मुख्य दलका शीर्ष नेतासँग निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह
सारांश
- नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनका लागि वातावरण बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ।
- कांग्रेसले निर्वाचनको वातावरण बनाउन सरकार असफल भएको र शीर्ष नेताहरूसँग छलफल गर्न सुझाव दिएको छ।
- निर्वाचन नभए प्रधानमन्त्री र राष्ट्रपतिको कार्यकालमा प्रश्न उठ्ने सहमहामन्त्री यादवले बताए।
काठमाडौँ । नेपाली कांग्रेसले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने वातावरण निर्माण गर्न मुख्य राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री कार्कीले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरेको सर्वपक्षीय छलफलमा कांग्रेसले एकले अर्कालाई निःशेष गरेर निर्वाचनको वातावरण नबन्ने बताएको हो ।
छलफलमा पार्टीका तर्फबाट सहभागी सहमहामन्त्री महेन्द्र यादवले छिटै शीर्ष नेताहरूसँग छलफल गर्न प्रधानमन्त्री कार्कीलाई सुझाए । प्रधानमन्त्रीलाई आग्रह राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्नुहोस् ।
‘प्रधानमन्त्रीलाई मेरो व्यक्तिगत र पार्टीको आग्रह छ, निर्वाचन सम्पन्न हुने वातावरण निर्माण गर्न मुख्य पार्टीका शीर्ष नेतासँग छलफल गर्नुस्,’ सहमहामन्त्री यादवले भने, ‘एकले अर्कालाई निषेध नगरौँ । सहमतिमा अगाडि बढ्ने वातावरण निर्माण गरौँ ।’
उनले निर्वाचन गर्नका लागि पहिला वातावरण निर्माण गर्नुपर्ने र त्यो वातावरण निर्माण सरकारले गर्न नसकेको बताए ।
‘निर्वाचन, निर्वाचन भनेर भएन । सरकार र मन्त्रीहरूले निर्वाचनको वातावरण बनाउनुपर्छ । सुरक्षाको प्रत्याभूति र भयरहित वातावरण सरकारले निर्माण गर्न सरकारले सकेको देखिएन,’ यादवले भने, ‘पूर्वमन्त्री र नेताहरूको सुरक्षा खोसिएको छ । थ्रेट बढी छ केही घटना घट्यो भने त्यसको जिम्मेवारी सरकारको हो । थ्रेट भएका नेताहरूलाई पिएसओ दिन पर्यो ।’
फागुन २१ गतेका लागि तोकिएको निर्वाचन समयमा भएन भने प्रधानमन्त्री कार्की र राष्ट्रपति रामचन्द्र पौडेलको लिगेसीको कुरा आउने बताए ।
‘६ महिनाभित्र निर्वाचन भइसक्नुपर्छ । त्यो मितिमा संसद् हुनुपर्छ । भएन भने, प्रधानमन्त्री कार्की र राष्ट्रपतिको लिगेसीको कुरा आउँला,’ यादवले भने ।
कांग्रेसले आधिकारिक रूपमा केन्द्रीय समितिबाट निर्णय गरेर सहभागी हुने तय गरिसकेको जानकारी सहमहामन्त्री यादवले सर्वदलीय बैठकमा गराए । निर्वाचनविना देशले निकास पाउँदैन भन्ने कांग्रेसको धारणा रहेको उनको भनाइ थियो ।
उनले आन्तरिक रूपमा कांग्रेसले तयारी गरिसकेको बताउँदै तहगत रूपमा उम्मेदवार छनोट गरिसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण