बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

पार्टी निर्माणमा बालेनको रफ्‌तार, कुमार बेनको घरमा फेरि छलफल

बिहीबार, १० पुस २०८२, ११ : १३
बिहीबार, १० पुस २०८२

सारांश

  • काठमाडौँका मेयर बालेन शाहले पार्टी निर्माणको लागि विभिन्न क्षेत्रका व्यक्तिहरूसँग भेटघाट गरे।
  • ललितपुरको कुपन्डोलमा भएको छलफलमा प्रत्यक्ष चुनाव लड्न सक्ने सम्भावित व्यक्तिहरूसँग छलफल भएको थियो।
  • छलफलमा डा. भगवान कोइराला, ज्ञानेन्द्र शाही, मिलन पाण्डे लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले बुधबार मध्यरातसम्म विभिन्न क्षेत्रका सक्रिय र चर्चित मान्छेहरूसँग भेटघाट गरेका छन् ।  ललितपुरको कुपन्डोल स्थित कुमार बेन (व्यञ्जनकार)को घरमा बालेनले छलफल गरेका थिए । मेयर बालेनका सचिवालयका अनुसार छलफलमा मेयर बालेनले प्रत्यक्ष चुनाव लड्न सक्ने सम्भावित पात्रहरूसँग भेटेका हुन् ।   

छलफलमा सहभागी एक सदस्यका अनुसार पार्टीको नाम र चुनाव चिन्हबारे लगभग तय नै छ । मेयर बालेनले सहरी योजना आयोगमा सहायक विज्ञ बनाएका सन्तोष गिरीसहितको टिमले नै दस्ताबेज बनाइसकेका थिए ।  

बालेन निकटका अनुसार जेनजी आन्दोलन र त्यसपछि पछि सुशासनको अवस्था हेर्दा बालेन नै पार्टीको नेतृत्वमा आउनुपरेको हो ।  ‘पार्टीको दस्ताबेज सबै तयार छ । अब टिम मिलेपछि लगभग अगाडि बढ्ने भइयो,’ उनी निकट एक भन्छन् ।  ‘पार्टी देश विकास पार्टी नै हो । चुनाव चिन्ह लौरो नै हो, तर कति मान्छे को को अट्ने भन्ने विषयमा छलफल फेरी  सुरु भएको छ । 

पार्टीका लागि चाहिने मान्छेहरु कस्ता हुन्छन भनेर छलफल भइरहेको छ,’ छलफलमा सहभागी एक सदस्यले भने ।  अर्का सदस्य भन्छन् ‘मेयर साब आफैँ कुनै पार्टीको नेतृत्व गर्दा स्ट्रेन्थ कति छ भनेर विभिन्न क्षेत्रका मानिसहरूसँग भेटेका हुन् । सबैलाई केहि समयको ग्याप राख्दै बोलाइएको थियो । तर पछि सामूहिक जस्तो पनि भयो । आज साढे १० बजेबाट फेरि भेटघाट सुरु भइसकेको छ ।’ 

प्रत्यक्ष लड्न सक्ने मान्छेसँग बालेनको भेट 

भेटको लागि बालेन आफ्‌ना साथी तथा महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्साललाई सक्रिय ढङ्गले परिचालित गरेका थिए ।  बालेनले प्रत्यक्ष चुनाव लड्दा सार्वजनिक रूपमा छवि राम्रा भएका मान्छेहरू चाहिने बताउँदै सोही अनुसार बोलाएको सहभागी एक सदस्यले भने । 

जसमा डा भगवान् कोइराला, राप्रपा नेता ज्ञानेन्द्र शाही, सरसरफाई तथा युवा अभियन्ता केपी खनाल, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, शेरबहादुर देउवासँग अघिल्लो चुनाव लडेका अभियन्ता सागर ढकाल, पूर्व सचिव भीम उपाध्याय,  पूर्व विवेकशील साझाका नेता मिलन पाण्डेको पनि सहभागिता रहेको थियो । यस्तै कलाकार निश्चल बस्नेत, सञ्चारकर्मीहरू सुरजसिंह ठकुरी, पत्रकार ऋषि धमला, सञ्चार उद्यमी कैलाश सिरोहिया समेत छलफलमा सहभागी रहेको थियो ।  

छलफलमा सहभागीहरू 

डा. भगवान् कोइराला (वरिष्ठ चिकित्सक)

ज्ञानेन्द्र शाही (नेता, राप्रपा)

सिके राउत (अध्यक्ष, जनमत पार्टी)

भीम उपाध्याय (पूर्व सचिव)

मिलन पाण्डे (पूर्वउपाध्यक्ष, विवेकशील साझा)

सागर ढकाल (अभियन्ता)

रक्षा बम (जेनजी अभियन्ता)

केपी खनाल (अभियन्ता)

निश्चल बस्नेत (कलाकार/निर्देशक)

सम्भव सिरोहिया (प्रबन्ध निर्देशक, कान्तिपुर मिडिया ग्रुप)

सुरजसिंह ठकुरी (सञ्चारकर्मी/कलाकार)

ऋषि धमला (पत्रकार)

सुनिल लम्साल (सल्लाहकार, महानगरपालिका)

अनन्तराज घिमिरे (देश विकास पार्टी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप