपछि किसानले लाखौँको क्षति बेहोर्नु परेको छ।
केही दिनअघि मात्रै स्थानीय लोप्साङ शेर्पा र नाम्ग्या शेर्पाको गोठमा रहेका तीन वटा चौरी ब्वाँसोले मारेको छ। यसवर्ष हालसम्म नौ वटा चौरी मारिइसकेका छन् भने अघिल्लो वर्ष ३० भन्दा बढी चौपायाको क्षति भएको थियो। एउटा चौरीको मूल्य कम्तीमा ६० हजार रुपैयाँ पर्ने र तिब्बत निर्यात गर्दा झन् बढी मूल्य पाइने भए पनि ब्वाँसोको आतङ्कले किसानको आम्दानीको स्रोत नै सङ्कटमा परेको छ।
९ घरधुरी मात्र रहेको याङ्माका बासिन्दाको मुख्य पेसा नै पशुपालन हो। विशेषगरी जाडोयाममा ब्वाँसोको हुल नै बस्ती आसपास आउने र चौपायामाथि जाइलाग्ने गरेको छ। बर्सेनि क्षति बेहोर्दा पनि राज्यले नियन्त्रण र राहतमा खासै चासो नदिएको स्थानीयको गुनासो छ। पाइने राहत पनि निकै न्यून भएको र वर्षाको समयमा यी जनावर हराउने तर जाडो सुरु भएसँगै फर्किएर दुःख दिने गरेको लोप्साङ शेर्पाले बताए।
वडाध्यक्ष छेतेन शेर्पाले सीमित बजेटका कारण स्थानीय तहबाट उचित राहत दिन नसकिएको स्वीकार गर्दै यसका लागि सङ्घ र प्रदेश सरकारले ठोस कदम चाल्नुपर्ने बताए। उनले हिउँ चितुवामा जस्तै यी ब्वाँसोमा पनि 'ट्रयाकिङ उपकरण' जडान गरी यिनीहरूको आचरण र आवागमनबारे अध्ययन गर्न आवश्यक रहेकोमा जोड दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण