श्रीमतीले कलेजो दान गर्न अस्वीकार गरेपछि श्रीमानले हाले मुद्दा
सारांश
- दक्षिण कोरियामा कलेजो रोग लागेका श्रीमानलाई श्रीमतीले कलेजो दिन नमानेपछि सम्बन्धमा समस्या आयो।
- श्रीमतीले सुईको डर नभई शल्यक्रियाको जटिलताको डरले कलेजो दिन नमानेको स्वीकार गरिन्।
- अदालतले श्रीमतीको पक्षमा फैसला गर्दै अंगदान व्यक्तिगत स्वतन्त्रताको विषय भएको ठहर गर्यो, तर उनीहरूले सम्बन्धविच्छेद गरे।
सियोल। तीन वर्ष अघि विवाह बन्धनमा बाँधिएका उमेरले ३० को दशकका एक दक्षिण कोरियाली जोडीको जीवन सामान्य र सुखद नै थियो। उनीहरूका दुई साना छोराछोरी पनि थिए।
तर, गएको हिउँदमा श्रीमानलाई ‘प्राइमेरी बिलियरी सिरोसिस’ नामक दुर्लभ कलेजोको रोग देखिएपछि उनीहरूको संसार नै उथलपुथल भयो। चिकित्सकले स्पष्ट शब्दमा भनेका थिए– कलेजो प्रत्यारोपण नभए उनीसँग एक वर्षभन्दा कम समय बाँकी छ।
उपचारका क्रममा जब परीक्षण गरियो, तब उनकी श्रीमती नै सबैभन्दा उपयुक्त दाता (९५ प्रतिशतभन्दा बढी म्याचिङ) देखिएपछि परिवारमा खुसीको सीमा रहेन। तर त्यो खुसी धेरै बेर टिकेन। श्रीमतीले आफूलाई ‘सुई र धारिलो वस्तुको डर’ (फोबिया) भएको भन्दै कलेजो दान गर्न अस्वीकार गरिन्।
त्यसपछि सुरु भयो घरभित्रको मानसिक तनाव। श्रीमानले आफ्नी श्रीमतीको हेरचाह र मायालाई ढोङ भन्दै खिसीट्युरी गर्न थाले। सासूससुराले समेत नातिनातिनीको बाबु मर्न लागेको टुलुटुलु हेरेर बस्न सक्छौ भन्दै उनलाई भावनात्मक दबाब दिए। अन्ततः भाग्यले साथ दियो र एक ‘ब्रेन डेथ’ भएका व्यक्तिबाट कलेजो प्राप्त भएपछि श्रीमानको सफल प्रत्यारोपण भयो।
तर, घटनाले नयाँ मोड तब लियो जब श्रीमानले श्रीमतीको पुरानो मेडिकल रेकर्ड खोतल्न थाले। उनले पत्ता लगाए कि श्रीमतीले विगतमा एपेन्डिसाइटिसको शल्यक्रिया र पटक-पटक रगत परीक्षण सहजै गरेकी थिइन्।
सोधपुछपछि श्रीमतीले स्वीकार गरिन् कि उनलाई सुईको डर नभई शल्यक्रिया गर्दा हुनसक्ने जटिलताको डर थियो। यदि शल्यक्रियाका क्रममा उनलाई केही भइहाले आफ्ना साना सन्तान आमाविहीन हुने डरले उनले कलेजो नदिएको खुल्यो।
यो सुन्नासाथ श्रीमानले श्रीमतीविरुद्ध वैवाहिक कर्तव्य पूरा नगरेको भन्दै अदालतमा मुद्दा हाले। यो विषयले दक्षिण कोरियाली सामाजिक सञ्जालमा ठूलो बहस सिर्जना गर्यो।
तर, अदालतले श्रीमतीकै पक्षमा फैसला सुनायो। अंगदान पूर्णतः व्यक्तिगत स्वतन्त्रताको विषय हो र यसलाई कसैको वैवाहिक बाध्यता वा कानुनी कर्तव्य मान्न नसकिने अदालतको तर्क थियो। आफ्ना बालबालिकाको सुरक्षाका लागि उनले लिएको निर्णयलाई अदालतले स्वाभाविक र जायज ठहर्यायो।
अदालतबाट त श्रीमतीले न्याय पाइन्, तर उनीहरूको सम्बन्ध भने जोगिन सकेन। अन्ततः उनीहरूले सम्बन्ध विच्छेद गर्ने सहमति गरे। हाल ती महिलाले छोराछोरीको संरक्षण आफैसँग राखेकी छिन् भने आफ्नो पूर्व श्रीमानको स्वास्थ्य सुधारका लागि आर्थिक सहयोग समेत जारी राखेकी छिन्। यो घटनाले सामाजिक उत्तरदायित्व र व्यक्तिगत अधिकारको जटिल रेखालाई प्रष्टसँग सतहमा ल्याइदिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण