जाडो याममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल
सारांश
- जाडोयाम सुरु भएपछि स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ।
- रुघा, खोकी, ज्वरो, दम बढ्ने जोखिमबारे जानकारी गराउँदै मन्त्रालयले विशेष ध्यान दिन अनुरोध गरेको छ।
- बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरूलाई चिसोबाट बच्न तथा स्वास्थ्य समस्या देखिएमा सम्पर्क गर्न भनिएको छ।
काठमाडौँ । जाडो याम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जाडो याममा रुघा, खोकी, ज्वरो, दम बढ्ने, सास फेर्न गाह्रो हुने तथा शीताङ्ग (हाइपोथर्मिया) का लक्षण देखिने बिरामीको सङ्ख्या बढ्दै गएको उल्लेख गरेको छ । पछिल्ला वर्ष जाडो यामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो, मस्तिष्कलगायत अङ्गमा गम्भीर असर पुर्याउने र दम तथा क्यान्सर जस्ता दीर्घ रोगको जोखिम बढाउने गरेको मन्त्रालयको भनाइ छ ।
विशेष गरी बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घ रोगीहरू जाडो याममा बढी जोखिममा रहने भएकाले चिसोबाट बच्न, धुवाँ–धुलोबाट जोगिन, पोषक तत्त्वयुक्त सन्तुलित खाना खान, न्यानो लुगा लगाउन तथा भिटामिन ‘सी’ युक्त फलफूल र सागपात पर्याप्त मात्रामा सेवन गर्न मन्त्रालयले आग्रह गरेको छ । सरसफाइमा ध्यान दिन, प्रशस्त मात्रामा झोल पदार्थ सेवन गर्न र अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन पनि मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले चिसोका कारण देखिने समस्या बढेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा ‘हेलो स्वास्थ्य कल सेन्टर १११५’ मा परामर्श लिन आग्रह गरेको छ । त्यसैगरी जाडो याममा आगो, हिटर तथा गिजर प्रयोग गर्दा सावधानी नअपनाउँदा हरेक वर्ष मृत्यु तथा अस्पताल भर्ना हुने घटना हुने गरेको उल्लेख गर्दै मन्त्रालयले विशेष सतर्कता अपनाउन भनेको छ । हावा पास नहुने कोठामा यस्ता उपकरण प्रयोग गर्दा कार्बन मोनोअक्साइड ग्यास जम्मा भई ज्यानसमेत जोखिममा पर्न सक्ने भएकाले आगो तथा तताउने उपकरण खुला र सुरक्षित स्थानमा मात्र प्रयोग गर्न, सुत्ने बेलामा निभाउन, ज्वलनशील सामग्री टाढा राख्न र गिजर बाथरुमबाहिर जडान गर्न आग्रह गरिएको छ ।
यस्ता उपकरण प्रयोग गर्दा टाउको दुख्ने, रिङ्गटा लाग्ने जस्ता लक्षण देखिएमा तुरुन्त हावा आवतजावत हुने खुला स्थानमा जान र समस्या निरन्तर रहेमा नजिकको स्वास्थ्य संस्थामा तत्काल सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण