शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
खेलकुद

सुदूरपश्चिमको महिला टिम पहिलो पटक एनभीए कप खेल्न जाँदै, टिमको खर्च धान्न चिन्ता

मङ्गलबार, ०८ पुस २०८२, १४ : १३
मङ्गलबार, ०८ पुस २०८२

सारांश

  • सुदूरपश्चिमको महिला भलिबल टोली पहिलो पटक राष्ट्रिय 'एनभीए कप' मा सहभागी हुँदैछ।
  • टोलीलाई प्रतियोगितामा सहभागी गराउन आर्थिक स्रोत जुटाउन चुनौती छ, किनकि बजेट अभाव छ।
  • प्रतियोगितामा राम्रो प्रदर्शन गरेमा, टोलीले पीएम कप र लिगमा खेल्ने अवसर पाउनेछ।

धनगढी । गत जेठ ३० गते सम्पन्न १५औँ राष्ट्रपति रनिङ शिल्डमा सुदूरपश्चिम प्रदेशको छात्रा टोलीले ऐतिहासिक जित हासिल गर्दै स्वर्ण पदक जितेपछि प्रदेशभरि खुसीयाली छाएको थियो । पहिलो पटक प्रदेशलाई भलिबलमा च्याम्पियन बनाएको त्यही टोली अहिले फेरि अर्को एउटा ठुलो र प्रतिष्ठित प्रतियोगिताको तयारीमा छ ।

सुदूरपश्चिमको महिला भलिबल टोली इतिहासमै पहिलो पटक राष्ट्रियस्तरको चर्चित ‘एनभीए कप’ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन काठमाडौँ जाँदैछ । तर, खेलाडीहरूको मनमा जति उत्साह छ, व्यवस्थापन पक्षमा भने त्योभन्दा ठुलो चिन्ता टिमको खर्च कसरी जुटाउने भन्नेमा छ ।

नेपाल भलिबल संघको आयोजनामा पुस ११ देखि १९ गतेसम्म काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा नवौँ एनभीए कप भलिबल प्रतियोगिता आयोजना हुँदैछ ।

यसअघि सुदूरपश्चिमबाट पुरुष टोलीले मात्र यो प्रतियोगितामा भाग लिने गरेकोमा यसपटक पहिलो पटक महिला टोलीले पनि पाइला टेक्न लागेको हो । यो ऐतिहासिक अवसर त हो, तर टिमलाई प्रतियोगितास्थलसम्म लैजान आर्थिक स्रोतको जोहो गर्न चुनौती रहेको व्यवस्थापन पक्षको गुनासो छ ।

एनभीए कपका लागि तयार पारिएको टोलीमा राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक जिताउने प्रभावशाली खेलाडी छन् । उनीहरूसँगै प्रदेशको टोलीबाट विभिन्न राष्ट्रियस्तरका प्रतियोगिता खेलिसकेका केही अनुभवी सिनियर खेलाडी पनि समावेश छन् ।

टोलीका प्रशिक्षक लालबहादुर बटालाले यो पटक एनभीए कपमा सुदूरपश्चिमको टोलीले सहभागिता जनाउने र आफूले प्रशिक्षकका रूपमा खेलाउने अवसर पाएकोमा खुसी त व्यक्त गरे । यद्यपि टिमको खर्च कसरी धान्ने भन्ने चिन्ताले सताएको उनको भनाइ छ ।

एनभीए कपका लागि प्रशिक्षकजस्तै खेलाडीहरू पनि उत्साहित छन् । टोलीकी खेलाडी मोनिका धामीले पहिलो पटक राष्ट्रियस्तरको यति ठुलो प्रतियोगिता खेल्न जान पाउँदा एकदमै खुसी लागेको बताइन् ।

उनले भनिन्, ‘हामीले पहिले एनभीए कप अरूले खेलेको मात्र हेर्थ्यौँ । प्रायः पुरुषहरूको टिममात्रै सहभागी हुन्थ्यो । अहिले हाम्रो टिम नै जाने भएपछि निकै उत्साहित छौँ । हामी आफ्नो कमजोरीहरू सुधार्दै अभ्यासमा जुटेका छौँ र उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेका छौँ ।’

टोलीका खेलाडी र प्रशिक्षक खुसी भए पनि खर्च कसरी व्यवस्थापन गर्ने भन्ने नै अहिलेको मुख्य चुनौती बनेको छ । कैलाली जिल्ला भलिबल संघका महासचिव प्रेमराज जोशीका अनुसार यो ऐतिहासिक सहभागितालाई सफल बनाउनका लागि ठुलो आर्थिक स्रोतको आवश्यकता छ । ‘धेरै समयपछि हामीले पहिलो पटक सुदूरपश्चिमको महिला टिमलाई एनभीए कपमा लैजान लागिरहेका छौँ । यो हाम्रो लागि एउटा अवसर हो, तर आर्थिक अभावले हामीलाई थिचेको छ,’ उनले भने ।

प्रतियोगितामा सहभागी हुनका लागि टिमको दर्ता, खेलाडीको यात्रा खर्च, काठमाडौँमा बस्ने र खाने व्यवस्थापन गर्दा कम्तीमा ४ देखि साढे ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यो रकम कहाँबाट ल्याउने भन्ने ठेगान छैन । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् अहिले नेतृत्वविहीन जस्तै छ । परिषदमा सदस्यसचिव मात्र छन् र उनीसँग पनि एकल निर्णयबाट १ लाख रुपैयाँभन्दा बढी खर्च गर्न पाउने अधिकार छैन ।

प्रदेश सरकारले खेलकुद मन्त्रालयलाई पर्याप्त बजेटसमेत दिएको छैन । यस वर्ष प्रदेशको खेलकुद क्षेत्रका लागि जम्मा २० लाख रुपैयाँमात्र आएको छ । त्यो बजेटबाट पनि पहिलाका धेरै भुक्तानी बाँकी रहेको र त्यो तिर्नमै ठिक्क हुने अवस्था छ । यस्तो अवस्थामा पहिलो पटक ऐतिहासिक सहभागिता जनाउन लागेको महिला भलिबल टोलीका लागि बजेट छुट्ट्याउनु चुनौती छ ।

टोलीलाई काठमाडौँ लैजानका लागि कैलाली जिल्ला भलिबल संघका अध्यक्ष नीरज शाह र महासचिव प्रेमराज जोशीले सक्रियता देखाइरहेका छन् । उनीहरूले सुदूरपश्चिम खेलकुद परिषद्, मन्त्रालय, यहाँका स्थानीय तहमा धाएर सहयोग जुटाउने प्रयास गरेका छन् । परिषद्ले केही सहयोग गर्ने आश्वासन त दिएको छ, तर त्यसले टिमको आधा खर्च पनि धान्न सक्ने अवस्था छैन ।

‘परिषद्ले पूरै खर्च व्यहोर्न नसक्ने भनेपछि हामी अन्य विकल्पको खोजीमा छौँ । टिम तयार छ, खेलाडीको फर्म राम्रो छ, तर पैसा नहुँदा कसरी लैजाने भन्ने चिन्ताले सताएको छ । गाडी भाडा, बासका लागि केही कुरा चलिरहेको छ । कसैले सहयोग गर्छन् कि भन्ने आशा छ,’ संघका अध्यक्ष शाहले भने ।

सुदूरपश्चिम प्रदेश भलिबल संघले पनि यो ऐतिहासिक टिम लैजान खासै चासो देखाएको छैन । जिल्ला संघकै भरमा यति ठुलो राष्ट्रिय प्रतियोगिताको खर्च धान्न असम्भव जस्तै छ ।

वर्षभरि रगत–पसिना बगाएर तालिम गर्ने खेलाडीहरूले जब खेल्ने अवसर पाउँछन्, तब आर्थिक अभावको तगारो लाग्नु विडम्बना मानिएको धनगढी उपमहानगरपालिका–३ का स्थानीय खेलप्रेमी ललित विकले बताए ।

‘सुदूरपश्चिमको महिला भलिबलले भर्खरै प्रदेशको नाम राखेको छ । यस्ता होनहार खेलाडीहरूलाई आर्थिक अभावकै कारण घरमै बस्न बाध्य पार्नु हुँदैन । टिमको खान, बस्न र व्यवस्थापनका लागि सक्नेले सहयोग गर्नुपर्छ । प्रदेश सरकार, स्थानीय तह र निजी संघसंस्थाहरूले यो टिमलाई स्पोन्सर गर्नुपर्छ । खेलाडीले आर्थिक चिन्ता बोकेर मैदानमा उत्रिनुपर्ने अवस्था आउनु दुःखद् कुरा हो,’ उनले भने ।

यो प्रतियोगिता सुदूरपश्चिमका खेलाडीका लागि किन पनि महत्त्वपूर्ण छ भने एनभीए कपका उत्कृष्ट ८ पुरुष र उत्कृष्ट ६ महिला टिम आगामी दशौँ पीएम कप र एनभीए महिला तथा पुरुष लिगका लागि छनोट हुनेछन् । यदि सुदूरपश्चिमको टोली यसपटक सहभागी हुन सकेन भने उनीहरूले अर्को वर्षको ठुलो लिग खेल्ने अवसर पनि गुमाउनेछन् ।

प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो स्थानमा हुनेले १ लाख २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप