जेनजी प्रदर्शनमा जेलबाट भागेकाहरु गम्भीर अपराधमा संलग्न हुने क्रम बढ्यो
काठमाडौं । काठमाडौंको ठमेलमा झगडा हुँदा परिचित युवकले प्रहार गरेको कैंचीको चोटबाट सुरज तामाङले ज्यान गुमाए । असोज १३ मा आकाश मगरले कैंचीले प्रहार गर्दा मकवानपुर घर भई मनमैजु बस्ने २५ वर्षीय सुरजको मृत्यु भएको हो ।
जेनजी प्रदर्शन हुँदा भदौ २४ मा जेलबाट भागेको २१ औं दिनमा दाङको राप्ती गाउँपालिका–१ घर भएका आकाशले उनको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मृतक र आरोपी पूर्व परिचित हुन् ।
हत्यामा संलग्न मगर पुस ९ मा रोल्पाबाट पक्राउ परेका छन् । लागुऔषध मुद्दामा अदालतले पाँच वर्ष कैद सजायको फैसला गरेको आकाश जेलबाट भागेर पुन: हत्यामा संलग्न भएका हुन् । उनी २०८० असोज २७ गतेदेखि नख्खु कारागारमा थिए ।
आकाश मात्रै होइन, जेलबाट भागेकाहरु धमाधम अपराधमा संलग्न हुन थालेपछि प्रहरीलाई अपराध नियन्त्रणमा थप चुनौती भएको छ । कारागारबाट भागेका कैदी र बाजबिज्याईंकर्ताहरु ४५ सय ८० जना अझै कारागार फर्केका छैनन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार ४ हजार २७३ कैदी र बाल सुधार गृहबाट भागेका ३०७ जना फिर्ता भएका छैनन् ।
काभ्रेको पनौती नगरपालिका–१२ घर भएका सन्तबहादुर तामाङ बलात्कार मुद्दामा सजाय काटिरहेका थिए । तीन वर्षदेखि नख्खु कारागारमा रहेका तामाङ भदौ २४ मा त्यहाँबाट फरार भए । जेलबाट सिधै पनौतीस्थित घरमा गएर उनले असोज २ मा आफ्नी पत्नी ३० वर्षीया मनिषाको हत्या गरे । पत्नीको हत्या गरेर उनको शव घरभन्दा ५०० मिटर पर गाडेर उनी असोज ३ मा नख्खु कारागार फर्किए । ‘विवाहेत्तर सम्बन्ध’ थाहा पाएपछि उनले पत्नीको हत्या गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।
प्रदर्शनको मौका छोपेर दाङको तुलसीपुर कारागारबाट भागेका २२ वर्षीय खिमबहादुर विक पनि गम्भीर अपराधमा संलग्न भए । तुलसीपुर उपमहानगरपालिका–५ घर भएका विकले असोज ११ मा ५३ वर्षीय पुरुषको हत्या गरेका हुन् । त्यसअघि पनि उनी कर्तव्य ज्यान मुद्दामा नै जेल परेका थिए । प्रहरीले उनलाई पक्राउ गरेर पुनः कारबाहीको दायरामा ल्याएको छ । अनुसन्धान अधिकृतहरु यस्ता घटनालाई थप ‘टाउको दुखाइ’ मान्छन् ।
आपराधिक मनस्थितिको कारण यस्ता घटना दोहोरिने गरेको प्रहरी प्रवक्ता (डीआईजी) अभिनारायण काफ्लेले रातोपाटीलाई बताए । उनले भने, ‘मापसे र लागुऔषध तथा पूर्व रिसइबी पनि यस्ता घटना दोहोरिने कारण हुनसक्छ ।’
प्रहरी प्रधान कार्यालयले जेनजी प्रदर्शनमा भागेका कैदीहरु पुनः अपराधमा संलग्न भएको घटनाबारे तथ्यांक संकलन गरिरहेको छ । तथ्यांक संकलन गरेर जेलबाट छुट्नासाथ तत्काल अर्को अपराधमा संलग्न हुनुपर्ने कारणबारे विष्लेषण गरिने डीआईजी काफ्लेले बताए । उनले भने, ‘घटनाबारे तथ्यांक संकलन गर्दैछौं । कारणबारे अध्ययन र विष्लेषण गर्छौं ।’
बलात्कार मुद्दामा नौ वर्ष कैद सजाय भोगिरहेका कञ्चनपुरको दोधारा-चाँदनीका ३५ वर्षीय दीपक सुनार कारागारबाट भागेको भोलिपल्टै फेरि बलात्कार प्रयासको आरोपमा परे । भदौ २६ मा ५० वर्षीया महिलामाथि जबर्जस्ती गर्ने क्रममा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएपछि प्रहरीले उनलाई कारागार फिर्ता पठाएको छ । उनीविरुद्ध बलात्कार उद्योगको मुद्दा पनि चलेको छ ।
जेलबाट भागेका आफूले मात्र अपराध गरेका छैनन् । उनीहरु अरुबाट जघन्य अपराधको सिकार पनि भएको भेटिएको छ । मकवानपुरको भीमफेदी कारागारबाट भागेका कैदी नारायण कुमालको कात्तिक ७ मा पूर्वी नवलपरासीस्थित गैंडाकोटमा हत्या भयो । एउटा समूहले २८ वर्षीय कुमालको हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
गैंडाकोट नगरपालिकास्थित इट्टा भट्टा नजिकै राति धारिलो हतियार प्रहार गरेर उनको हत्या भएको पूर्वी नवलपरासीका एसपी युवराज खड्काले रातोपाटीलाई बताए । मृतक चितवनको कालिका नगरपालिका–४ पदमपुरका स्थानीय हुन् । हत्यामा संलग्न आरोपमा ५ जना कारबाहीको दायरामा आएका छन् । मृतक कुमालविरुद्ध अदालतले बलात्कार कसुरमा १० वर्ष कैद र ३५ हजार जरिवाना हुने फैसला गरेको थियो ।
आन्दोलनमा सहभागीले गरे आमाको हत्या
भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखेर भदौ २३ र २४ मा जेनजी आन्दोलनमा सहभागी एकजना युवक आन्दोलनपछि हत्या कसुरमा पक्राउ परे । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित थापाकटेरीका यमबहादुर कँडेलले असोज २० मा आमाको हत्या गरेका हुन् । प्रहरीले उनलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको छ ।
आमाको हत्या कसुरमा पक्राउ परेपछि कँडेलले जेनजी आन्दोलनमा प्रहरीसँग गरेको आक्रोशपूर्ण संवाद सामाजिक सञ्जालमा भाइरल भएको थियो । उनले ५५ वर्षीया आमा राममाया कँडेललाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पृथ्वी राजमार्गको पहिरो पन्छाइयो, नारायणगढ–काठमाडौँ सडक दुईतर्फी सुचारु
-
पार्टीको औपचारिक निर्देशन नआएसम्म एमालेका मन्त्रीले राजीनामा नदिने
-
डाटा माइग्रेसन र कर मिलान गरिँदै: अति आवश्यकबाहेक यातायात कार्यालय नजान अनुरोध
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण