लन्डनमा नेपाली समुदायले मनाए ‘राष्ट्रिय टोपी दिवस’
सारांश
- लन्डनमा नेपाली समुदायले नयाँ वर्षको पहिलो दिन राष्ट्रिय टोपी दिवस मनाए।
- हन्स्लो हाइस्ट्रिटमा सांस्कृतिक पदयात्रा गर्दै नेपाली पहिचान र ऐक्यबद्धता प्रदर्शन गरियो।
- कार्यक्रमले नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने र एकताको भावना जगाउने उद्देश्य राखेको थियो।
लन्डन । अङ्ग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिन लन्डनमा बसोबास गर्ने नेपाली समुदायले आफ्नो मौलिक पहिचान झल्काउने उद्देश्यसहित ‘राष्ट्रिय टोपी दिवस’ भव्य रूपमा मनाएका छन्।
नेपाली संस्कृति, पहिचान र गौरवलाई विश्वस्तरमा चिनाउने उद्देश्यले वेस्ट लन्डनको हन्स्लो हाइस्ट्रिटमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। बिहान ११ बजे हन्स्लो हाइस्ट्रिटस्थित नेपालीद्वारा सञ्चालित काठमाडौँ जोन रेस्टुरेन्ट नजिक भेला भएका सहभागीहरूले ल्याम्टन पार्कसम्म सांस्कृतिक पदयात्रा गरेका थिए।
पदयात्रामा सहभागीहरूले ‘नेपाली पहिचान, हाम्रो गौरव’ र ‘सांस्कृतिक पदयात्रा र नेपालीको ऐक्यबद्धता’ जस्ता नारा लगाएका थिए। ढाका र भादगाउँले टोपीमा सजिएर नेपाली झन्डा बोकेका नेपालीहरूको बाक्लो उपस्थितिले लन्डनको सडकमा छुट्टै नेपालीपनको रौनक थपेको थियो। कार्यक्रममा नेपाली महिलाहरू पनि ढाका टोपीमा सजिएर उत्साहजनक रूपमा सहभागी भएका थिए।
कार्यक्रम संयोजक कमल कँडेलले प्रवासमा रहेर पनि नयाँ पुस्तालाई नेपाली संस्कृतिसँग जोड्न र राष्ट्रिय भावना अभिवृद्धि गर्न यो दिवस मनाइएको बताए। उनले भने, “हाम्रो टोपी हाम्रो शान हो। अङ्ग्रेजी नयाँ वर्षको सुरुवातसँगै आफ्नो मौलिक पहिचानको स्मरण गर्नु गौरवको कुरा हो।” त्यसैले नयाँ वर्ष र टोपी दिवसको फ्यूजनको रूपमा यो कार्यक्रम आयोजना गरिएको उनले स्पष्ट पारे।
कँडेलले आगामी दिनमा अन्य मौलिक चाडपर्वहरू पनि सामूहिक रूपमा मनाइने जानकारी दिँदै विशेषगरी आगामी फागु पूर्णिमामा नेपाली समुदायलाई पुनः यसरी नै भेला गराएर फागु पर्व मनाउने लक्ष्य रहेको उल्लेख गरे।

वि.सं. २०७० सालदेखि औपचारिक रूपमा मनाउन थालिएको ‘राष्ट्रिय टोपी दिवस’ आज विश्वभर छरिएका नेपाली समुदायमा लोकप्रिय बन्दै गएको छ। नेपालको इतिहास, राजनीति र कूटनीतिसँग अन्योन्याश्रित सम्बन्ध रहेको नेपाली टोपीलाई एकताको प्रतीकका रूपमा लिने गरिन्छ।
लन्डनमा आयोजित यस कार्यक्रमले बेलायतमा बसोबास गर्ने नेपालीहरूबिच एकताको भावना र सांस्कृतिक चेतनालाई अझ प्रगाढ बनाएको सहभागीहरूले बताएका छन्। लन्डनका अतिरिक्त बेलायतका अन्य विभिन्न स्थानहरूमा पनि नेपालीहरूले अङ्ग्रेजी नयाँ वर्षसँगै टोपी दिवस मनाएका समाचारहरू प्राप्त भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण