निकुञ्जका हात्तीको प्रजनन् कसरी गराइन्छ ?
बारा । ‘१६ वर्ष लागेपछि हात्ती (भाले) मा वयस्क उमेर सुरु हुन्छ । यतिबेला हात्तीले माउतेले भनेको अटेर गर्ने, कमजोर माउते छ भने आक्रमण गर्न खोज्छ,’ कोशी टप्पु वन्यजन्तु आरक्षमा ३५ वर्षदेखि माउते भएर काम गरिरहेका जलेन्द्रप्रसाद चौधरी यसै भन्छन् ।
कर्मचारीले सतर्कता नअपनाए ‘बैंस’ लागेको भाले हात्तीले कुनै न कुनै नोक्सान गरिहाल्छ । चौधरीका अनुसार वर्षमा दुईदेखि तीन महिना हात्ती धेरै मात्छ । त्यतिबेला सतर्क भएर चराउने, खुवाउने र घाँस काट्ने गर्नुपर्छ ।
‘यदि हात्तीले भनेको मान्न छोड्यो भने दुई-तीन महिना समातेर बाँधेरै खुवाउनुपर्ने अवस्था हुन्छ,’ चौधरी भन्छन्, ‘कुनै हात्ती एक महिनामा ठीक हुन्छ, कुनैलाई तीन-चार महिनासम्म लाग्छ । चार महिनापछि आफैं सुक्छ र हात्ती सामान्य हुँदै जान्छ ।’ व्यस्क उमेर सुरु भएपछि पोथी (कली) को तुलनामा भाले (गज) बढी उत्ताउलो हुने र माउतेलाई सम्हाल्नै धौ-धौ हुने गर्छ ।
विशेषगरी फागुन-चैतदेखि नयाँ घाँसको पालुवा खाने मौसम (जेठ-असार) सम्म यस्तो स्वभाव देखिन्छ । हात्तीमा वयस्क सुरु भएपछि कञ्चन सुन्निने र पुच्छरमाथिको भाग फुलेजस्तो हुने गर्छ । शारीरिक रुपमा यस्तो परिवर्तन देखिएपछि माउतेले हात्तीमा अब वयस्क उमेर सुरु भयो भनेर बुझ्नुपर्छ । यस्तो सुरुवाती अवस्थालाई ब्रह्ममात भनिन्छ ।

‘हात्तीले आफूखुसी गर्न थालेपछि दानापानी, घाँस, चरिचरनमा कम गरेर आफ्नो नियन्त्रणमा राख्नुपर्छ,’ चौधरीले भने, ‘खाएरै मातिरहेको छ भने उसलाई डाइट झन् बढी खुवाइदियो भने घर भत्काउँछ, जसलाई पायो त्यसलाई हानिहाल्छ ।’
चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा ३५ वर्ष हात्तीकै सेवामा काम गरेका चौधरी हाल नायब सुब्बा पदमा कोशी टप्पुमा कार्यरत छन् । दानापानी खुवाउने र चरिचरनमा लैजाँदा माउतेले हात्तीको कन्चटमा खुट्टा राख्नसाथ हात्तीले माउतेको स्वभाव पत्ता लगाउँछ । माउते धेरै फेरिँदा हात्तीले भनेको नमान्ने, आक्रामक हुने गर्छ ।
पर्सा राष्ट्रिय निकुञ्जमा अम्लेखगञ्ज,प्रतापपुर र भाटा हात्तीसारमा गरी १० वटा घरपालुवा हात्ती छन्, जसमध्ये ८ वटा पोथी र २ वटा भाले छन् । निकुञ्जले पालेका घरपालुवा भाले हात्ती धेरै बदमास हुने भएकाले कलीहरुलाई गर्भधारण गर्न जंगली हात्ती लगाइने पर्सा राष्ट्रिय निकुञ्जका माउते वशिष्टकुमार सिंहले जनाएका छन् ।

‘घरपालुवा भाले हात्तीलाई पोथीसँग राखिदियो माउतेले भनेको मान्दैन । मान्छे चढेको बेला हान्न खोज्छ, चढ्न खोज्छ,’ माउतेको रूपमा कार्यरत सिंहले भने, ‘घरपालुवा भाले हात्तीलाई बैंस लागेपछि बाँधेरै राख्नुपर्छ ।’ निकुञ्जले पालेका सरकारी हात्तीलाई गर्भधारणका लागि बर्सेनि जंगली हात्ती हात्तीसारमा आउने गर्छ ।
‘हात्ती १७/१८ वर्ष लागेपछि मात्छ, आफ्नो मान्छेको कुरा पनि टेर्दैन । २/३ महिना मातेको अवस्थामा बाँधेरै घाँस, दाना पानी दिने हो,’ सिंहले भने, ‘अलिकति मात कम भएपछि मात्रै चरिचरनमा लगिन्छ ।’ सामान्यतया जंगली हात्ती गर्भधारणका लागि हिउँद महिनामा हात्तीसारमा आउने गर्छ ।
पर्सा निकुञ्जमा भएका आठवटा पोथी हात्तीमध्ये चारवटा ६० कटेका छन् भने बाँकी चारवटा वयस्क पोथी हात्ती छन् । हाल निकुञ्जमा दुईवटा गर्भवती हात्ती छन् । निकुञ्जले प्रजननका लागि हात्तीहरुलाई मकवानपुरको प्रतापपुरमा राखेर सुत्केरी महिलालाई जस्तै गरी स्याहारसुसार गर्छ । पोथी हात्तीमा ११ वर्ष र भाले हात्तीमा १६ वर्ष लागेपछि वयस्कपन सुरु हुने र ४०/४५ वर्षसम्म रहने माउते सिंह बताउँछन् ।
हात्तीको गर्भाधान समय २२ देखि २४ महिनाको हुन्छ । हात्तीको पोथीलाई कली र भालेलाई गज भनिन्छ । नेपालमा हाल १८५ वटा घरपालुवा हात्ती छन्, जसमध्ये पर्सा,चितवन,बाँके, बर्दिया र शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा १०५, निजी क्षेत्रसँग ७३ र राष्ट्रिय प्रकृति संरक्षण कोषसँग सातवटा हात्ती छन् । यी हात्तीलाई पर्यटकहरुको आकर्षणको रुपमा प्रयोग गर्दै जंगल सफारी (जंगल घुमफिर) गर्ने गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटनरी अधिकृत डा. किरण रिजाल नेपालमा भएका घरपालुवा भाले हात्ती नियन्त्रण गर्न नसक्ने भएकाले प्रजननका लागि जंगली हात्तीकै भर पर्नुपर्ने बताउँछन् ।
‘कोशी, बर्दिया, पर्सा, सौराहा जहाँ जन्मिएको भएपनि गर्भाधारण गर्ने जंगली हात्तीबाट नै हो,’ रिजाल भन्छन्, ‘प्रजननका लागि भाले हात्तीलाई राम्रो डाइट खुवाउनुपर्छ, डाइट खाएपछि त्यसलाई नियन्त्रण गर्नै सकिँदैन । त्यसैले प्रजननकै लागि हामीले भाले हात्ती पाल्न सकको छैन ।’ हात्तीमा पछिल्लो पाँच वर्षदेखि ६ वर्षको जन्मदर अध्ययन गर्दा बर्सेनि तीनवटा नयाँ कली/गजको जन्म हुने उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण