शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सल्यानमा उम्मेदवार बन्न नेकपाका नेताहरुबिच तँछाडमछाड

शुक्रबार, ११ पुस २०८२, १६ : ००
शुक्रबार, ११ पुस २०८२

सुर्खेत । सल्यानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र आगामी फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार बन्न तँछाडमछाड चलेको छ ।

साविक नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का नेताहरुबिच उम्मेदवार बन्न प्रतिस्पर्धा चलेको हो ।

साविक समाजवादीका केन्द्रीय उपमहासचिव समेत रहेका प्रकाश ज्वाला हो गृहजिल्ला हो, सल्यान । यहाँ साविक एमाले हुँदादेखिनै ज्वाला बलिया छन् । ०७९ को निर्वाचनमा प्रतिनिधि सभामा १५ हजार बढी मतान्तरले चुनाव जितेका उनी आगामी फागुनमा हुने निर्वाचनमा पनि उम्मेदवार बन्न चाहन्छन् ।

तर, उनलाई साविक माओवादीकातर्फबाट लामो समय पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय सचिव रहेका रमेश मल्लले टक्कर दिइरहेका छन् । मल्ल यो पटक जसरी पनि उम्मेदवार बन्न चाहन्छन् । सामाजिक सञ्जालमा समाजवादीतर्फका नेताहरुले ज्वालाको र माओवादीतर्फका नेता, कार्यकर्ताले मल्लको नामको चर्चा गरिरहेका छन् ।

त्यस्तै साविक माओवादीबाटै टेकबहादुर बस्नेत पनि उम्मेदवार बन्न चाहन्छन् । बस्नेत ०७४ मा प्रतिनिधि सभा सदस्य बनेका थिए ।

त्यो बेला प्रकाश ज्वालाले एमालेबाट प्रदेश सभा चुनाव जितेका थिए । आकांक्षीहरुबिच तँछाडमछाड भएसँगै नेपाली कम्युनिस्ट पार्टी सल्यानले यी तीनै जना नेताहरुसहित ५ जनाको नाम प्रत्यक्षतर्फ पार्टी केन्द्रमा सिफारिस गरेको छ ।
 
शुक्रबार बसेको नेकपा सल्यान जिल्ला कमिटीले तीन नेतासहित धनबहादुर परियार र सीता विष्ट बस्नेतको नाम सिफारिस गरेको छ । यद्यपि मल्ल, ज्वाला र बस्नेतमध्ये एक जनाले नै टिकट पाउने देखिन्छ ।

यस्तै समानुपातिक निर्वाचनतर्फ खस आर्य समूहबाट उमाकान्त शर्मा, दलित तथा महिला वर्गबाट पवित्रा विक, जनजाति समूहबाट प्रमोद कुमार श्रेष्ठ र महिला समूहबाट प्रेमा अधिकारीको नाम सिफारिस गरिएको छ ।
 
राष्ट्रिय सभा सदस्यका लागि खुल्लातर्फ रत्न बहादुर वलीको नाम सिफारिस गरिएको साविक नेकपा माओवादी केन्द्र सल्यानका संयोजक मानबहादुर मल्लले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप