बालेनको नामले मात्रै मधेससँग ‘कनेक्ट’ हुनसक्ला रास्वपा ?
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर कुलमान घिसिङ संरक्षकत्वको उज्यालो नेपाल पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा एकीकृत भएपछि मुलुकको राजनीति तरंगित बनेको छ । सहरी र मुख्य राजमार्ग क्षेत्र मात्र होइन, हिमाल र मधेसमा पनि अहिले रास्वपाले कहाँ कहाँ घण्टी बजाउने हो भनेर चासो बढेको छ । यससँगै पुराना दलहरूले चुनौती महसुस गर्न थालेका छन् ।
भनिन्छ, रास्वपा ठुला सहर, राजमार्गमा रहेका मझौला सहर र पहाडका केही जिल्लामा बढी प्रभावशाली छ । तर जेनजी आन्दोलनपछिको परिस्थिति तथा कुलमान र बालेनको प्रवेशले रास्वपा पहाडका अन्य जिल्ला र तराई-मधेसका जिल्लामा पनि शक्तिशाली हुने संकेत देखिन्छ ।
मधेस प्रदेशमा कमजोर मानिएको रास्वपालाई बालेन फ्याक्टरले ‘सञ्जीवनी बुटी’को काम गर्नसक्छ । किनकि बालेन मधेसी समुदायका हुन् र उनी काठमाडौंमै जन्मे-हुर्केका भएपनि उनको पुर्ख्यौली थलो महोत्तरी हो । मधेसबाट समानुपातिक उम्मेदवार चयनदेखि प्रत्यक्ष चुनावका लागि उम्मेदवारसम्ममा रास्वपाले राम्रैसँग ध्यान केन्द्रित गरेको देखिन्छ । बालेनलाई प्रधानमन्त्री उम्मेदवार बनाइने भएकाले पनि मधेसबाट रास्वपाले राम्रै मत तान्न सक्ने अपेक्षा गरिएको छ ।
जेनजी आन्दोलनबाट उदाएका सिरहाका पुरुषोत्तम यादवलाई रास्वपाले समानुपातिक उम्मेदवार बनाएको छ । लामो संघर्षपछि पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढेर डाक्टर बनेका रामजी राम र मानवअधिकारकर्मी मोहना अन्सारीलाई पनि समानुपातिक सूचीमा राखिएको छ ।

यी तिनै जना उम्मेदवारले मधेसमा राम्रै मत तान्न सक्ने आँकलन छ । यस्तै जेनजी आन्दोलनको अगुवाइ गरेकामध्ये शिव यादव, पुरुषोत्तम यादव र बब्लु गुप्ता मधेस प्रदेशकै हुन् । यी तीनै जना रास्वपामै जोडिएका छन् । बब्लु गुप्ता अहिले खेलकुद मन्त्री पनि हुन् । शिव यादव सिरहा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने तयारीमा छन् ।
जेनजी अगुवा पुरुषोत्तम यादव भन्छन्, ‘पहिलो पटक यो देशको प्रधानमन्त्री मधेसको धर्तीपुत्र हुन गइरहनुभएको छ । मधेसी जनता रास्वपालाई मत हाल्नका लागि तम्तयार भएर बसेका छन् ।’ मधेस प्रदेशका ३२ वटै सिट रास्वपाले जित्ने उनले दाबी गरे । यादव भन्छन्, ‘यसपालि मधेसमा गज्जबले घण्टी बज्छ ।’
रास्वपा सभापति रवि लामिछानेले २०७९ सालको चुनावमा पनि मधेस प्रदेशबाट मत तान्न प्रयास नगरेका होइनन् । मनिष झाजस्ता सामाजिक अभियन्तालाई समानुपातिकबाट सांसद बनाए । हाल रास्वपाका प्रवक्ता रहेका झाले मधेसमा संगठन बनाउन राम्रै प्रयास गरे । रास्वपाले २०८० कात्तिकमा महोत्तरीमा पार्टीको विस्तारित बैठक नै बसाएको थियो । तर त्यसले पनि गति लिएको थिएन । मधेसमा रास्वपाको प्रभावशाली संगठन नबन्नुको मुख्य कारण संघीयताप्रतिको बुझाइलाई पनि मानिएको छ ।
रास्वपाले प्रदेशको संरचना पुनर्संरचनाको वकालत गर्दै आएको छ । प्रदेश संरचनाबारे रास्वपाको स्पष्ट धारणा नआएको भन्दै मधेसका नागरिकले खुलेर समर्थन गर्न नसकेको पनि बताइँदै आएको छ । सभापति लामिछानेले महोत्तरीमा भनेका थिए, ‘मधेसका हरेक समस्याविरुद्ध जुधेर त्यहाँको रुपान्तरणसहितको समृद्धिमा हामीले नै अगुवाइले गर्नुपर्छ । मधेसलाई अलग राखेर न त राजनीति हुन्छ, न त देशको समृद्धि ।’

राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सभापति लामिछानेले भनेका थिए, ‘केन्द्रदेखि वडासम्मको संरचनामा हाम्रो पार्टीमा खसआर्य तथा पुरुष बाहुल्यता देखिएको छ । समावेशितालाई व्यवहारमा लागु गर्न नसक्नु हाम्रो ठुलो कमजोरी हो । यसलार्य यथाशीघ्र सुधार गर्न म सबैमा आग्रह गर्दछु । जानेर वा नजानेर समावेशितालाई उपेक्षा गर्ने कार्यले लोकतन्त्रको उपहास गर्छ । आगामी दिनमा यस्तो कमजोरी नहुने प्रतिवद्धता म सबै साथीहरुबाट चाहन्छु ।’ सभापति लामिछानेको यो भनाइले पनि मधेससँग रास्वपा राम्ररी ‘कनेक्ट’ छैन भन्ने देखिन्छ ।
मधेस मामिलाका जानकार एवं राजनीतिक विश्लेषक चन्द्रकिशोर भन्छन्, ‘मधेससँग रास्वपा अझै कनेक्ट हुन सकेको छैन, राजमार्ग छेउछाउ केही आकर्षण बढाए पनि कोर मधेसमा मन जित्न सकेको छैन ।’
संघीयता र मधेसको मुद्दासँग रास्वपाले आफूलाई जोड्न नसकेको भन्दै उनी बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर मधेसको मत तान्ने रणनीति हुनसक्ने बताउँछन् । तर मधेसका मुद्दा, अधिकार र पहिचानको बारेमा रास्वपाले आफ्नो धारणा स्पष्ट नगरेसम्म यो अन्योल रहिरहने उनको तर्क छ ।

‘मधेस प्रदेशका ८ जिल्लामा कुल ३२ सिट छन् । पक्कै पनि सबै दलले त्यो सिट तान्ने कोसिस गर्नेछन् । रास्वपाले पनि गर्नेछ, त्यसका लागि उसको विभिन्न रणनीति होला । तर मुख्य कुरा मधेसको एजेण्डा र मुद्दा हो त्यसमा रास्वपाको धारणा के हो भन्ने प्रश्न रहिरहन्छ,’ चन्द्रकिशोर भन्छन् ।
रास्वपाले बालेनलाई मधेसबाटै उठाउन सक्ने चर्चा पनि भइरहेको छ । तर काठमाडौंमै जन्मे-हुर्केका बालेन आफूलाई मधेसीका रूपमा खासै चिनाउन चाहँदैनन् भन्ने आरोप पनि छ । जेनजी अगुवा पुरुषोत्तम यादव भन्छन्, ‘हाम्रो प्रयास भनेको बालेनलाई मधेसकै कुनै क्षेत्रबाट चुनाव लडाउने हो । बालेन मधेसका धर्तीपुत्र हुन्, यो परिचय कसैले रोक्न सक्दैन । अहिले विभिन्न अफवाह फैलाउनु स्वाभाविक हो । किनभने उहाँ प्रधानमन्त्रीको उम्मेदवार हो ।‘
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण