ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा १९ वटा सामाजिक उत्तरदायित्व कार्यक्रम घोषणा
सारांश
- ग्लोबल आइएमई बैंकले १९औं वार्षिकोत्सवमा सीएसआर अन्तर्गत देशभर १९ वटा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
- बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, वित्तीय साक्षरता, र आयआर्जन अभिवृद्धिलाई प्राथमिकता दिँदै दुर्गम क्षेत्रका समुदायलाई लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।
- कार्यक्रमहरूमा स्वास्थ्य शिविर, छात्रवृत्ति, वातावरण संरक्षण, रक्तदान, र उद्यमशीलता तालिम समावेश छन्, जसले विभिन्न समुदायलाई सहयोग गर्ने लक्ष्य राखेको छ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १९ वटा कार्यक्रम देशव्यापी रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ ।
नेपालको अग्रणी वाणिज्य बैंकका रूपमा स्थापित बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, मानवीय सहयोग तथा आयआर्जन अभिवृद्धिलाई प्राथमिकतामा राख्दै दुर्गम क्षेत्रका गरिब, विपन्न तथा न्यून आय भएका समुदायलाई लक्षित गरी कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ ।
बैंकले सातै प्रदेशमा ‘ग्लोबल आइएमई स्वस्थ नारी पहल’ अन्तर्गत १४ वटा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । शिविरमा स्त्रीरोग विशेषज्ञमार्फत स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स उपचार तथा औषधि वितरण गरिनेछ । प्रारम्भिक अवस्थामा पहिचान भएका तथा गम्भीर बिरामी महिलाको दोस्रो चरणमा शल्यक्रिया उपचार पनि गरिने बैंकले जनाएको छ । नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा पाँच वर्षदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रमबाट हालसम्म १० हजारभन्दा बढी महिला लाभान्वित भइसकेका छन् ।
यसैगरी, बैंकले सात प्रदेशका सात स्थानमा वृहत् आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर आयोजना गर्नेछ । साथै, सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत १ हजार ५ सय गरिब तथा न्यून आय भएका विद्यार्थीको आँखा जाँच गरी निःशुल्क चश्मा वितरण गरिनेछ ।
स्वास्थ्य सेवाअन्तर्गत सातै प्रदेशमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ भने जटिल तथा दीर्घ रोगका बिरामीको उपचारका लागि स्थानीय निकाय तथा स्वास्थ्य संस्थाको सिफारिसमा आर्थिक सहयोग प्रदान गरिने बैंकले जनाएको छ ।
शिक्षा क्षेत्रमा बैंकले कक्षा ६ देखि १२ सम्म अध्ययनरत गरिब तथा जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । यस कार्यक्रमअन्तर्गत विगत पाँच वर्षमा १४० छात्रा लाभान्वित भएका छन् भने यस वर्ष थप ७७ छात्रालाई छात्रवृत्ति उपलब्ध गराइनेछ । दुर्गम विद्यालयमा पुस्तकालय निर्माण, एक हजार विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण, प्राथमिक उपचार तालिम तथा सामग्री हस्तान्तरण पनि कार्यक्रमअन्तर्गत समावेश गरिएको छ ।
त्यसैगरी, बैंकले अर्थशास्त्र, व्यवस्थापन तथा कानुन संकायमा उच्च शिक्षा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमफिल तथा पीएचडी शोध तथा अनुसन्धानका लागि वित्तीय सहयोग प्रदान गर्ने जनाएको छ ।
वातावरण संरक्षणतर्फ ‘ग्लोबल ग्रिन स्कूल’ कार्यक्रमअन्तर्गत प्लास्टिक विस्थापन, वृक्षारोपण, सरसफाइ तथा फोहोर संकलन केन्द्र स्थापना गरिनेछ । स्थानीय तहसँगको सहकार्यमा फोहोर व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिने बैंकले जनाएको छ ।
यसका साथै, मुख्य शहरहरूमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ भने आश्रम तथा बालगृहमा रहेका बालबालिकालाई खाद्यान्न तथा आवश्यक सामग्री सहयोग प्रदान गरिनेछ । सूचना प्रविधिको विकाससँगै बालबालिकामा देखिएको अटिजमसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पनि बैंकको योजना छ ।
युवा जनशक्ति विकासका लागि दुर्गम क्षेत्रका विद्यालय तथा समुदायलाई लक्षित गरी खेलकुद सामग्री वितरण गरिनेछ भने आयआर्जन क्षमता अभिवृद्धिका लागि ‘उद्यमशाला’ कार्यक्रममार्फत व्यवसायिक तथा सीपमूलक तालिम प्रदान गरिनेछ ।
बैंकले आफ्ना ३५२ शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै विद्युतीय ठगी तथा चोरी न्यूनीकरणका लागि सचेतना फैलाउने तथा अधिकतम जनसंख्यालाई बैंकिङ प्रणालीमा समावेश गर्ने लक्ष्य लिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण