शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टसँग संवाद

‘पेट्रोलमा इथानोल मिसाउन सके नेपाललाई ठुलो फाइदा हुन्छ’

'इथानोल उत्पादन गर्न सके किसानदेखि उद्योगसम्मलाई लाभ'
सोमबार, २१ पुस २०८२, १९ : ००
सोमबार, २१ पुस २०८२

सारांश

  • मन्त्रिपरिषद्ले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने आदेश स्वीकृत गरेको छ, जसले दुई दशकदेखि रोकिएको योजना कार्यान्वयनको बाटो खोलेको छ।
  • इथानोल जैविक इन्धन हो, जसले पेट्रोलको कार्यक्षमतामा सुधार ल्याउँछ, वातावरण प्रदूषण कम गर्छ, र आयात प्रतिस्थापनमा सहयोग गर्छ।
  • इथानोल उत्पादनका लागि उखुको मोलासिस र सिमल तरुल प्रयोग गर्न सकिनेछ, जसबाट किसान र उद्योगी दुवैलाई आर्थिक लाभ हुनेछ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौं । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण मानिएको पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश-२०८२ लाई सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ ।  

दुई दशक अगाडि इथानोल मिश्रणका योजना बनाएपनि सरकारले कार्यान्वयन हुन सकेको थिएन । पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत भएपछि अब नेपाल आयल निगमले कसरी काम गर्छ ? इथानोलबारे विभिन्न विषयमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश :    

आजको क्याबिनेटले पेट्रोलमा इथानोल मिश्रण गर्ने सम्बन्धी निर्देशिका स्वीकृत गरेको छ । यो निर्णयलाई नेपाल आयल निगमले कसरी हेरेको छ, यसको पृष्ठभूमि के हो ?

सरकारको यो निर्णय निकै सकारात्मक र दीर्घकालीन महत्त्वको छ । वास्तवमा पेट्रोलमा इथानोल मिसाउने चर्चा र प्रयास सुरु भएको झण्डै दुई दशक भइसकेको थियो । तर विभिन्न प्राविधिक र नीतिगत कारणले यो कार्यान्वयनमा आउन सकेको थिएन । अहिले सरकारले यसलाई स्वीकृत गरेर बाटो खुला गरिदिएको छ । यसले हाम्रो परनिर्भरता घटाउन र स्वदेशी कच्चा पदार्थको उपयोग गर्न ठुलो मद्दत पुर्‍याउनेछ । हामीले यसलाई एउटा महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा लिएका छौँ ।

इथानोल भनेको के हो, यसलाई पेट्रोलमा मिसाउँदा के फाइदा हुन्छ ?

इथानोल एउटा ‘बायो–फ्युल’ (जैविक इन्धन) हो । यो खासगरी वनस्पतिजन्य स्रोतहरूबाट तयार पारिन्छ । यसलाई पेट्रोलमा निश्चित प्रतिशतसम्म मिश्रण गरेर सवारी साधनमा प्रयोग गर्न सकिन्छ । यसका मुख्य तीनवटा फाइदा छन् । पहिलो, यसले पेट्रोलको कार्यक्षमतामा सुधार ल्याउँछ । दोस्रो, यो वातावरणीय हिसाबले निकै राम्रो छ । पेट्रोलको तुलनामा इथानोलले कार्बन डाइअक्साइड र कार्बन मोनोअक्साइडको उत्सर्जन निकै कम गर्छ । तेस्रो, यसले खनिज इन्धनको खपत घटाउँछ, जसले गर्दा हाम्रो आयातमा केही कमी आउँछ । यो एउटा स्वच्छ ऊर्जाको विकल्प पनि हो ।

नेपालको सन्दर्भमा इथानोलको प्रयोगले आर्थिक रूपमा कस्तो प्रभाव पार्ला ? विशेषगरी आयात प्रतिस्थापनमा यसको भूमिका के हुन्छ ?

नेपालका लागि यो आर्थिक रूपमा निकै लाभदायक छ । अहिले हामीले प्रयोग गर्ने शतप्रतिशत पेट्रोल विदेशबाट आयात गर्नुपर्छ । तर इथानोल हामी आफैँले देशभित्रै उत्पादन गर्न सक्छौँ । यो ‘इन्डिजिनियस’ उत्पादन हो ।

Ethanol

जब हामी पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउँछौँ, त्यति नै बराबरको विदेशी मुद्रा बाहिर जानबाट जोगिन्छ । यसले हाम्रो वैदेशिक मुद्रा सञ्चितिमा टेवा पुर्‍याउँछ । साथै देशभित्रै नयाँ उद्योगहरू स्थापना हुँदा रोजगारीका अवसरहरू सिर्जना हुन्छन् र स्वदेशी पैसा स्वदेशमै रहन्छ ।

इथानोल उत्पादनका लागि कच्चा पदार्थको स्रोत के–के हुन् र यसबाट किसानहरूले कसरी लाभ लिन सक्छन् ?

इथानोल उत्पादनका लागि मुख्यगरी दुईवटा स्रोतहरू छन् । एउटा उखुको ‘मोलासिस’ (खुँदो जस्तो पदार्थ) हो, जुन चिनी उद्योगहरूबाट निस्कन्छ । दोस्रो, सिमल तरुलबाट पनि इथानोल बनाउन सकिन्छ । यसले प्रत्यक्ष रूपमा किसानहरूलाई फाइदा पुर्‍याउँछ । किसानहरूले सिमल तरुल वा उखु खेती गरेर उद्योगलाई बेच्न सक्छन् । उद्योगीहरूले ती कच्चा पदार्थ किनेर प्रोसेसिङ गरी इथानोल बनाउँछन् । यसरी कृषि क्षेत्रको व्यवसायीकरण र किसानको आयआर्जनमा यसले ठुलो मद्दत गर्छ । यो प्रक्रियाले उद्योग र कृषिबिचको सम्बन्धलाई पनि बलियो बनाउँछ ।

पेट्रोलमा मिसाइने इथानोलको गुणस्तर कस्तो हुनुपर्छ ? के यसले सवारी साधनको इन्जिनमा कुनै असर गर्दैन ?

गुणस्तरको कुरा निकै संवेदनशील छ । हामीले पेट्रोलमा मिसाउने इथानोल ९९.५ प्रतिशत शुद्ध हुनुपर्छ । सामान्यतया स्पिरिट वा रक्सीमा यसको शुद्धता ६५ देखि ७० प्रतिशत मात्र हुन्छ, तर इन्धनका लागि प्रयोग हुने इथानोलमा ‘मोइस्चर’ कत्ति पनि हुनुहुँदैन । यदि इथानोलमा पानीको मात्रा भयो भने यसले सवारी साधनको इन्जिन बिगार्न सक्छ । त्यसैले उद्योगहरूले शतप्रतिशत डिहाइड्रेटेड इथानोल उत्पादन गर्नुपर्छ । यस्तो उच्च गुणस्तरको इथानोलले इन्जिनलाई कुनै हानि गर्दैन, बरु सफा राख्न मद्दत गर्छ ।

अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने अन्य देशहरूले इथानोललाई कसरी प्रयोग गरिरहेका छन् ? नेपालले कति प्रतिशत मिश्रण गर्ने लक्ष्य राखेको छ ?

विश्वका धेरै देशले इथानोलको प्रयोगलाई व्यापक बनाएका छन् । ब्राजिलमा ८० देखि ९० प्रतिशतसम्म इथानोल प्रयोग गर्न मिल्ने इन्जिनहरू बनिसकेका छन् । भारतले अहिले २० प्रतिशत इथानोल मिश्रण गर्ने लक्ष्य राखेको छ । नेपालको सन्दर्भमा, हाम्रा अहिलेका सवारीसाधनका इन्जिनहरूमा कुनै परिमार्जन नगरी १० प्रतिशतसम्म सजिलै मिश्रण गर्न सकिन्छ । २० प्रतिशत भन्दा बढी मिसाउनुपर्ने भएमा मात्र इन्जिनको बर्निङ र फ्युलिङ सिस्टममा परिवर्तन गर्नुपर्ने हुन्छ ।  त्यसैले अहिलेलाई हाम्रो लक्ष्य १० प्रतिशत मिश्रण गर्ने नै हो ।

दुई दशकअघि नै निर्णय भएर पनि अहिलेसम्म यो किन कार्यान्वयन हुन सकेको थिएन ? यसमा मुख्य बाधा के थियो ?

यसको मुख्य कारण मूल्य निर्धारण र करको संरचना थियो । विगतमा इथानोलको मूल्य पेट्रोल भन्दा महँगो पर्थ्यो । आयल निगमले आफूलाई घाटा हुने गरी महँगोमा इथानोल किनेर सस्तोमा पेट्रोल बेच्न सक्ने अवस्था थिएन । नेपाल सरकारलाई हामीले प्रतिलिटर ६२–६५ रुपैयाँ त कर मात्रै बुझाउँछौँ । यदि इथानोलमा पनि उस्तै कर लगाउने हो भने यो निकै महँगो हुन्थ्यो । अर्कोतर्फ किसान र उद्योगीलाई प्रोत्साहन दिन अनुदानको पनि आवश्यकता थियो । मूल्य र करको तालमेल मिल्न नसक्दा यो प्रक्रिया लामो समय रोकिएको हो । तर अब सरकारले एउटा समिति बनाएर नयाँ मूल्य संयन्त्र तयार गर्नेछ ।

अब उपभोक्ताले पाउने पेट्रोलको मूल्यमा यसले कस्तो प्रभाव पार्ला ? के पेट्रोल सस्तो हुने सम्भावना छ ?

मूल्यको कुरा सरकारले कसरी कर निर्धारण गर्छ भन्नेमा भर पर्छ । यदि सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन इथानोलमा लाग्ने करमा सहुलियत दियो भने पेट्रोलको मूल्य केही सस्तो हुनसक्छ । उदाहरणका लागि अहिले पेट्रोलमा लिइँदै आएको प्रतिलिटर ६५ रुपैयाँ करको ठाउँमा इथानोलको हिस्सामा २०–३० रुपैयाँ मात्र कर लिने हो भने मूल्य स्वतः घट्छ ।

Chandika Bhatta1

यसले एकातिर उपभोक्तालाई राहत पुग्छ भने अर्कोतिर नेपाल आयल निगमलाई पनि वित्तीय भार पर्दैन । सरकारले रोजगारी सिर्जना र वातावरण संरक्षणलाई ध्यानमा राखेर यसमा सहुलियत दिने अपेक्षा छ ।

विशेषगरी नेपालका किसान र चिनी उद्योगीहरूलाई इथानोल उत्पादनबाट के–के फाइदा हुन्छ ?

यो सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । यसबाट किसान र उद्योगी दुवैलाई बहुआयामिक फाइदा हुन्छ । चिनी बनाउँदा सहउत्पादनको रूपमा ‘मोलासिस’ निस्कन्छ । अहिलेसम्म यो मोलासिस पूर्ण रूपमा बिक्री नभएर विसर्जन गर्न समस्या भइरहेको थियो । अब उद्योगीहरूले त्यही मोलासिसबाट इथानोल उत्पादन गर्न सक्छन् । यसले गर्दा चिनी उद्योगहरू ‘मल्टी–प्रोडक्ट’ उद्योगमा परिणत हुन्छन् । उनीहरूको आम्दानीको स्रोत बढ्छ र उद्योग अझै नाफामूलक हुन्छ ।

उद्योगलाई ठुलो मात्रामा इथानोल चाहिने भएपछि किसानको उखु र सिमल तरुलले उचित बजार र मूल्य पाउँछन् । किसानको आयआर्जन बढ्छ र स्वदेशमै रोजगारी सिर्जना हुन्छ ।

नेपाल आयल निगमले इथानोल मिश्रणको प्रक्रियालाई व्यावहारिक रूपमा कहिलेदेखि सुरु गर्दैछ ? यसका आगामी चरण के–के हुन् ?

हामीले यसको तयारी सुरु गरिसकेका छौँ । अबको पहिलो काम भनेको कार्यविधि बनाउनु हो । त्यो कार्यविधिलाई निगमको सञ्चालक समितिले पास गरेपछि हामी सार्वजनिक सूचना निकाल्छौँ र इथानोल आपूर्तिकर्ताहरूलाई आह्वान गर्छौँ । हामी उनीहरूसँग सम्झौता गर्छौँ । जसमा उनीहरूले कति परिमाणमा, कुन गुणस्तरमा र कुन मूल्यमा इथानोल उपलब्ध गराउन सक्छन् भन्ने स्पष्ट हुनेछ । हाम्रो तर्फबाट दुई-तीन महिनाभित्रै प्राविधिक र नीतिगत काम सकिनेछन् ।

पूर्णरूपमा कार्यान्वयनमा आएर पेट्रोल पम्पहरूमा इथानोल मिश्रित पेट्रोल पाउन कति समय लाग्ला ?

हाम्रो तर्फबाट तयारी छिटो भएपनि उद्योगीहरूले प्लान्ट स्थापना गर्न र उत्पादन सुरु गर्न केही समय लाग्न सक्छ । एउटा इथानोल उद्योग स्थापना गर्न करिब दुई अर्ब रुपैयाँ भन्दा बढी लगानी चाहिन्छ । यदि आपूर्तिकर्ताहरू तयार भए भने अबको ५ देखि ६ महिनाभित्र हामी पेट्रोलमा इथानोल मिसाएर बिक्री सुरु गर्न सक्छौँ । 

हाम्रो दीर्घकालीन लक्ष्य भनेको सन् २०४५ सम्ममा ‘जिरो इमिसन’ को राष्ट्रिय लक्ष्य पूरा गर्नु हो । फोसिल फ्युललाई क्रमशः विस्थापन गर्दै जैविक इन्धनमा जानु नै अहिलेको आवश्यकता हो । यसले नेपालको अर्थतन्त्र र वातावरण दुवैलाई फाइदा पुर्‍याउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप