कोशी सरकार पुनर्गठन गर्न दबाब बढाउँदै शेरधन राई, आलटाल गर्दै मुख्यमन्त्री
सारांश
- कोशी प्रदेश सरकार पुनर्गठन र मन्त्री हेरफेरको विषय चर्चामा छ, तर प्रक्रिया अघि बढेको छैन।
- एमाले नेताहरूले मन्त्री फेर्ने उपयुक्त समय आएको बताएका छन्, तर कांग्रेसको असहमतिका कारण प्रक्रिया रोकिएको छ।
- कांग्रेसको महाधिवेशनपछि मात्र मन्त्रिपरिषद् पुनर्गठन हुने संकेत देखिएको छ, जसले ढिलासुस्ती भएको आरोप लागेको छ।
विराटनगर । कोशी प्रदेश सरकार पुनर्गठन र मन्त्री हेरफेरको विषय पछिल्लो समय चर्चामै सीमित हुँदै आएको छ । सरकार पुनर्गठनको चर्चा गर्ने अरु कोही नभएर सरकारको नेतृत्व गर्ने दल नेकपा एमालेका सचिव तथा प्रदेश इन्चार्ज शेरधन राई र मुख्यमन्त्री हिक्मत कार्की नै हुन् ।
विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा एमालेका प्रदेश इन्चार्ज राईले मन्त्री फेर्ने उपयुक्त समय आइसकेको दाबी गर्दै अब धेरै दिन नपर्खिने सङ्केत गरे ।
यद्यपि सत्ता साझेदार दल नेपाली कांग्रेस र स्वयं मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै कारण यो प्रक्रिया अझै पर धकेलिने निश्चित देखिएको छ ।
इन्चार्ज राईले सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री कार्कीसँग परामर्श भइरहेको बताउँदै मन्त्रीहरूको हेरफेर गर्ने बेला भइसकेको जिकिर गरे । ‘मन्त्रीहरूको हेरफेरको कुरा छ, हेरफेर गर्ने बेला भइसकेको छ । मुख्यमन्त्रीसँग समेत हाम्रो छलफल, परामर्श भएका छन् । हामी त्यत्तिकै बोलिरहेका छैनौँ । प्रदेश कमिटी त्यत्तिकै बोलिरहेको छैन,’ राईले भने, ‘उपयुक्त समयको छनोटका कारणले गर्दा अहिलेसम्म मन्त्रीहरूको हेरफेर हुन सकेको छैन ।’
उपयुक्त समय पारेर मुख्यमन्त्रीले आफ्नो दल लगायत सबैसँग छलफल गरेर मन्त्रीहरूको हेरफेर गर्ने विश्वास इन्चार्ज राईले व्यक्त गरे । उनले उपयुक्त समयको पर्खाइले मात्रै ढिलाइ भएको भन्दै यदि कांग्रेसले आफ्ना मन्त्री फिर्ता बोलाउन आनाकानी गरे एमालेले आफ्नै ढंगले कदम चाल्ने पनि बताए ।
उपयुक्त समय भनेको कहिले हो भनेर सोधिएको प्रश्नमा राईले भने, ‘यति भनिसकेपछि अब मुख्यमन्त्रीलाई सोध्नुहोस्, समय उहाँले भन्नुहुन्छ ।’
राईले यति भनिसकेपछि सँगै रहेका एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले भने– अब चाँडै हुन्छ ।
यसअघि गत कात्तिक महिनामा पनि इन्चार्ज राईले यस्तै भाषा प्रयोग गर्दै विवादित र काम गर्न नसक्ने मन्त्रीहरूलाई एक सेकेन्ड पनि ढिला नगरी फिर्ता बोलाउन कांग्रेसलाई आग्रह गरेका थिए । ‘हामीले हाम्रा साझेदारहरूलाई स्पष्ट भनेका छौँ, सावधानीपूर्वक चुकेका मन्त्रीहरूलाई फिर्ता बोलाउनुहोस् र नयाँ अनुहार पठाउनुहोस्,’ उनले भनेका थिए, ‘प्रश्न उठेका र काम गर्न नसकेका मन्त्रीहरूलाई एक सेकेन्ड पनि ढिला नगरी फिर्ता बोलाएर नयाँ व्यक्तिलाई सरकारमा पठाउनुपर्छ ।’
त्यसबेला उनले केही दिनभित्रै सत्ता साझेदार दल नेपाली कांग्रेससँग अन्तिम पटक छलफल गर्ने र कांग्रेसले आफ्ना मन्त्री फिर्ता बोलाउन आनाकानी गरे मुख्यमन्त्रीले नै सरकारलाई चुस्त बनाउन आवश्यक कदम चाल्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्ने बताएका थिए ।
तर, कात्तिकदेखि पुससम्म आइपुग्दा न विवादित मन्त्रीहरू हटेका छन्, न त राईले भनेजस्तो कुनै ‘एक्सन’ नै देखिएको छ । बरु, उनकै पार्टीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले करिब एक महिना अगाडि प्रदेश सभाको अर्थ समितिमा चाँडै सरकार पुनर्गठन हुने आश्वासन दिए पनि अहिले उनी आफैँ यस विषयमा मौन देखिएका छन् ।
मुख्यमन्त्री कार्कीले निजी कुराकानीमा आफ्नै दलका मन्त्रीहरूको कामप्रति असन्तुष्टि पोखे पनि पार्टीका शीर्ष नेता र गठबन्धनको दबाबका बिच ठोस निर्णय लिन सकेका छैनन् । मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘छिटै भनेर साउनदेखि चर्चा भएको हो । अब कहिले हुन्छ भन्नु ?’
एमाले नेताहरू सत्ताको मुख्य साझेदार नेपाली कांग्रेसभित्रको कलहले मन्त्रीमण्डल पुनर्गठन रोकिएको बताउँछन् । कांग्रेसका कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापाले मन्त्री फेरिने कुरालाई सामान्य रूपमा लिँदै यो विषय अझै छलफलमै रहेको प्रतिक्रिया दिए ।
थापाले पार्टीको महाधिवेशनलाई मुख्य बाधक देखाउँदै महाधिवेशन अगाडि कांग्रेसका मन्त्रीहरू परिवर्तन नहुने सङ्केत गरे । मुख्यमन्त्रीले चाहेमा मात्र मन्त्री फेरिने तर्क गर्दै उनले कांग्रेसभित्र अझै यो विषय टुङ्गो नलागेको बताए ।
‘मुख्यमन्त्रीले चाहेपछि त भइहाल्छ नि, अहिले छलफल भइराछ, छलफल टुङ्गिएको छैन । अब चाँडै छलफल टुङ्गिन्छ । हामी छलफलमै छौँ,’ थापाले भने, ‘महाधिवेशनको प्रक्रियाले रोकिएको हो । अब हाम्रो महाधिवेशन आइराछ, अस्ति एमालेको सकियो, यस्तै भइराछ ।’
कांग्रेसको महाधिवेशनपछि मात्र कोशीको मन्त्रिपरिषद पुनर्गठन हुने हो भन्ने प्रश्नमा थापाले भने, ‘त्यस्तै होला अब, कांग्रेसको महाधिवेशन अगाडि कांग्रेसका मन्त्रीहरू चेन्ज हुँदैनन् ।’
कांग्रेसभित्रको अर्को पक्ष भने नेतृत्वको यो ढिलासुस्तीप्रति रुष्ट देखिएको छ । कांग्रेसकै एक सांसदले भने, ‘अहिले कोशी प्रदेशचाहिँ सिटौला टिमलाई छोडिदिएको हो– के–के गर्छन् गरुन् भनेर । दलको बैठक पनि छैन, छलफल पनि छैन, सम्पर्क पनि छैन । म त दुई महिनादेखि जिल्लातिर छु ।’
उनले माथिको आदेश नआई कोशीमा सरकार पुनर्गठन नहुने पनि दाबी गरे । ‘माथिको आदेश नआएसम्म केही गर्ने होइनन् । हामीले त पहिले नै भनेको हो, दलको निर्णय गरेर गरौँ, साथीभाइलाई पठाऔँ, खाली मन्त्रालय पनि नराखौँ, तपाईंलाई निर्णय गर्न अप्ठ्यारो छ भने दलबाट हामी सर्वसम्मत निर्णय गर्दिन्छौँ भनेको हो,’ उनले भने, ‘अब माथिको आदेश नभइकन हाम्रो दलको नेता केही नगर्ने, मुख्यमन्त्री पर्खेर बस्नुभएको छ । ओलीको प्रधानमन्त्री पर्खेर शेरबहादुर दाइ बसेजस्तो यहाँ पनि मुख्यमन्त्री हुने पालो पर्खेर हाम्रो नेता बस्नुभएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण