बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
गुणस्तर मापदण्ड

मस्यौरामा सोयाबिन मिसाउन नपाइने, १५ प्रतिशत प्रोटिन अनिवार्य

मङ्गलबार, २२ पुस २०८२, १९ : ३५
मङ्गलबार, २२ पुस २०८२

काठमाडौँ । नेपालको मौलिक र परम्परागत खाद्य परिकारको रूपमा रहेको मस्यौराको शुद्धता र गुणस्तर कायम गर्न सरकारले पहिलोपटक विशेष कानुनी मापदण्ड तयार पारेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को आधारमा मस्यौरा उत्पादन, प्याकेजिङ र बिक्री वितरणका लागि अनिवार्य पालना गर्नुपर्ने प्राविधिक नियमहरू सार्वजनिक गरेको हो ।

यसअघि मस्यौराको कुनै निश्चित सरकारी मापदण्ड नहुँदा बजारमा पाइने उत्पादनहरूमा गुणस्तरको एकरूपता थिएन । नयाँ व्यवस्था लागु भएसँगै अब मस्यौरा उत्पादकहरूले सरकारले तोकेको मापदण्डभित्र रहेर मात्र व्यवसाय सञ्चालन गर्न पाउने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी प्रमुख मतिना जोशी वैद्य बताउँछिन् । यसले उपभोक्ताको स्वास्थ्य रक्षा गर्नुका साथै नेपाली मौलिक स्वादको संरक्षणमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको उनको दाबी छ ।

मस्यौराको परिभाषा र उत्पादन प्रक्रियामा स्पष्टता

सरकारले जारी गरेको नयाँ सूचनामा मस्यौरालाई स्पष्ट रूपमा परिभाषित गरिएको छ । जसअनुसार मस्यौरा भन्नाले मास वा अन्य कुनै पनि दलहनजन्य वस्तुलाई भिजाएर, त्यसको बोक्रा पूर्ण वा आंशिक रूपमा हटाई तयार पारिएको लेदोमा विभिन्न तरकारीहरू मिसाएर बनाइने परिकार हो ।

यसरी मिसाइने तरकारीहरूमा पिँडालु, कर्कलो, तरुल, आलु, कुभिन्डो जस्ता प्राकृतिक खाद्य पदार्थहरू हुनुपर्ने व्यवस्था गरिएको छ । यद्यपि उत्पादकले आफ्नो आवश्यकता अनुसार तरकारी नमिसाई पनि मस्यौरा बनाउन सक्ने सार्वजनिक मापदण्डमा भनिएको छ ।

मस्यौरा तयार गर्दा परम्परागत प्राकृतिक फर्मेन्टेसन प्रक्रियालाई अनिवार्य गरिएको छ । यसलाई घाम, सोलार ड्रायर वा आधुनिक मेकानिकल ड्रायरको प्रयोग गरेर सुकाउन सकिनेछ । मानव उपभोगका लागि व्यावसायिक रूपमा उत्पादन र बिक्री गरिने सबै प्रकारका मस्यौरामा यो नियम लागु हुने मन्त्रालयले प्रष्ट पारेको छ ।

मिसावट रोक्न अन्न र सोयाबिनमा पूर्ण प्रतिबन्ध

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार बजारमा पाइने मस्यौरामा तौल बढाउन वा उत्पादन लागत घटाउनका लागि विभिन्न अन्नको धुलो वा भटमास (सोयाबिन) मिसावट गर्ने प्रवृत्ति बढ्दो थियो । नयाँ मापदण्डले यस्तो मिसावटलाई पूर्णरूपमा अवैध घोषित गरिदिएको छ । 

Soyabin

अबदेखि मस्यौरामा कुनै पनि प्रकारको अन्न वा भटमास र त्यसबाट बनेका उत्पादनहरू मिसाउन पाइने छैन । मस्यौरालाई शुद्ध दलहन र तरकारीको सम्मिश्रण मात्र बनाउनुपर्ने सरकारी निर्देशन छ । साथै मस्यौरालाई आकर्षक र रङ्गीचङ्गी देखाउनका लागि प्रयोग गरिने बाह्य रङहरूमा पनि पूर्ण प्रतिबन्ध लगाइएको छ । उपभोक्ताले अब प्राकृतिक रङ र स्वादको मस्यौरा मात्र बजारमा प्राप्त गर्ने सुनिश्चितता यस नियमले गरेको विभागीय प्रमुख वैद्यले बताइन् । मस्यौरामा प्रयोग गरिने मसलाजन्य पदार्थहरूको बारेमा पनि उत्पादकले स्पष्ट जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ ।

प्रोटिनको मात्रा १५ प्रतिशत अनिवार्य

गुणस्तर निर्धारण गर्दा सरकारले मस्यौराको रासायनिक र पोषक तत्वको मात्रालाई विशेष प्राथमिकतामा राखेको छ । अब बजारमा उपलब्ध हुने मस्यौरामा प्रोटिनको मात्रा न्यूनतम १५ प्रतिशत हुनु अनिवार्य छ । यसले गर्दा उपभोक्ताले स्वस्थ र पोषिलो मस्यौरा पाउने सुनिश्चित हुनेछ । 

त्यस्तै मस्यौरामा हुनुपर्ने ओसिलोपना अर्थात् जलांशको मात्रालाई पनि ११ प्रतिशतमा सीमित गरिएको छ । जलांशको मात्रा बढी भएमा मस्यौरा चाँडै बिग्रने र ढुसी लाग्ने सम्भावना हुने भएकाले यो सीमा तोकिएको हो । यसबाहेक कुल भष्मको मात्रा अधिकतम ४ प्रतिशत र डाइलुट हाइड्रोक्लोरिक एसिडमा नघुल्ने भष्मको मात्रा बढीमा ०.१५ प्रतिशत मात्र हुनुपर्ने प्रावधान राखिएको छ । यी प्राविधिक सूचकहरूले मस्यौराको शुद्धता र त्यसमा हुनसक्ने अवाञ्छित खनिजको उपस्थिति जाँच गर्न सहयोग पुर्‍याउनेछन् ।

स्वच्छता र बाह्य पदार्थको उपस्थितिका सम्बन्धमा कडा प्रावधान

मस्यौरा उत्पादन गर्दा सरसफाइ र स्वच्छतामा कुनै सम्झौता नगर्न सरकारले मापदण्ड मार्फत कडा निर्देशन दिएको छ । मस्यौरामा कुनै पनि प्रकारका जैविक वा अजैविक बाह्य पदार्थहरू पाइनुलाई गुणस्तरहीन मानिने मापदण्डमा उल्लेख छ । अजैविक पदार्थ अन्तर्गत ढुङ्गा, बालुवा, काँचका टुक्रा, प्लास्टिक र धातुका अंशहरूलाई राखिएको छ भने जैविक पदार्थ अन्तर्गत कपाल, भुस, पराल, किरा वा मुसाका अंशहरूलाई समावेश गरिएको छ । 

यदि मस्यौरामा यस्ता कुनै पनि वस्तु फेला परेमा वा मस्यौरा ढुसी लागेको, सडेको र ओसिएको अवस्थामा पाइएमा त्यसलाई बिक्रीका लागि अयोग्य मानिनेछ । साथै, मस्यौरामा प्रयोग हुने दलहन वा तरकारीमा हुनसक्ने विषादीको अवशेष र हेभी मेटल्सको मात्रा पनि सरकारले तोकेको मापदण्डभित्रै हुनुपर्नेछ । यसले मस्यौराको व्यावसायिक उत्पादनमा स्वच्छताको नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको कृषि मन्त्रालयले जनाएको छ ।

प्याकेजिङ र लेबलिङमा अनिवार्य पालना गर्नुपर्ने नियम

उत्पादित मस्यौराको गुणस्तरलाई कायम राख्न प्याकेजिङ र लेबलिङका सम्बन्धमा पनि विस्तृत व्यवस्था गरिएको छ । मस्यौरालाई सफा र सुक्खा खाद्य ग्रेडको प्याकेजिङ सामग्रीमा सिलबन्द गरेर मात्र बजारमा पठाउनुपर्नेछ ।

Masyaura

प्रत्येक प्याकेटको लेबलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन बमोजिम आवश्यक पर्ने सबै विवरण खुलाउनुपर्नेछ । विशेषगरी मस्यौरा तयार गर्दा प्रयोग गरिएका सबै सामग्रीहरूको सूची उपभोक्ताले स्पष्ट देख्ने गरी उल्लेख गर्नुपर्नेछ ।

यदि कुनै पनि उत्पादक वा बिक्रेताले यी प्रावधानहरूको उल्लङ्घन गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ । 

कसरी बन्यो मापदण्ड ?

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना जोशी वैद्यले नेपालको मौलिक खाद्य पदार्थ मस्यौराको इतिहासमै पहिलोपटक अनिवार्य गुणस्तर मापदण्ड निर्धारण गरिएको बताइन् । वैद्यका अनुसार जुन वर्षौँको वैज्ञानिक अध्ययन र करिब ६०० वटा नमुनाहरूको प्रयोगशाला विश्लेषणका आधारमा तयार पारिएको हो । 

‘विशेषगरी बजारमा दालको प्रयोग नगरी केवल आलु र मसलाको भरमा मस्यौरा बनाएर बेच्ने प्रवृत्ति देखिएपछि हामीले प्रोटिनको मुख्य स्रोत मानिने दलहनलाई यसको अनिवार्य आधार (बेस) का रूपमा परिभाषित गरेका छौँ,’ उनले रातोपाटीसँग भनिन् ।

‘यो मापदण्डले मस्यौराको स्वच्छता, वास्तविक स्वाद र पौष्टिकता सुनिश्चित गर्दै हाम्रो रैथाने उत्पादनलाई व्यावसायिक र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन भूमिका खेल्नेछ,’ उनले भनिन् । मस्यौरा मात्र नभई विभागले अन्य नेपाली रैथाने र मौलिक परिकारहरूको संरक्षण तथा व्यवसायीकरणका लागि पनि काम गरिरहेको छ । यसअघि नै चिउरा, दालमोठ, गुदपाक, पुस्टकारी जस्ता मौलिक खाद्य पदार्थको गुणस्तर निर्धारण भइसकेको छ भने हाल गुन्द्रुकको मापदण्ड बनाउने प्रक्रिया अन्तिम चरण (पाइपलाइन) मा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप