‘पेट्रोलमा इथानोल मिसाउन सके नेपाललाई ठुलो फाइदा हुन्छ’
सारांश
- मन्त्रिपरिषद्ले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने आदेश स्वीकृत गरेको छ, जसले दुई दशकदेखि रोकिएको योजना कार्यान्वयनको बाटो खोलेको छ।
- इथानोल जैविक इन्धन हो, जसले पेट्रोलको कार्यक्षमतामा सुधार ल्याउँछ, वातावरण प्रदूषण कम गर्छ, र आयात प्रतिस्थापनमा सहयोग गर्छ।
- इथानोल उत्पादनका लागि उखुको मोलासिस र सिमल तरुल प्रयोग गर्न सकिनेछ, जसबाट किसान र उद्योगी दुवैलाई आर्थिक लाभ हुनेछ।
काठमाडौं । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण मानिएको पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश-२०८२ लाई सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ ।
दुई दशक अगाडि इथानोल मिश्रणका योजना बनाएपनि सरकारले कार्यान्वयन हुन सकेको थिएन । पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत भएपछि अब नेपाल आयल निगमले कसरी काम गर्छ ? इथानोलबारे विभिन्न विषयमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश :
आजको क्याबिनेटले पेट्रोलमा इथानोल मिश्रण गर्ने सम्बन्धी निर्देशिका स्वीकृत गरेको छ । यो निर्णयलाई नेपाल आयल निगमले कसरी हेरेको छ, यसको पृष्ठभूमि के हो ?
सरकारको यो निर्णय निकै सकारात्मक र दीर्घकालीन महत्त्वको छ । वास्तवमा पेट्रोलमा इथानोल मिसाउने चर्चा र प्रयास सुरु भएको झण्डै दुई दशक भइसकेको थियो । तर विभिन्न प्राविधिक र नीतिगत कारणले यो कार्यान्वयनमा आउन सकेको थिएन । अहिले सरकारले यसलाई स्वीकृत गरेर बाटो खुला गरिदिएको छ । यसले हाम्रो परनिर्भरता घटाउन र स्वदेशी कच्चा पदार्थको उपयोग गर्न ठुलो मद्दत पुर्याउनेछ । हामीले यसलाई एउटा महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा लिएका छौँ ।
इथानोल भनेको के हो, यसलाई पेट्रोलमा मिसाउँदा के फाइदा हुन्छ ?
इथानोल एउटा ‘बायो–फ्युल’ (जैविक इन्धन) हो । यो खासगरी वनस्पतिजन्य स्रोतहरूबाट तयार पारिन्छ । यसलाई पेट्रोलमा निश्चित प्रतिशतसम्म मिश्रण गरेर सवारी साधनमा प्रयोग गर्न सकिन्छ । यसका मुख्य तीनवटा फाइदा छन् । पहिलो, यसले पेट्रोलको कार्यक्षमतामा सुधार ल्याउँछ । दोस्रो, यो वातावरणीय हिसाबले निकै राम्रो छ । पेट्रोलको तुलनामा इथानोलले कार्बन डाइअक्साइड र कार्बन मोनोअक्साइडको उत्सर्जन निकै कम गर्छ । तेस्रो, यसले खनिज इन्धनको खपत घटाउँछ, जसले गर्दा हाम्रो आयातमा केही कमी आउँछ । यो एउटा स्वच्छ ऊर्जाको विकल्प पनि हो ।
नेपालको सन्दर्भमा इथानोलको प्रयोगले आर्थिक रूपमा कस्तो प्रभाव पार्ला ? विशेषगरी आयात प्रतिस्थापनमा यसको भूमिका के हुन्छ ?
नेपालका लागि यो आर्थिक रूपमा निकै लाभदायक छ । अहिले हामीले प्रयोग गर्ने शतप्रतिशत पेट्रोल विदेशबाट आयात गर्नुपर्छ । तर इथानोल हामी आफैँले देशभित्रै उत्पादन गर्न सक्छौँ । यो ‘इन्डिजिनियस’ उत्पादन हो ।

जब हामी पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउँछौँ, त्यति नै बराबरको विदेशी मुद्रा बाहिर जानबाट जोगिन्छ । यसले हाम्रो वैदेशिक मुद्रा सञ्चितिमा टेवा पुर्याउँछ । साथै देशभित्रै नयाँ उद्योगहरू स्थापना हुँदा रोजगारीका अवसरहरू सिर्जना हुन्छन् र स्वदेशी पैसा स्वदेशमै रहन्छ ।
इथानोल उत्पादनका लागि कच्चा पदार्थको स्रोत के–के हुन् र यसबाट किसानहरूले कसरी लाभ लिन सक्छन् ?
इथानोल उत्पादनका लागि मुख्यगरी दुईवटा स्रोतहरू छन् । एउटा उखुको ‘मोलासिस’ (खुँदो जस्तो पदार्थ) हो, जुन चिनी उद्योगहरूबाट निस्कन्छ । दोस्रो, सिमल तरुलबाट पनि इथानोल बनाउन सकिन्छ । यसले प्रत्यक्ष रूपमा किसानहरूलाई फाइदा पुर्याउँछ । किसानहरूले सिमल तरुल वा उखु खेती गरेर उद्योगलाई बेच्न सक्छन् । उद्योगीहरूले ती कच्चा पदार्थ किनेर प्रोसेसिङ गरी इथानोल बनाउँछन् । यसरी कृषि क्षेत्रको व्यवसायीकरण र किसानको आयआर्जनमा यसले ठुलो मद्दत गर्छ । यो प्रक्रियाले उद्योग र कृषिबिचको सम्बन्धलाई पनि बलियो बनाउँछ ।
पेट्रोलमा मिसाइने इथानोलको गुणस्तर कस्तो हुनुपर्छ ? के यसले सवारी साधनको इन्जिनमा कुनै असर गर्दैन ?
गुणस्तरको कुरा निकै संवेदनशील छ । हामीले पेट्रोलमा मिसाउने इथानोल ९९.५ प्रतिशत शुद्ध हुनुपर्छ । सामान्यतया स्पिरिट वा रक्सीमा यसको शुद्धता ६५ देखि ७० प्रतिशत मात्र हुन्छ, तर इन्धनका लागि प्रयोग हुने इथानोलमा ‘मोइस्चर’ कत्ति पनि हुनुहुँदैन । यदि इथानोलमा पानीको मात्रा भयो भने यसले सवारी साधनको इन्जिन बिगार्न सक्छ । त्यसैले उद्योगहरूले शतप्रतिशत डिहाइड्रेटेड इथानोल उत्पादन गर्नुपर्छ । यस्तो उच्च गुणस्तरको इथानोलले इन्जिनलाई कुनै हानि गर्दैन, बरु सफा राख्न मद्दत गर्छ ।
अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने अन्य देशहरूले इथानोललाई कसरी प्रयोग गरिरहेका छन् ? नेपालले कति प्रतिशत मिश्रण गर्ने लक्ष्य राखेको छ ?
विश्वका धेरै देशले इथानोलको प्रयोगलाई व्यापक बनाएका छन् । ब्राजिलमा ८० देखि ९० प्रतिशतसम्म इथानोल प्रयोग गर्न मिल्ने इन्जिनहरू बनिसकेका छन् । भारतले अहिले २० प्रतिशत इथानोल मिश्रण गर्ने लक्ष्य राखेको छ । नेपालको सन्दर्भमा, हाम्रा अहिलेका सवारीसाधनका इन्जिनहरूमा कुनै परिमार्जन नगरी १० प्रतिशतसम्म सजिलै मिश्रण गर्न सकिन्छ । २० प्रतिशत भन्दा बढी मिसाउनुपर्ने भएमा मात्र इन्जिनको बर्निङ र फ्युलिङ सिस्टममा परिवर्तन गर्नुपर्ने हुन्छ । त्यसैले अहिलेलाई हाम्रो लक्ष्य १० प्रतिशत मिश्रण गर्ने नै हो ।
दुई दशकअघि नै निर्णय भएर पनि अहिलेसम्म यो किन कार्यान्वयन हुन सकेको थिएन ? यसमा मुख्य बाधा के थियो ?
यसको मुख्य कारण मूल्य निर्धारण र करको संरचना थियो । विगतमा इथानोलको मूल्य पेट्रोल भन्दा महँगो पर्थ्यो । आयल निगमले आफूलाई घाटा हुने गरी महँगोमा इथानोल किनेर सस्तोमा पेट्रोल बेच्न सक्ने अवस्था थिएन । नेपाल सरकारलाई हामीले प्रतिलिटर ६२–६५ रुपैयाँ त कर मात्रै बुझाउँछौँ । यदि इथानोलमा पनि उस्तै कर लगाउने हो भने यो निकै महँगो हुन्थ्यो । अर्कोतर्फ किसान र उद्योगीलाई प्रोत्साहन दिन अनुदानको पनि आवश्यकता थियो । मूल्य र करको तालमेल मिल्न नसक्दा यो प्रक्रिया लामो समय रोकिएको हो । तर अब सरकारले एउटा समिति बनाएर नयाँ मूल्य संयन्त्र तयार गर्नेछ ।
अब उपभोक्ताले पाउने पेट्रोलको मूल्यमा यसले कस्तो प्रभाव पार्ला ? के पेट्रोल सस्तो हुने सम्भावना छ ?
मूल्यको कुरा सरकारले कसरी कर निर्धारण गर्छ भन्नेमा भर पर्छ । यदि सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन इथानोलमा लाग्ने करमा सहुलियत दियो भने पेट्रोलको मूल्य केही सस्तो हुनसक्छ । उदाहरणका लागि अहिले पेट्रोलमा लिइँदै आएको प्रतिलिटर ६५ रुपैयाँ करको ठाउँमा इथानोलको हिस्सामा २०–३० रुपैयाँ मात्र कर लिने हो भने मूल्य स्वतः घट्छ ।

यसले एकातिर उपभोक्तालाई राहत पुग्छ भने अर्कोतिर नेपाल आयल निगमलाई पनि वित्तीय भार पर्दैन । सरकारले रोजगारी सिर्जना र वातावरण संरक्षणलाई ध्यानमा राखेर यसमा सहुलियत दिने अपेक्षा छ ।
विशेषगरी नेपालका किसान र चिनी उद्योगीहरूलाई इथानोल उत्पादनबाट के–के फाइदा हुन्छ ?
यो सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । यसबाट किसान र उद्योगी दुवैलाई बहुआयामिक फाइदा हुन्छ । चिनी बनाउँदा सहउत्पादनको रूपमा ‘मोलासिस’ निस्कन्छ । अहिलेसम्म यो मोलासिस पूर्ण रूपमा बिक्री नभएर विसर्जन गर्न समस्या भइरहेको थियो । अब उद्योगीहरूले त्यही मोलासिसबाट इथानोल उत्पादन गर्न सक्छन् । यसले गर्दा चिनी उद्योगहरू ‘मल्टी–प्रोडक्ट’ उद्योगमा परिणत हुन्छन् । उनीहरूको आम्दानीको स्रोत बढ्छ र उद्योग अझै नाफामूलक हुन्छ ।
उद्योगलाई ठुलो मात्रामा इथानोल चाहिने भएपछि किसानको उखु र सिमल तरुलले उचित बजार र मूल्य पाउँछन् । किसानको आयआर्जन बढ्छ र स्वदेशमै रोजगारी सिर्जना हुन्छ ।
नेपाल आयल निगमले इथानोल मिश्रणको प्रक्रियालाई व्यावहारिक रूपमा कहिलेदेखि सुरु गर्दैछ ? यसका आगामी चरण के–के हुन् ?
हामीले यसको तयारी सुरु गरिसकेका छौँ । अबको पहिलो काम भनेको कार्यविधि बनाउनु हो । त्यो कार्यविधिलाई निगमको सञ्चालक समितिले पास गरेपछि हामी सार्वजनिक सूचना निकाल्छौँ र इथानोल आपूर्तिकर्ताहरूलाई आह्वान गर्छौँ । हामी उनीहरूसँग सम्झौता गर्छौँ । जसमा उनीहरूले कति परिमाणमा, कुन गुणस्तरमा र कुन मूल्यमा इथानोल उपलब्ध गराउन सक्छन् भन्ने स्पष्ट हुनेछ । हाम्रो तर्फबाट दुई-तीन महिनाभित्रै प्राविधिक र नीतिगत काम सकिनेछन् ।
पूर्णरूपमा कार्यान्वयनमा आएर पेट्रोल पम्पहरूमा इथानोल मिश्रित पेट्रोल पाउन कति समय लाग्ला ?
हाम्रो तर्फबाट तयारी छिटो भएपनि उद्योगीहरूले प्लान्ट स्थापना गर्न र उत्पादन सुरु गर्न केही समय लाग्न सक्छ । एउटा इथानोल उद्योग स्थापना गर्न करिब दुई अर्ब रुपैयाँ भन्दा बढी लगानी चाहिन्छ । यदि आपूर्तिकर्ताहरू तयार भए भने अबको ५ देखि ६ महिनाभित्र हामी पेट्रोलमा इथानोल मिसाएर बिक्री सुरु गर्न सक्छौँ ।
हाम्रो दीर्घकालीन लक्ष्य भनेको सन् २०४५ सम्ममा ‘जिरो इमिसन’ को राष्ट्रिय लक्ष्य पूरा गर्नु हो । फोसिल फ्युललाई क्रमशः विस्थापन गर्दै जैविक इन्धनमा जानु नै अहिलेको आवश्यकता हो । यसले नेपालको अर्थतन्त्र र वातावरण दुवैलाई फाइदा पुर्याउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण