बालेनसँग सहमति भएपछि रास्वपाको उम्मेदवार छनोट प्रक्रिया रोकिन्छ ?
सारांश
- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगको सम्झौताले रास्वपाको समानुपातिक उम्मेदवार छनोट प्रक्रियाबारे प्रश्न उठेको छ।
- रास्वपाले ५० प्रतिशत लिडरशिप एकेडेमी र समावेशिताको मापन तथा ५० प्रतिशत पार्टी सदस्यबाट प्राइमरी निर्वाचन विधि अपनाएको छ।
- सहमहामन्त्री विपिन आचार्यले बालेनसँगको सम्झौताले निर्वाचन प्रक्रियामा असर नगर्ने र उम्मेदवार छनोटमा समायोजन गर्न सकिने बताए।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग भएको ७ बुँदे सम्झौताका कारण राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को समानुपातिक उम्मेदवार छनोट प्रक्रिया के हुन्छ भन्नेमा प्रश्न उठेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि रास्वपाले कात्तिक २२ गतेदेखि समानुपातिक उम्मेदवार छनोटका लागि आह्वान गरेको थियो ।
रास्वपाले ५० प्रतिशत लिडरशिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशिताको मापन र ५० प्रतिशत पार्टी सदस्यबाट प्राइमरी निर्वाचन विधि मार्फत उम्मेदवार छनोट प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । शनिबार बिहान ७ बजेदेखि अनलाइनमार्फत प्राइमरी निर्वाचन चलिरहेको छ ।
तर आइतबार बिहान रास्वपा र बालेनबिच सम्झौता भएपछि निर्वाचन प्रक्रिया के हुनेमा प्रश्न उठेको हो ।
यद्यपि बालेनसँग भएको सम्झौताले निर्वाचन प्रक्रियामा कुनै असर नपर्ने सहमहामन्त्री विपिन आचार्यले जिकिर गरे । बालेनले रास्वाकै विधि, विधानलाई मानेर सम्झौता गरेकाले निर्वाचन प्रक्रियामा कुनै असर नपर्ने उनेको तर्क छ । उम्मेदवार छनोट रूपरेखाको अन्त्यमा कुन सम्भाव्य उम्मेदवार संख्याको २० प्रतिशत ननाघ्ने गरी हेरफेर गर्न सक्ने अधिकार सचिवालय सदस्य र केन्द्रीय समितिलाई दिएकोले बालेन समूहलाई समायोजन गर्न समस्या नहुने आचार्यले स्पष्ट पारे ।
‘पहिलो कुरा बोलेनजीले रास्वपाकै विधि र विधान मानेर सहमतिमा हस्ताक्षर गर्नुभएको छ । उहाँ अब रास्वपाकै सदस्य हुनुभएको छ । अर्को कुरा पार्टीको उम्मेदवार छनोट प्रक्रिया अन्तिम चरणमा पुगे पनि एकतामा आउने पक्षलाई समेट्नका लागि उम्मेदवार छनोट रूपरेखाको अन्त्यमा २० प्रतिशत ननाघ्ने गरी हेरफेर गर्ने विशेष अधिकार पार्टी सचिवालय र केन्द्रीय समितिलाई दिएको छ । त्यसैले कुनै समस्या हुँदैन’, उनले रातोपाटीसँग भने ।
निर्वाचन आयोगले रित पुर्याएर समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय भोलिसम्मको समय दिएको छ । सातबुँदै सम्झौता अनुमोदन गर्नका लागि बेलुकासम्म केन्द्रीय समितिको बैठक बस्न सक्ने आचार्यले जानकारी दिए । बैठकले नै बालेन समूहलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय लिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण