संसद् नबोलाउनुको मुख्य कारण भ्रष्टाचार र बेथिति हो – इन्द्र आङ्बो
सारांश
- माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले कोशी प्रदेश सरकारले हिउँदे अधिवेशन बोलाउन आलटाल गरेको आरोप लगाए।
- उनले सरकारले पूर्वाधारको अभाव देखाएर जनसरोकारका मुद्दा र भ्रष्टाचारका काण्डहरूबाट उम्किन खोजेको आरोप लगाए।
- आङ्बोले सरकारभित्रको भ्रष्टाचार र बेथिति मुख्य कारण भएको र तत्काल हिउँदे अधिवेशन आह्वान गर्न माग गरे।
विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो (पार्टी एकतापछि पनि यही पद कायम) ले वर्तमान कोशी प्रदेश सरकारले संसदको हिउँदे अधिवेशन बोलाउन आलटाल गरेको भन्दै कडा आलोचना गरेका छन् ।
सरकारले पूर्वाधार अभावको बहाना देखाएर जनसरोकारका मुद्दा र भ्रष्टाचारका काण्डहरूबाट उम्किन खोजेको उनको आरोप छ ।
नेता आङ्बोले संसद् सचिवालयमा आज पत्रकार सम्मेलन गर्दै अघिल्लो बजेट अधिवेशन पनि जेनजी आन्दोलनका कारण स्थगित भएको र अहिले हिउँदे अधिवेशन समयमै सुरु होला भन्ने अपेक्षा रहे पनि सरकारले कुनै तयारी नगरेको बताए । 'सरकारले पूर्वाधारको समस्या देखाएर संसद पन्छाउन खोजिरहेको छ,' उनले भने, 'बल्ल बल्ल बैठक कक्ष निर्माणका लागि ठेक्का प्रक्रिया सुरु भएको छ, जसलाई पूर्ण हुन अझै दुई महिना लाग्न सक्छ । यो भनेको निर्वाचनको मुखमा पुग्नु हो, जसले गर्दा संसदको औचित्य नै समाप्त पार्ने खेल भइरहेको छ ।'
आङ्बोले सरकारले संसद् नबोलाउनुको मुख्य कारण पूर्वाधार नभई सरकारभित्रको चरम भ्रष्टाचार र बेथिति भएको दाबी गरे । मुख्यमन्त्री कार्यालयबाटै सार्वजनिक भएको क्युआर कोड प्रकरण, स्वास्थ्य मन्त्रालयमा मन्त्रीका स्वकीय सचिवमार्फत पैसा उठाएको कुरा र कृषि मन्त्रीले सचिवको गाडीको चाबी खोसेको जस्ता घटनाले सरकारको सुशासनको धज्जी उडाएको उनले बताए ।
'यी सबै विषयमा मुख्यमन्त्रीले संसदमा उभिएर जवाफ दिनुपर्छ। तर, उहाँसँग ती प्रश्नहरूको सामना गर्ने नैतिक साहस छैन,' आङ्बोले भने। सरकारले ल्याएका नीति, कार्यक्रम र बजेट पूर्ण रूपमा असफल भइसकेको टिप्पणी गर्दै उनले थपे, 'लगानी सम्मेलन, चिया सम्मेलन र पर्यटन वर्ष जस्ता कार्यक्रमहरू केवल तामझाममा सीमित भए, उपलब्धि शून्य रह्यो ।'
समाजमा अझै पनि जेनजी आन्दोलनपछिको त्रासदी र सुरक्षा चुनौती कायमै रहेको भन्दै उनले जनताका यस्ता समस्यामाथि छलफल गर्ने थलो संसदलाई बन्धक बनाउनु गैरजिम्मेवारीको पराकाष्ठा भएको बताए ।
नेता आङ्बोले अन्य वैकल्पिक पूर्वाधारहरू प्रयोग गरेर भए पनि तत्काल हिउँदे अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेका छन् । 'हामीसँग अन्य सुरक्षित पूर्वाधारहरू पनि छन्, त्यसैले भवनको बहाना बनाएर संसद् छल्ने काम बन्द गरियोस्,' उनले चेतावनी दिए ।
विपक्षी दलहरूको तर्फबाट सरकारलाई जवाफदेही बनाउन आफूहरूले पटक–पटक आग्रह गर्दा पनि सरकारले वास्ता नगरेको भन्दै आङ्बोले अबको परिस्थितिमा सरकार झन् असफलतातर्फ धकेलिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण