बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपराध

सापटी लिएको १७ लाख नदिन दुई जनाको हत्या

प्रेमिकालाई ऋण खोजेर पठाएका थिए जापान
सोमबार, ०७ पुस २०८२, १५ : ५०
सोमबार, ०७ पुस २०८२

सारांश

  • ललितपुरमा दुई जनाको हत्या गरी शव विभिन्न ठाउँमा फालेको अवस्थामा फेला परेको छ।
  • हत्यामा संलग्न भएको आरोपमा २१ वर्षीय देवराज ढुंगेल र २० वर्षीय जयराम अधिकारी पक्राउ परेका छन्।
  • पैसाको लेनदेनको विवादका कारण देवराजले साथीको सहयोगमा दुवै जनाको हत्या गरेको अनुसन्धानबाट खुलेको छ।

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरेर छुट्टाछुट्टै ठाउँमा शव व्यवस्थापन गरेको भेटिएको छ ।

महालक्ष्मी नगरपालिकाको शेरेफाँटमा पुस २ मा केशवराज हायु मृत भेटिएका थिए, फार्म हाउसको इनारमा बोरामा प्याक गरेर फालेको अवस्थामा हायुको शव भेटिएको थियो ।

सोमबार बिहान ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमा क्षेत्रमा पर्ने सुर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा पारुहाङ राई मृत भेटिए । राई भोजपुरको अरुण गाउँपालिका–३ का स्थानीय हुन् । उनीहरू दुवैले महालक्ष्मी नगरपालिकामा तरकारी खेती गर्न सँगै ‘फार्म हाउस’ चलाएका थिए । 

अर्का दुई जना मिलेर उनीहरूको हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यामा संलग्न आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी बेद पौडेल नेतृत्वको टिमले सिन्धुलीको सुनकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय देबराज ढुंगेल र २० वर्षीय जयराम अधिकारीलाई पक्राउ गरेको छ । 

मृतक हायुका बहिनी–ज्वाईं हुन देवराज । उनले नै हत्याको योजना बनाएको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।

केशवराज हायुकी बहिनीसँग देवराज प्रेम सम्बन्धमा थिए । प्रेमिकालाई उनले ऋण खोजेर जापान पठाए । ऋण लिएको रकम तिर्न देवराजले केशवराजसँग १२ लाख र पारुहाङसँग ५ लाख सापटी लिएका थिए । करिब ४ महिनाअघि दिएको सापटी रकम केशवराज र पारुहाङ दुवैले माग्न थालेपछि देवराजले हत्या योजना बनाएका हुन् ।

केशवराजले फार्म हाउस रोल्पाका दिपक थापा मगरलाई बेचे । फार्म हाउस बेचेर उनी बुल्गेरिया उड्ने तयारी गर्दै थिए । विदेश जान पैसा आवश्यक परेका भन्दै केशवराज र पारुहाङले पैसा फिर्ता गर्न दबाब दिएपछि देवराजले उनीहरूलाई जवाफ दिए, ‘मैले रकम सेयरमा लगानी गरेको छु, त्यसमा मनग्य कमाइ हुन्छ, आएको नाफा बाँडौँला ।’

तर उनीहरूले रकम फिर्ता गर्न दबाब बढाइरहेपछि हत्याको योजना बनेको एसपी आचार्य बताउँछन् । हत्या योजना बनाएर गाउँमा बसिरहेका जयराम अधिकारीलाई उनले ललितपुर बोलाएका थिए । देवराज र जयराम ८ वर्षदेखिका साथी हुन् । उनीहरू एउटै स्कुल पढेका थिए । आफ्नो २ लाख ऋण पुगेको कुरा जयरामले देवराजसँग सेयर गरेका थिए । काठमाडौँ बोलाएर उनले जयरामलाई भने, ‘मैले भनेको काम मिलेर गरौँ, दुई लाख ऋण तिरिदिन्छु ।’

मदिरा पिलाएर हत्या

फरक–फरक दिनमा उनीहरूले दुई जनाको हत्या गरे । मंसिर २४ मा केशवराज हायुलाई ‘रक्सी खान जाउँ’ भन्दै ज्यामिरकोट जंगलमा लगे । त्यहाँ 'गोल्डेन ओक' नामको मदिरा खुवाए । रक्सीले मातेका उनलाई ह्यामरले टाउकोमा प्रहार गरेर हत्या गरेको अनुसन्धानमा संलग्न डीएसपी बेद पौडेलले बताए । 

दुईदिनसम्म शव त्यहिँ जंगलमै छाडे । २६ गते मात्र बोरामा प्याक गरेर केशवराजले पहिले सञ्चालन गरेको फार्म हाउसको इनारमा लगेर फालेको देवराजले बयानमा स्विकार गरेका छन् ।

केशवराजको हत्या भएको कुरा पारुहाङलाई थाहा थिएन् । उनलाई पनि त्यसैगरी रक्सि खान भन्दै महालक्ष्मी नगरपालिका–८ मा पर्ने ज्यामिरकोटमा लगे ।  गोल्डेन ओक खुवाएर मातेपछि ह्यामरले प्रहार गरेर हत्या गरे । हत्यापछि पारुहाङको शव ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमानामा पर्ने सुर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा लगेर फाले ।

दुई जनाको हत्या गरेपछि जयराम गाउँ फर्किए । गाउँ फर्किएर गोलोन्जोर गाउँपालिका–५ स्थित दिदीको घरमा लुकेर बसेको अवस्थामा उनलाई प्रहरीले ६ पुसमा पक्राउ गरेर ललितपुरमा ल्याएको छ ।

देवराज ललितपुरको लुभुमा बस्थे । हत्यापछि उनले डेरा भक्तपुरको गठ्ठाघरमा सारेको एसपी आचार्यले बताए । प्रहरीले उनको डेराबाट हत्यामा प्रयोग गरिएको ह्यामर र शव बाँध्न प्रयोग भएको टेप बरामद गरेको छ । उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरले ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप