मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

संगठन विस्तारमा जुट्यो प्रलोपा, गण्डकीका ११ वटै जिल्लामा इन्चार्ज तोकिए

शनिबार, १२ पुस २०८२, १९ : २३
शनिबार, १२ पुस २०८२

सारांश

  • प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले गण्डकीमा पार्टी संगठन विस्तार सुरु गरेको छ।
  • पार्टीले विभिन्न जिल्लाहरूमा इन्चार्ज तोकेको छ र आगामी निर्वाचनलाई लक्षित गरी काम गर्ने जनाएको छ।
  • प्रलोपाले समानुपातिकतर्फका उम्मेद्वारहरूको नाम सिफारिस गरेको छ र आगामी चुनावको तयारी गरिरहेको छ।

पोखरा । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले गण्डकीमा पार्टी संगठन विस्तार सुरु गरेको छ । शनिबार पोखरामा भएको भेलाले नेत्र चापागाईंको नेतृत्वमा १ सय ५१ सदस्यीय प्रदेश समिति गठन गरेको छ । 

यस्तै, ११ वटै जिल्लामा इन्चार्जको जिम्मेवारी तोक्ने निर्णय भेलाले गरेको छ । नवलपुरको इन्चार्जको जिम्मेवारी पीताम्बर महतोले पाएका छन् भने गोरखामा ज्ञान प्रसाद भट्ट, कास्कीमा कर्ण गुरुङ, पर्वतमा रमेश पौडेललाई इन्चार्ज तोकिएको छ ।

यस्तै, बागलुङमा चित्र सापकोटा, म्याग्दीमा शान्ति बिक, लमजुङमा चन्द्र बहादुर गुरुङ, स्याङ्जामा ईश्वरी थापा र मुस्ताङमा दीपक भण्डारीलाई जिम्मेवारी तोकिएको अध्यक्ष चापागाईले जानकारी दिए । उनका अनुसार संगठन सुदृढीकरण र आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्ला इन्चार्जहरूको जिम्मेवारी तोकिएको हो ।

योसँगै शनिबार नै बसेको बैठकले समानुपातिकतर्फका उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ । कास्कीबाट दुर्गा कुमारी गुरुङ, नवलपुरबाट पीताम्बर महतो, गोरखाबाट नारायणी अधिकारी, लाल बहादुर बिक र महेश गुरुङ, बागलुङबाट शान्ति बिक तथा स्याङ्जाबाट दिनेश पौडेलको नाम सिफारिस गरिएको हो ।

प्रलोपाले संगठन विस्तार अभियान अन्तर्गत पुस महिनाभित्रै गोरखाको पालुङटारमा वृहत सन्देश सभाको आयोजना गर्ने तयारी गरेको छ । आगामी चुनावमा जानुअघि विचार मिल्ने वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकताबद्ध हुन अपिल गरेको छ भने प्रत्यक्षतर्फका उम्मेद्वार पुसभित्र छनोट गरिसक्ने निर्णय गरिएको छ । पुसभित्र सबै जिल्लामा प्राइमरी इलेक्सन गरेर प्रत्यक्ष तर्फका उम्मेदवार सिफारिस गर्ने निर्णय भएको चापागाईंले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप