आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

ठमेलमा यौनिक तथा अल्पसंख्यकको लगानीमा चिलपिल जोन शुभारम्भ

बुधबार, ०९ पुस २०८२, २० : ५४
बुधबार, ०९ पुस २०८२

सारांश

  • काठमाडौँको ठमेलमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूले रेस्टुरेन्ट खोलेका छन्।
  • उनीहरूले नेपाल पर्यटन बोर्डको तालिमपछि ऋण लिएर रेस्टुरेन्ट सुरु गरेका हुन्, जसले ३ जनालाई रोजगारी दिएको छ।
  • रेस्टुरेन्टले नेपाली उत्पादनलाई प्राथमिकता दिने र भविष्यमा शाखा विस्तार गर्ने योजना बनाएको छ।

काठमाडौँ । काठमाडौँको पर्यटकीय केन्द्र ठमेलस्थित पकनाजोलमा 'चिलपिल जोन रेस्टुरेन्ट एण्ड बार' सञ्चालनमा आएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका पाँच जना व्यक्तिले सामूहिक लगानी गरेर यो रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्। बुधबार एक औपचारिक कार्यक्रमबीच रेस्टुरेन्टको उद्घाटन गरिएको छ।

नेपाल पर्यटन बोर्ड र दिगो पर्यटन परियोजनाको सहकार्यमा आयोजित वारिस्ता (कफी बनाउने) तालिम लिएपछि उनीहरू व्यवसायतर्फ आकर्षित भएका हुन्। बोर्डले आयोजना गरेको उक्त तालिममा यस समुदायका २४ जना सहभागी थिए। तालिमपछि जागिरको खोजीमा भौँतारिनुको साटो आफैँ उद्यमी बन्ने उद्देश्यले ऋण लिएर रेस्टुरेन्ट सुरु गरिएको सञ्चालक सुरेन्द्र पाण्डेले बताए। उनका अनुसार ३० जना क्षमताको यस रेस्टुरेन्टले तत्काल तीन जनालाई रोजगारी समेत दिएको छ।

अर्का सञ्चालक बाबुथुमी राईले अन्य क्षेत्रमा सहजै जागिर नपाइने र आफूलाई यौन व्यवसायमा लाग्ने इच्छा नभएकाले यो पेसा रोजेको अनुभव सुनाइन्। तालिमले आत्मबल बढाएको र भविष्यमा यसका शाखाहरू अन्य ठाउँमा पनि विस्तार गर्ने योजना रहेको उनले जानकारी दिइन्। रेस्टुरेन्टमा सकेसम्म नेपाली उत्पादनलाई नै प्राथमिकता दिइने सञ्चालकहरूको भनाइ छ।

यस रेस्टुरेन्टको सुरुवातले विश्वभरका यौनिक तथा अल्पसङ्ख्यक समुदायका पर्यटकलाई नेपाल भ्रमण गर्दा सहज हुने र समुदायका अन्य व्यक्तिहरूका लागि पनि रोजगारीको बाटो खुल्ने विश्वास गरिएको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप