बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रास्वपा–बालेन सहमति

रवि–बालेन मिलन : ‘जङ्क पोलिटिक्स’को बजार फस्टाउने सङ्केत !

कांग्रेस, एमाले र नेकपा लगायतका पुराना दललाई दबाब
आइतबार, १३ पुस २०८२, १२ : २२
आइतबार, १३ पुस २०८२

सारांश

  • रवि लामिछाने र बालेन शाहबीच आगामी निर्वाचनमा चुनावी सहकार्य हुने सहमति भएको छ।
  • सहमतिमा रास्वपाकै चुनाव चिन्ह र नीति रहने, बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने उल्लेख छ।
  • एमाले नेता शंकर पोखरेलले यसलाई नेपाललाई अस्थिर बनाउने षड्यन्त्रको दोस्रो तयारी भनेका छन्।

काठमाडौँ । ‘एमाले र कांग्रेस मिलेर चुनाव लड्यो भने प्रत्यक्षतर्फको १६५ सिटमध्ये १५० भन्दा बढ्ता सिटमा चुनाव जित्छन्’, केही दिन पहिला नेपाली कांग्रेसका नेता श्याम घिमिरेले एउटा अन्तरवार्तामा भनेका थिए, ‘यो कन्फर्म हो । कुरा गरेर हुन्छ ? डिस्कोर्डमा प्ले गरेजस्तो हुन्छ ? सामाजिक सञ्जालमा खेलेजस्तो हुन्छ ?’

रवि लामिछाने र बालेन शाहहरू मिलेर लड्दा चुनावी परिणाम के कस्तो आउला र कांग्रेस एमालेको हालत के होला ? भन्ने प्रश्नमा घिमिरेले यस्तो दाबी गरेका थिए । नभन्दै घटनाक्रमले रवि र बालेन मिलेका छन् । अर्थात् एउटै पार्टीमा आबद्ध हुने सहमति नै गरेका छन् ।  

शाह र लामिछानेबिचको सहमति र मिलनले नेपाली राजनीतिमा एक किसिमको हलचल ल्याइदिएको छ ।

यो मिलनले पुराना र दशकौँदेखि राज्यसत्ता सञ्चालन गर्दै आएका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट जस्ता पार्टीलाई सन्निकट रहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा चुनावी सहकार्य गर्न र विगतमा उनीहरूमाथि लाग्दै आएको रूपान्तरण र पुस्तान्तरणप्रतिको अनिच्छाको ट्याग फेर्न समेत दबाब बढाएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

rabi balen

लामिछाने र शाहबिच फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य लक्षित ७ बुँदे सहमति गरिएको छ । जसको चुनाव चिन्ह, झण्डा र पार्टी नीति रास्वपाकै हुनेमा बालेन सहमत भएका छन् । यसको अर्थ हो–बालेन साह रास्वपाले मान्दै आएको नीति कार्यक्रम र विचार मान्दै उक्त पार्टीको नेता बन्न बन्ने भएका छन् । चार वर्ष अघिमात्र पार्टी खोलेका रविले आगामी फागुन २१ मा हुने निर्वाचनपछिको प्रधानमन्त्रीमा बालेनलाई अघि सार्ने दुई नेताको सहमति नै छ ।

जनेजी आन्दोलनताका नै प्रधानमन्त्रीमा अत्यधिक रुचाइएका भनिएका बालेनको अनुहार अघि सारेर रास्वपाले बहुमत ल्याउने प्रयत्न गर्नेछ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने’, रवि र शाहबिच भएको सात बुँदे सहमतिपत्रको ४ नम्बर बुँदामा भनिएको छ ।

लामिछाने र बालेनले हस्ताक्षर गरेको सहमतिपत्रमा नेपालको समतामूलक उन्नतिप्रति कटिबद्ध, सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्ने उल्लेख छ । आम नागरिकका आकाङ्क्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूबिच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई आत्मसात् गर्दै दुवै पक्ष एकताका लागि सहमत भएको जनाएका छन् ।

rabi balen (2)

त्यसबाहेक सहमतिको पहिलो बुँदामा जेनजी आन्दोलनको अपनत्व पनि रास्वपाले नै लिने कुरा उल्लेख छ ।

रवि र बालेनबिच भएको यो सहमतिपछि नेपाली राजनीतिमा क्रिया प्रतिक्रिया आउने क्रम जारी छन् । कतिपयले यसलाई सकारात्मक भनेर स्वागत गरेका छन् त कतिले स्पष्ट नीति, कार्यक्रम र विचार अभावको मिलनको संज्ञा दिएका छन् ।

राजनीतिक विश्लेषक केशव दाहालको विश्लेषणमा लामिछाने र शाहबिचको मिलनको परिणाम पपुलिजम् बढ्ने अर्थात् अबको १० वर्षजति ‘जङ्क पोलिटिक्स’ बजार फस्टाउने निश्चित छ ।

‘जिउँदो मान्छेसँग जीवन हुन्छ र त्यसलेमात्र दबाब महसुस गर्छ । जसको जीवन नै सकिएको ‘मुर्दा’ले कुनै दबाब महसुस गर्दैन’, पुराना पार्टीलाई ‘मुर्दा’को संज्ञा दिएका दाहालले पुराना पार्टीहरूमा कुनै जीवन नदेखिएको बताए ।

‘अव ‘पपुलिजम्’ अझै केही समय तन्किँदै जान्छ । जसलाई मैले ‘जङ्क पोल्टिक्स’ भन्ने गर्छु । त्यसैले केही समय जङ्क पोल्टिक्सको बजार फस्टाउँछ’, दाहाल भन्छन्, ‘रवि र बालेनहरुले बुद्धि पुर्‍याएको खण्डमा, समय र अनुभवले पनि परिपक्व बनाउँदै लैजाला, एजेण्डामा काम गर्दै अघि बढ्नुहोला । यदि बुद्धि पुर्‍याउन सक्नुभएन भने कम्तीमा हाम्रो राजनीति १० वर्ष सग्लिँदैन ।’

दाहालको बुझाइमा यसले पुराना र परम्परागत भनिएका कांग्रेस एमाले जस्ता दलहरूलाई चुनावी गठजोड गर्न रवि बालेनको मिलने स्वाभाविक दबाब सिर्जना पनि गरेको छ ।

‘जिउँदो मान्छेसँग जीवन हुन्छ र त्यसलेमात्र दबाब महसुस गर्छ । जसको जीवन नै सकिएको ‘मुर्दा’ले कुनै दबाब महसुस गर्दैन’, पुराना पार्टीलाई ‘मुर्दा’को संज्ञा दिएका दाहालले पुराना पार्टीहरूमा कुनै जीवन नदेखिएको बताए ।

‘यदि जीवन थियो भने जेनजी आन्दोलन र त्यसका अपेक्षा, भदौ २३ र २४ गते भोगेको सङ्कटबाट पाठ सिक्नुपर्ने, गठन/पुनर्गठन र नयाँ आकार दिनुपर्ने होइन र ?’, प्रश्न गर्दै दाहालले भने, ‘तर मुर्दा भैसकेका दल फेरिँदैनन् र आफूभित्र चेतना जागृति गर्दैनन् भने सकिने बाहेक अर्को बाटो छैन ।’

नेपालको राजनीतिमा अहिले पुराना र नयाँबिच कित्ताकाटको चर्चा हुने गरेकोमा दाहाल त्यो परिभाषा नै गलत भएको टिप्पणी गर्छन् । ‘नयाँ र पुराना होइन, राम्रो र खराबको कित्ताकाट हुनुपर्ने हो’ दाहालको भनाइ छ ।

दाहालले रवि बालेनहरु सहरी जनता र मतदातामा मात्र केन्द्रित देखिएको भन्दै नेपालका अनेक सङ्कट र नेपाली जनताका दुखमा राजनीतिक समाधान खोज्न सकेर सुसंस्कृत राजनीतिक एजेण्डा प्रवर्द्धनमा लागेमात्र खराब पार्टीको विकल्प हुनसक्ने नत्र कुनै भिन्नता भइहाल्छ भनेर विश्वास गर्न नसकिने बताउँछन् ।

  • के भन्छन् कांग्रेस, एमाले र नेकपा ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने र बालेन शाहबिचको सात बुँदे सहमतिलाई नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको दोस्रो तयारी भएको टिप्पणी गरेका छन् ।

लामिछाने र शाहबिचको सहमति सार्वजनिक भएसँगै पोखरेलले भाद्र २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण रहेको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा पोखरेलले लेखेका छन्, ‘अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुँदैछ ।’ यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुनुपर्ने आवश्यकता बढेको पोखरेलको भनाइ छ । नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सक्रिय भूमिका खेल्नुपर्ने पनि पोखरेलको मत छ ।

भाद्र २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको हत्या गरिएको भन्दै पोखरेलले त्यसको आडमा भाद्र २४ गते मुलुकको अस्मिता र सामर्थ्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरिएको दाबी पनि गरेका छन् । त्यतिबेलाका विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदै गएको भन्दै उनले रवि र बालेनलाई लक्षित गरेका छन् ।

त्यस्तै एमाले उपमहासचिव योगेश भट्टराईले नेपाली राजनीतिमा बाह्य चुनौती थपिएको बताएका छन् । उपमहासचिव भट्टराईले जतिसुकै चुनौती बढे पनि भागेर हैन सामना गरेर अघि बढ्ने दृढता देखाउन पुराना दलहरूलाई चुनौती थपिएको बताएका छन् ।

‘ बाह्य चुनौती बढिरहेको छ । जसको सामना गर्नैपर्छ, भागेर लुकेर हुनेवाला छैन’, भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘आन्तरिक एकता बलियो बनाऔँ । राष्ट्र र जनताका एजेण्डा बोकौँ । विगतका कमजोरीप्रति आत्मालोचित होऔँ । विनम्र बनौँ । कार्यशैली सुधार गरौँ ।’

एमाले सचिव महेश बस्नेतले समस्या पुराना दलको अस्तित्वको नभएको भन्दै तिनको कतिपय विकृतिको भएको बताएका छन् ।

‘नयाँ दल खोल्नु समाधान होइन, पुराना दललाई परिमार्जन गर्दै राजनीति सुधार गर्नु हो । रवि र बालेन केन्द्रित व्यक्तिवादी स्वार्थको अभियान दीर्घकालीन सुधारको स्पष्ट खाकाबिना पार लाग्दैन’, बस्नेतले भने,‘यस्तो गम्भीर घडीमा संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनैपर्छ । नत्र नयाँ बोतलमा पुरानै रक्सी पिइरहँदा हामी फेरि–फेरि उहीँ भ्रमको सिकार भइरहनेछौँ ।’

नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ आशाको रूपमा बेचिने भन्दै बस्नेतले भनेका छन्, ‘गगन आए, जबर्जस्त बासी बनाइए । काण्डै–काण्डका नाइके रवि आए, उनी पनि बासी भए । लोकप्रियताको आडमा बालेन आए—तीन वर्षमा नगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन थालेको छ । अनुहार फेरिँदैमा देश फेरिँदैन भन्ने तथ्य बारम्बार प्रमाणित भइसकेको छ ।’

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले रवि बालेन मिलेर चुनावमा गएपनि जनमत उनीहरूतिर नफर्कने दाबी गरे । ‘एक भएर जाने उहाँहरूको आफ्नो कुरा हो । अहिलेको जटिल परिस्थितिमा परिपक्व देशभर संगठन भएका तथा लोकतन्त्र र जनताको अधिकारका लागि प्रतिबद्ध पार्टी कांग्रेस एमाले नै हुन्’, महतले रातोपाटीसँग भने,‘नयाँ पार्टीहरू जति जोडिए पनि धेरै प्रश्न चिह्न उठेकाले जनमत उल्टिन्छ भन्ने लाग्दैन ।’

नेपाली कम्युनिस्ट पार्टीका नेता अग्नि सापकोटाको बुझाई पनि महतको जस्तै देखिन्छ । ‘हामीलाई कुनै दबाब बढेको छैन । हामी आफ्नो एजेन्डा लिएर जनतामा जान्छौँ’, पूर्व सभामुख समेत रहेका सापकोटा भन्छन्, ‘निर्वाचनमा पूरा आत्मविश्वासको साथ एक्लै जान्छौँ । रास्वपा र बालेनबिच भएको सहमति कुनै नयाँ होइन । पुरानैको निरन्तरता हो । सहमतिले पुराना दललाई खासै फरक पर्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप