बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपाको बन्दसूचीमा गण्डकीका १० उम्मेदवार बालेन टीमबाट प्रकाश सपुत मात्रै

मङ्गलबार, १५ पुस २०८२, १३ : ४५
मङ्गलबार, १५ पुस २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकी प्रदेशमा समानुपातिकतर्फ १० जनाको नाम बन्दसूचीमा राखेको छ।
  • सूचीमा तनहुँबाट ३ र कास्कीबाट २ जना परेका छन् भने नवलपुरबाट भने कोही पनि छैनन्।
  • उम्मेदवार छनोटमा असन्तुष्टि रहेको र भूगोललाई बेवास्ता गरिएको गुनासो पार्टीभित्र उठेको छ।

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा गण्डकी ११० मध्ये जम्मा १० जनाको नाम समेटिएको छ ।

रास्वपा मुस्ताङका जिल्ला सभापति सुरेश गुरुङ, स्याङ्जाका भूमिबहादुर गुरुङ, तनहुँका मनकाजी श्रेष्ठ, डा. रूपक विक घिमिरे र किशोर गन्धर्व, गोरखाकी एलिजा गुरुङ, कास्कीकी विष्णुकुमारी गुरुङ र समिउन मुस्लिम, म्याग्दीका दिपककुमार बोगटी, बाग्लुङका कलाकार प्रकाश सपुतलाई समानुपातिक उम्मेदवारको सूचीमा समेटेको गण्डकी प्रदेश महामन्त्री नवीन त्रिपाठीले जानकारी दिए ।

प्रदेशका ११ जिल्लामध्ये तनहुँबाट मात्रै ३ जना र कास्कीबाट २ जना परेका छन् । रास्वपाको आधार क्षेत्र बनेको नवलपुरबाट भने एकजना पनि समानुपातिक उम्मेदवार समेटिएका छैनन् । प्रदेश सभापति राजन गौतमका अनुसार रास्वपाले गण्डकी प्रदेशलाई समानुपातिकमा १३ जना कोटा तोकेको थियो । ‘सबै शक्तिलाई मिलाउने क्रममा यस्तो भएको हुन सक्छ । म पनि बुझ्दैछु । खासै धेरै कुरा भएको छैन,’ उनले भने ।

रास्वपामा उज्यालो नेपाल पार्टी र काठमाडौँका मेयर बानेन्द्र (बालेन) साहको समूह गाभिएको छ । यसले गर्दा पनि उम्मेदवार तलमाथि परेको बताइएको छ । बन्दसूचीमा रहेका प्रकाश सपुत बालेन साहको टीमबाट परेको बताइएको छ । बालेन निकट गनेस पौडेल केही नाम पठाइएको भएपनि अहिलेको सूचीमा नदेखिएको बताउँछन् । ‘कोशिस गरें । केही नाम पठाएको पनि हो,’ उनले भने, ‘अहिले सूचीमा नाम छैन ।’

उज्यालो नेपाल पार्टीबाट गण्डकीका एकजना पनि समानुपातिक सूचीमा अटेनन् । पार्टीका प्रदेश इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य कुशल गुरुङले केही नाम पठाइएको भएपनि सूचीमा छुटेको जानकारी दिए । ‘पार्टीले आवेदनबाटै नाम मागेको थियो । केही नामहरु गएका थिए । अहिले सूचीमा छैन,’ उनले भने, ‘एकताको हतारोले भुगोल छुटेको हुन सक्छ । अब प्रत्यक्षतर्फ न्याय हुने विश्वास छ ।’ रास्वपाको पूरा हिस्सामा १८ जना समानुपातिक सांसदको सूची उज्यालो नेपाल पार्टीबाट छ ।

रास्वपाकै एक नेताले उम्मेदवारको सूचीमा पार्टीभित्र असन्तुष्टि रहेको बताए । ‘उम्मेदवार छनोटमा केही समस्या देखिएको छ । केही त अरू शक्तिलाई मिलाउँदा पनि समस्या भयो होला । तर, भूगोललाई पटक्कै ख्याल गरिएको देखिएन,’ उनले भने, ‘धेरै उम्मेदवार चितवन र मोरङमा केन्द्रित गरिएको छ । यो अलि राम्रो भएन भन्ने धेरैलाई लागेको छ ।’ २०७९ को चुनावमा रास्वपाले गण्डकीबाट मात्रै १ लाख ७७ हजार २५ मत ल्याएको थियो । तीमध्ये कास्की र नवलपुरको सर्वाधिक योगदान छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप