शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

रास्वपा–बालेन सहमतिलाई सेयर बजारको स्वागत, नेप्सेमा ४७ अङ्कको उछाल

आइतबार, १३ पुस २०८२, १५ : ३१
आइतबार, १३ पुस २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बिच भएको सहमतिका कारण सेयर बजारमा उछाल आएको छ ।

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको हो । आइतबार बजार ४७.५५ अङ्कले बढेर २,६३३.४२ को विन्दुमा पुगेर बन्द भएको छ । यो १.८३ प्रतिशतको वृद्धि हो । 

आज बजारमा ३२८ कम्पनीका १ करोड ३४ लाख कित्ता सेयर ८९ हजार २५१ पटक किनबेच हुँदा कुल ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य उकालो लागेको छ । कुल सूचीकृत कम्पनीमध्ये २३८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको मूल्यमा गिरावट आएको छ । बाँकी कुनै पनि कम्पनीको मूल्य स्थिर रहेन ।

आज बजारमा सबै समूहका परिसूचक बढेका छन् । डेभलपमेन्ट बैंक र फाइनान्स कम्पनी समूहमा २ प्रतिशत भन्दा माथि बढ्दा म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबैमा एक प्रतिशत भन्दा धेरैको वृद्धि भएको छ । 

आजको बजारको टप गेनरको सूचीमा जलविद्युत कम्पनीहरूको वर्चस्व देखिएको छ । मिड सोलु हाइड्रोपावरमा ९.४९ प्रतिशत, जोशी हाइड्रोपावरमा ६.९७ प्रतिशत, अपर स्याङ्गे हाइड्रोपावर ६.५२ प्रतिशत तथा रुरु जलविद्युतमा ५.१६ प्रतिशत वृद्धि भएको छ । बजारको उच्च वृद्धिका बाबजुद विन नेपाल लघुवित्तको मूल्यमा १० प्रतिशत गिरावटसहित नकारात्मक सर्किट लागेको छ । 

कारोबार रकमका आधारमा आज अपर नेपाल हाइड्रोपावर अग्रस्थानमा रह्यो । यस कम्पनीको २७ करोड ६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो ।

त्यस्तै, मञ्जुश्री फाइनान्सकोको २४ करोड ८९ लाख र सिनर्जी पावरको २२ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप