बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
निर्वाचन

राष्ट्रिय सभाको १८ सिटका लागि तालमेलको गृहकार्यमा दलहरू

बिहीबार, १७ पुस २०८२, १३ : ५४
बिहीबार, १७ पुस २०८२

सारांश

  • राष्ट्रिय सभा निर्वाचनका लागि राजनीतिक दलहरू तालमेलको प्रयासमा जुटेका छन्, जसमा कांग्रेस, एमाले, नेकपा र मधेसवादी दलहरूबीच छलफल भइरहेको छ।
  • निर्वाचन माघ ११ गते हुँदैछ, जसमा १८ सदस्यका लागि मतदान हुनेछ र एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुनेछन्।
  • एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका पुष्पकमल दाहालले पनि कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

काठमाडौँ । राजनीतिक दलहरू माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि तालमेल गर्ने प्रयासमा जुटेका छन् । राष्ट्रिय सभाको एक तिहाइ सदस्यका लागि हुने निर्वाचनका लागि दलहरूले तालमेलको प्रयासस्वरुप छलफललाई अगाडि बढाएका हुन् । 

१८ सदस्यमा तालमेल गर्न नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र मधेसवादी दलहरूबिच समेत प्रयास भइरहेको हो ।  ५९ सदस्यीय राष्ट्रिय सभाको एक तिहाइ १९ सदस्यको फागुन २० गतेदेखि म्याद सकिँदै छ । त्यी सदस्यहरूको पदपूर्तिका लागि माघ ११ गते १८ सदस्यको निर्वाचन हुँदै छ । एक जना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । 

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय सभा निर्वाचनका लागि दलहरूसँग तालमेलको प्रयास भइरहेको बताए । उनले सभापति शेरबहादुर देउवाले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र मधेसवादी दलहरूबिच कुराकानी गरिरहेको जानकारी दिए ।

 ‘राष्ट्रिय सभा निर्वाचनका लागि तालमेलको प्रयास भइरहेको छ । सभापतिजीले एमाले, नेपाली कम्युनिस्ट पार्टी र मधेसवादी दलका नेताहरूसँग कुराकानी गरिरहनु भएको छ,’ प्रवक्ता डा. महतले रातोपाटीसँग भने, ‘कसैसँग सहमति भइसकेको छैन । प्रयास जारी छ ।’

सभापति देउवालाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली दुई पटक देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । ओली मंसिर १९ गते श्रीमती राधिका शाक्यलाई लिएर देउवा भेट्न उनकै निवास महाराजगन्ज पुगेका थिए । पुस ७ गते फेरि ओली पार्टी महासचिव शंकर पोखरेललाई देउवा भेट्न महाराजगन्ज नै पुगेका थिए । ती दुई भेटमा राष्ट्रिय सभा निर्वाचनमा तालमेल र संविधान तथा गणतन्त्र बचाउने विषयमा छलफल भएको नेताहरू बताउँछन् । 

ओली मात्रै होइन, नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि देउवालाई उनकै निवास महाराजगन्जमा पुगेर भेटेका छन् । आफूले कहिले भेटेको हो भन्ने नखुलाए पनि देउवा निवास महाराजगन्जमा पुगेर भेटेको प्रचण्डले एक अन्तर्वार्तामा बताएका छन् । कांग्रेस नेताहरू त्यो भेटवार्तामा राष्ट्रिय सभा निर्वाचनमा तालमेलबारे कुराकानी भएको बताउँछन् । 

एमालेका नेताहरू पनि राष्ट्रिय सभा निर्वाचनमा तालमेलको प्रयास भइरहेको स्विकार्छन् । एमाले सचिव राजन भट्टराईले राष्ट्रिय सभा निर्वाचनको मिति नजिकिएपछि सहकार्यबारे कुराकानी भइरहेको बताए ।

 ‘राष्ट्रिय सभा निर्वाचन नजिकिँदै गएको छ । हामीले सहकार्यका लागि दलहरूसँग छलफल गरिरहेका छौँ,’ सचिव भट्टराईले रातोपाटीसँग भने, ‘हामीले नेपाली कांग्रेससँग तालमेलका लागि कुराकानी गरिरहेका छौँ ।’ 

उनले कहिले कहाँ कुन–कुन नेताबीच कुराकानी भएको हो भन्नेबारे भने खुलाएनन् । 

नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले मंसिर ११ गते राष्ट्रिय सभागृहमा आयोजित एकता सभामा लोकतान्त्रिक शक्तिबिच मोर्चाबन्दी गर्ने विषयमा नेपाली कांग्रेससँग छलफल जारी रहेको बताएका थिए । तर, सो पार्टीका नेता हरिबोल गजुरेलले कांग्रेससँग चुनावी तालमेलको विषयमा छलफल नभएको बताउँछन् । उनले राष्ट्रिय सभा निर्वाचन सम्बन्धमा आवश्यकता अनुसार मधेस केन्द्रित दलहरूसँग तालमेल हुनसक्ने बताए । 

‘राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग तालमेल गर्ने विषयमा छलफल भएकोजस्तो मलाई लाग्दैन । शीर्ष तहमा टेलिफोन वार्ता हुनु सामान्य नै हो । मधेस प्रदेशको हकमा आवश्यकता अनुसार मधेसवादी दलहरूसँग छलफल हुन पनि सक्छ । यद्यपि पार्टीले चुनावी तालमेल गर्ने विषयमा ठोस निर्णय गरेको छैन’, रातोपाटीसँग गजुरेलले भने ।

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय छुट्याएको छ । पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ बजेदेखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका आयोगले कात्तिक ३० गते नै प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिइसकेको छ । 

उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने दिन नजिकिन लागेपछि दलहरू तालमेलको प्रयासमा लागेका हुन् । 

पदावधि सकिन लागेका १९ सांसदहरूमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ जना छन् । राष्ट्रपतिबाट मनोनीत सांसद बामदेव गौतमको कार्यकाल फागुन २१ गते सकिन लागेको हो । गौतम अहिले नेपाली कम्युनिस्ट पार्टीका नेता हुन् । 

फागुनमा बिदा हुने एमालेका सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदादेवी भट्ट र सुमित्रा बीसी छन् ।

बिदा हुने माओवादी सांसदहरूमा गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलबासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् ।

एकीकृत समाजवदीबाट डा. बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंह पनि फागुनमा बिदा हुँदैछन् । 

Capture

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख मतदाता हुन्छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १९ तोकिएको छ । २०७९ मा भएको निर्वाचनमा स्थानीय तहमा कांग्रेस, एमाले र तत्कालिन माओवादी केन्द्र क्रमशः पहिलो, दोस्रो र तेस्रो दल छन् । 

आयोगका अनुसार कोशी प्रदेशमा ३, मधेस प्रदेशमा ४, बागमती प्रदेशमा २, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ३, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिममा २ जना गरी १८ जनाको निर्वाचन हुन लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप