कीर्तिपुरले चिन्न नसकेको शिवशरण
कीर्तिपुरको चुनावी इतिहासमा, साविक माओवादीले एमाले र कांग्रेसको तुलनामा कमै मत प्राप्त गर्ने गरेको छ । यसकारण २०७९ को चुनावमा माओवादी पार्टीभित्र, कांग्रेस र एमालेको मेयर उम्मेदवारलाई हराउन एक लोकप्रिय र भिजनवाला मेयर उम्मेदवारको खाँचो थियो । यही चुनौतिपूर्ण अवस्थामा ल्याइएको उम्मेदवार थियो– प्रा.डा.शिवशरण महर्जन ।
बेदाग छविको प्रोफेसर महर्जन राजनीतिक प्राणी त थिएनन्, तर उनको सामाजिक स्वच्छता र समाजसेवा कीर्तिपुरको लागि अनुकरणिय थियो । बिडम्वना, उनी पहिलो चुनावमा पराजित भए । कीर्तिपुरमा फेरि २०८१ मा उपनिर्वाचन भए । यो पटक पनि प्रा.डा.शिवशरण महर्जन नै उम्मेदवार हुनुपर्छ भन्ने आवाजलाई सुनुवाइ गर्दै उनले फेरि एकपटक उम्मेदवारी दिए । यो पटक भने उनी कांग्रेसको मेयरसँग एकदम झिनो मतले हारे । यसरी कीर्तिपुरको मेयरको चुनावमा झिनो मतले उनी दुई पटक लगातार पराजित भए । महर्जनको हारलाई यो पनि भन्न सकिन्छ कि, बिद्यार्थीहरुलाई सेतोपाटीमा मार्करले सिधा रेखा कोर्दै आएका प्रोफेसर महर्जनले चुनाव जित्न के कस्ता बक्ररेखा कोर्नु पर्छ भन्ने तिकडम जानेनन् ।
कीर्तिपुरमा मेयर त निर्वाचित भए तर सोचेको जस्तो कीर्तिपुर परिवर्तन भएन । आज आएर कीर्तिपुरका मतदाताहरु ‘कीर्तिपुरमा प्रा.डा. शिवशरण निर्वाचित हुन नसक्नु, कीर्तिपुरका लागि बिडम्वना’ भन्न थालेका छन् । ‘म कुनै तलव लिन्न’ स्पष्ट उदघोषले उम्मेदवारी दिएका महर्जन हक्की स्वभावका छन् । ‘मलाई राजनीतिक पदको लागि तलब चाहिँदैन । पैसा कमाउने नै हो भने मलाई किन राजनीति गर्ने ? व्यवसाय गर्नुपर्छ । राजनीति विशुद्ध सेवाका लागि हुनुपछ र्। राजनीतिक पद बिना पनि समाजसेवा गर्न सकिन्छ । आफ्नै अख्तियारको स्रोत साधनबाट गर्नु र अरुसँग हात थापेर गर्ने सेवामा फरक हुन्छ । मेयर भएमा कीर्तिपुर विकासको मसँग पुरा भिजन भएकोले म कीर्तिपुरको नगरपालिकाको चुनावमा दुईपटक होमेको हुँ ।’ भन्ने शिवशरण महर्जन बोलीअनुसार ब्यवहार प्रदर्शित गर्ने ब्यक्तित्वको रुपमा कीर्तिपुरमा चिनिन्छ ।
उनको युवावर्गलाई हेर्ने उदार दुष्टिकोण छ । पेशा नै युवाको भविष्य निर्माण भएर होला, जेनजी आन्दोलनलाई पनि उनले लोकप्रिय अभिब्यक्ति खर्चेका छन्, ‘जेनजी आन्दोलनले राजनीतिबाट वितृष्णा भएको युवा पुस्तालाई राजनीतितर्फ आकर्षित गरेको छ । यो एउटा देशको लागि ठूलो उपलब्धि हो । युवा पुस्ता यसरी खुलारुपमा राजनीतिमा सहभागी हुने हो भने भोलिको दिनमा युवा पलायतामा निकै ह्रास आउनेछ ।’
उनको विचार सुन्ने हो भने सुनुँ सुनुँ लाग्ने प्रभावकारी छ । ‘सुशासन स्थापनाको लागि कुनै बजेट चाहिँदैन, न त पैसा । त्यो केही थान नीति र नियमले तयार गर्न सकिन्छ । कीर्तिपुर नगरपालिका सुशासनमा चुकेको छ । ठेक्कापट्टामा ठेकेदारलाई स्वच्छ प्रतिस्पर्धाले बिना भ्रष्टाचार काम गर्न दिनुपर्छ । एउटा ठूलो सडक निर्माणको भ्रष्टाचारलाई मात्र कटौती गरे पनि अर्को साना साना सडक निर्माणको लागि बजेट पुग्छ । नेता र कर्मचारीहरु पनि कमिसन खोज्ने र ठेकेदारले पनि सबैलाई रिझाउने गलत प्रवृत्तिले गर्दा देश भ्रष्ट भएको हो’भन्दै स्पष्ट धारणा राख्ने प्रा.डा.शिवशरण महर्जनले जीवनमा लामो समय वामपन्थी राजनीति गरे ।
उनले आफ्नो लामो वामपन्थी राजनीतिक जीवनमा पदमरत्न तुलाधरदेखि मदन भण्डारीलाई निर्वाचित गर्न अहोरात्र खटे । प्रजातान्त्रिक रगत नसा नसामा प्रवाहित भएकोले, पञ्चायत कालमा पनि साहसपूर्वक नेपालभाषा आन्दोलन, सामाजिक सेवा र वाम आनदोलनमा सक्रिय भएर २०३६ सालको जनमत संग्रहमा बहुदलमा भोटिङ्ग गर्नका लागि लबिङ गरे । पेशाले प्राध्यापक भए पनि आस्थाले बामपन्थी भएको हुनाले, आन्तरिकरुपमा कहिले चौथो महाधिवेशन, कहिले एकता केन्द्र, कहिले स्वतन्त्र वाम त माओवादीको जननपछि माओवादमा आफनो आस्था जोड्न पुग्यो । २०३६ सालपछिको देशमा भएको हरेक आन्दोलनमा प्रत्यक्ष—अप्रत्यक्षरुपमा आफ्नो तनमन जोडयो । यस्तै प्रजातान्त्रिक उत्सर्गको उपज, कालोपाटी साक्षी भएर, विश्वबिद्यालयकै अडियटरीम हलबाट गिफतारी दिएर एक दिन कैद भएको कालो स्मरण उनमा छ । त्यस्तै २०३८ सालको आम चुनाव वहिस्कारको क्रममा कीर्तिपुरडाँडाँको नेतृत्व गर्नेक्रममा धरपकड हुँदा एक हप्ता भन्दावढी भूमिगत भएको स्मरण पनि छ ।
राजनीतिसँगसँगै आफ्नो समुदायको विकासको लागि गरेको योगदानको फेहरिस्त पनि लामै छ । कीर्तिपुरको राजनैतिक, सामाजिक, शैक्षिक, खेलकूद आदिमा लागिरहेको बेला समुदायमा सामुदायिक शिक्षाको उपलब्धता हुनुपर्छ भनेर केही जागरुक साथीहरुसित मिलेर कलेजको स्थापना गर्नु पर्छ भन्ने अभियानमा लागे । तर पछि जागिरको सिलशिलामा काठमाडौं वाहिर गए । त्यहि समयमा कीर्तिपरका केहि जागरुक शिक्षा अनुरागीहरु र त्रि.वि.का केहि प्राध्यापक साथीहरुको पहलमा कीर्तिपुरमा ‘देउराली कलेज’को शाखा स्थापना गरीसकेका थिए तर शिक्षकहरुलाई तलब खुवाउन स्रोत थिएन । क्याम्पसमा आर्थिक संकट भएर शिक्षकलाई तलबै खुवाउन नसकेपछि, तत्कालै चन्दा उठाएर र ढुकुटी चलाएर भए पनि शिक्षकलाई तलव खुवाएको स्मरण गर्छन् उनी । यसरी ढुकुटीको पैसाले शिक्षकहरुको तलब खुवाएको कलेज अहिले आएर कीर्तिपुरमा ‘शहीद स्मारक कलेज’को मा प्रतिष्ठित छ । विकासको भोक यतिले मात्र शान्त भएन । कीर्तिपुरवासीको यात्रा सहजीकरणको लागि उन्कै नेतृत्वमा ‘कीर्तिपुर यातायात कम्पनी’ ल्याए । कीर्तिपृुरमा सहकारीको विकास गर्नको निम्ति ‘कीर्तिपुर बहुउद्देश्यिय सहकारी’ ल्याए । दुईदुई पटक आफै अध्यक्ष पनि कुशलतापूर्वक चलाए । प्लान इन्टर नेशनलको सहयोगमा सीम भ्mववाहिटी खानेपानी योजना संचालन, मंगल मा.वि. भवन, चिथुविहार सामुदायिक भवन निर्माणमा नेतृत्वदायिक भूमिका खेले । यसरी कीर्तिपुरको खानेपानी, ढलनिकास, शिक्षा, यातायात, सहकारीलगायत अनेकन सामाजिक काममा अहोरात्र खटे र परिवर्तनको सक्दो इँटा थपे ।
आज भन्दा ६९ वर्षअघि कीर्तिपुरमा जन्म लिएका प्रा.डा.शिवशरण महर्जनको पृष्ठभूमि हेर्दा उनी सम्पन्न परिवारको हो कि जस्तो देखिन्छ । सामान्य गरिब कृषक परिवारमा जन्म लिएका शिवशरण महर्जन अरु कीर्तिपुरवासी जस्तै सामान्य बाल्यकाल बिताएका एक कीर्तिपुरबासी नै हुन् । बुबा पूर्णलाल महर्जन सडक विभागमा सिकर्मीको नाइके हुनुहुन्थ्यो । उनी सिकर्मी काम गर्ने बुबासँगै लागेर ८, ९ कक्षा पढदापढदै मिनपचास बिदामा धोबीखोलाको पुल बनाउन गएको दिनलाई आफ्नो जीवनको अविस्मरणीय क्षण सम्झन्छन् । त्यसैको प्रभावस्वरुप, आजसम्म पनि आफ्नो घरको फर्निचरमा टालटुल गर्नुपर्यो भने आफ्नै कर्मशील हातहरु नै चलाउँछन् । परम्परागत श्रमतिर हेर्दा, विस्मृत हुन्छन् आफ्ना विश्वबिद्यालयका डिग्रीहरु । उनी त्यही विरासतको श्रममा दिनभरि रमाउन सक्दछन् ।
बाल्यकालदेखि नै सामाजिक सेवाको भावना रगतमै बगेको थियो । फलस्वरुप, कीर्तिपुर माध्यमिक बिद्यालयमामा कक्षा नौ पढदा नै ‘चारपाते क्लव’को सभापति भएर घरेलु तालिम आफूले लिएर अरुलाई त्यही तालिम दिन थाले । संयुक्त रुपमा धान र मकै रोपाइँ गरेर कीर्तिपुरमा कृषि क्रान्ति गर्न थाले । २०३० सालतिर ‘नविन पुस्कालय’को स्थापनाको निमित अथक मेहनत गरे । स्थापित पुस्तकालयले साहित्यिक र सांस्कृतिक गतिविधिहरु गर्माएपछि कीर्तिपुरमा साहित्यिक पठनपाठनमा पनि निकै ठूलो सकरात्मक परिवर्तन आयो । त्यही कालको सेरोफेरोमा सानैदेखिको साहित्यिक झुकावलाई तिर्खादै लेख्न थाले निवन्ध र लेखरचनाहरु । २०३६ सालको बिद्यार्थी आन्दोलनमा आउँदासम्म कीर्तिपुरमा साहित्यिक, राजनैतिक, साँस्कृतिक, भाषिक चेतनाको स्तर निकै अग्लाइसकेको थियो । त्यसमा पनि उनको भूमिका गहन थियो ।
त्यति मात्र होइन, उनी सानैदेखि मेहनती थिए । पाँच छ कक्षा पढदादेखि नै त्रिभूवन विश्वविद्यालयका भवनहरु बन्दा सिमेन्त घोल्नेदेखि लिएर, इँटा ओसारेर ज्याला थाप्थे । संयोग नै भन्नुपर्छ, कालान्तरमा, सानोमा आफ्नै पसिनाले सिंचेको विश्वबिद्यालयको उनी प्रोफेसर बने । प्रोफेसरसम्मको बाटा पनि त्यति सहज थिएन । सेवा आयोगमा उपप्राध्यापकमा वैकल्पिकमा नाम निस्कियो । केही समय मासिक ज्यालादारीमा प्राध्यापन पनि गरे । पछि जस्को ठाउंमा काम गरेको हो उनी फर्केर आए पछि उनको पद खोसियो । स्कूलमा स्थायी जगीर छोडेर गएको क्याम्पसबाट चक र डस्टर खोसियो । त्यही बेला आफनो वैकल्पिक उम्मेदवारमा स्थायी उममेदवारमा नाम रहेको जिकिरसहित डिन कार्यालय गुनासोसहित गए । डीनले पनि एउटा प्रस्ताव राख्यो — नेपालगञ्ज जानेभए स्थायी जागिर दिने । जागिर गुमाएको चोट थियो, उनले नेपालगञ्जको तातोलाई सहर्ष स्वीकार गरे । पहिलोपटक काठमाडौँबाहिर प्राध्यापनको सिलसिलामा जाँदा आन्तरिक टर्मिनलमा जानुपर्ने, अन्र्तराष्ट्रिय टर्मिनलमा जाँदा संयोगले संस्कृतिविज्ञ डोरबहादुर विष्टसित भेट भएछ । उहाँले टर्मिनलको भिन्नता औल्याएपछि बल्ल आन्तरिक टर्मिनलमा आएर जीवनमा पहिलोपटक नेपालगञ्जको प्लेन चढेको किस्सा पनि कम रोचक छैन । यसरी सुरु भयो प्राध्यापनको यात्रा ।
क्याम्पस जीवनको सुरुवातमा घरेलु कपडा उद्योग चलाउन दशहजार रुपैयाँ बैंकमा ऋण लिन चल्ती खाता खोल्नसमेत दुई सय रुपैँया नभएर अरुको गोजीबाट चलाएका प्रा.डा. शिवशरण महर्जनलाई अझै सम्झना छ । तत्काल शिक्षण तथा प्राध्यापनसँगै पारिवारिक व्यवसयमा पनि आफ्नो योगदान दिँदै रहयो । सुरुमा १० लाख बैंकबाट ऋण लिएर चलाए, गलैँचा व्यवसाय । आफू काठमाडौं बाहिर, घरमा परिवारका अन्य दाजुभाईबाट व्यवसाय चलिरहेको थियो । त्यता काठमाडौंमा प्राविधिक कारणले व्यवासायमा समस्या आएर घर नै लिलामीमा जाने भएपछि, ताहाचल कलेजमा सरुवा भएर आए र व्यवसायको गिर्दो साखलाई उकासे । आज आएर उनलाई गाँस, बास र कपासको कुनै समस्या छैन । एक छोरा बेलाइत, अर्को अमेरिका र छोरी पनि इन्जिनियर भएर गैरसरकारी संस्थामा कर्म गरेर बसेका छन । तैपनि उनको जीवनशैली साधारण देखिन्छ ।
प्रा.डा.शिवशरण महर्जन प्रातकालीन भ्रमणमा निस्कँदा उपत्यकाका विभिन्न डाँडाहरुमा पुग्छन् र त्यहाँबाट हेर्छन उपत्यकाका फाँटहरु तथा तिनै डाँडाबाट देखिने उपत्यकाका विभिन्न शहरका मुखाकृतिहरु । उनको मनमा त्यो बेला हठात एउटा कुराले च्वास काँडाजस्तै बिझाउँछ । त्यो के हो भने अठाइस वर्षअघि नै नगरपालिका भएर पनि कीर्तिपुरको विकासमा सुस्तता । कीर्तिपुर भन्दा पछि नगरपालिका भएर पनि अरु नगरको विकासमा घम्साघम्सी तर कीर्तिपुर अझै यथास्थितिको बर्को ओढेर धुलो उडाउँदै गरेको देख्दा सारै मन खडकिन्छ । आफ्नो पुरै घरलाई महिला छात्रावास बनाएका प्रा.डा. शिवशरण महर्जनको जीवन अहिले रिटाएर छ । रिटाएर भए पनि बौद्धिकता रिटाएर भएको छैन । राजनीतिक, सामाजिक, सांस्कृतिक र साहित्यिक कार्यक्रमहरुमा आफ्नो उपस्थिति सकेसम्म टुटाउँदैन । मंगल बहुमुखी क्याम्पसको संस्थापक अध्यक्ष, एउटा प्रतिस्थित निजी मा.वि. मा अध्यक्ष र धेरै संस्थाहरुमा सल्लाहकार तथा सदस्य रहेका उनी थोरै मतले चुनाव हारेको दुखेसोसहित आज पनि भन्छन्, ८४ को निर्वाचनमा कीर्तिपुर नगरपालिकाको निर्वाचनमा दूरदर्षी र विकासमन भएको सही ब्यक्ति चुनिनुपर्छ । तर जनताले आफूलाई नचुनेकोमा दुखेसो भने रहेको छ । मनभित्रको आवाज जे जस्तो भए पनि, कीर्तिपुरका सयौँ चियाचर्चामा कीर्तिपुरका मतदाताले चिन्न नसकेको एक बौद्धिक प्रोफेसर भनेर आज पनि उनको नाम खोतलिन्छ । झिनो मतले हारेको प्रा.डा. शिवशरणको नाममा कीर्तिपुरको विकासमन भएका जनताको ‘वान्स मोर’ भने रोकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण