बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कृषि

विज्ञ नहुँदा मधेस प्रदेशमा पशु तथा बाली अनुसन्धान प्रभावित

७६ जनाको दरबन्दीमा २२ जनामात्रै कार्यरत
आइतबार, १३ पुस २०८२, १० : ४०
आइतबार, १३ पुस २०८२

सारांश

  • बारास्थित कृषि अनुसन्धान निर्देशनालयमा वैज्ञानिक नहुँदा पशु तथा बाली अनुसन्धान प्रभावित भएको छ।
  • १७ जना वैज्ञानिकको दरबन्दी रहेकोमा ३ जना मात्रै कार्यरत छन्, जसले गर्दा अनुसन्धान कार्यमा समस्या आएको छ।
  • अनुसन्धान निर्देशनालयले कर्मचारी पदपूर्तिका लागि संघीय सरकारसँग छलफल गरिरहेको छ र फागुन २१ अघि पदपूर्ति हुने सम्भावना रहेको छ।

बारा । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको कृषि अनुसन्धान निर्देशनालय परवानीपुरमा वैज्ञानिक नहुँदा पशु तथा बाली अनुसन्धान प्रभावित भएको छ ।

कृषि अनुसन्धान निर्देशनालयमा १७ जना वैज्ञानिकको दरबन्दीमध्ये ३ जनामात्रै कार्यरत छन् । माटो, बागवानी, माछा, पशु, कीट, बाली रोग विशेषज्ञ नहुँदा अनुसन्धान प्रभावित भएको हो ।

विज्ञ कर्मचारी नहुँदा अन्नबाली, बागवानीमा नयाँ जातहरूको अनुसन्धान तथा उत्पादनमा समेत समस्या भएको कृषि अनुसन्धान निर्देशनालय परवानीपुरका प्रशासकीय प्रमुख हरिहर न्यौपानेले जानकारी दिए ।

‘विशेष गरेर बाहिर रहेका हाम्रा कार्यालयहरूले यहाँ धेरै प्रकारका अनुसन्धान र परीक्षण गराउँछन् । त्यहाँ पनि हाम्रो जनशक्ति अभाव छ,’ प्रशासकीय प्रमुख न्यौपानेले भने, ‘माटो विशेषज्ञ, कीट, बाली रोग विशेषज्ञ अध्ययन बिदामा हुनुहुन्छ । पशु चिकित्सक, नयाँ जात उत्पादन गर्ने जनशक्ति नहुँदा हाम्रो अनुसन्धानलाई प्रभाव पारेको छ ।’

कृषि अनुसन्धान निर्देशनालयले मधेस प्रदेशका ८ वटा जिल्लामा अनुसन्धान, बीजवृद्धि, बाह्य अनुसन्धान, स्थलगत काम, नयाँ प्रजातिको विकास लगायतका काम गर्दै आएको छ ।

प्रशासकीय प्रमुख न्यौपानेले ७६ जना कर्मचारीको दरबन्दी भए पनि २२ जनाले काम चलाउनु पर्ने बाध्यता रहेको गुनासो गरे । निर्देशनालयमा अधिकृत तहको प्राविधिक १८ जनाको दरबन्दीमा ३ जनामात्रै कार्यरत छन् । सुब्बा तहको प्राविधिक ७ जनाको दरबन्दीमा २ जना र खरिदार तहमा ९ जनाको दरबन्दीमा १ जना मात्रै कार्यरत छन् ।

6-k6

प्राविधिक सहयोगीमा १७ जनाको दरबन्दीमा १० जनामात्रै कार्यरत रहेको प्रशासकीय प्रमुख न्यौपानेले जनाए ।

अन्नको भण्डार मानिने तराई–मधेसमा कृषिसम्बन्धी नयाँ–नयाँ खोज अनुसन्धान विज्ञ नभएपछि काम गर्नै समस्या भएको निर्देशक डा. विश्वेवर यादवले जनाए । उनले दरबन्दी पदपूर्तिका लागि संघीय सरकारसँग पटक–पटक छलफल र पत्राचार भइरहेको बताए ।

‘अहिले माटो विज्ञ, भेटनरी, बागवानी, माछा सम्बन्धी वैज्ञानिक छैनन्, त्यहाँ अधिकृतस्तरको प्राविधिकले जेनतेन हेरिरहेका छन्,’ निर्देशक यादवले भने, ‘अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा अत्यन्तै कम जनशक्तिबाट पनि सबैभन्दा उत्कृष्ट काम हामीले गरेका छौँ । हामीसँग दरबन्दी अनुसार वैज्ञानिक भएको भए धेरै राम्रो गर्न सकिन्थ्यो ।’

अनुसन्धान निर्देशनालयलको ९० बिघा जग्गामध्ये ३० बिघामा धान, मकै, गहुँको बिउ उत्पादन गर्दै आएको छ भने बाँकीमा तेलहन, तरकारी, फलफूल खेती, राष्ट्रिय भैंसी अनुसन्धान कार्यक्रम मार्फत मुर्रा जातको भैंसी र बोयर जातको बाख्रा पालन पनि गरेको छ ।  

4-k4

‘हामीले भएको जग्गा पूर्ण रूपमा सदुपयोग गरेका छौँ, बाझो राखिँदैन,’ निर्देशक यादवले भने ‘हामीले उत्पादन गरेको माछाका भुराहरू किसानहरूको माग धान्नै नसक्ने गरी छ ।’

अनुसन्धानले किसानहरूका लागि धान, मकै, गहुँको बिउ उत्पादन गरेर कृषि सहकारीमार्फत किसानहरूलाई वितरण गर्दै आएको छ ।

निर्देशक यादवले कर्मचारीको आवश्यकता सम्बन्धी अध्ययन भइरहेको र  फागुन २१ को निर्वाचन अघि नै दु्रतमार्गबाट कर्मचारी पदपूर्ति गर्नेगरी मन्त्रालयबाट जानकारी आएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप