बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्वास्थ्य व्यवसायी परिषद् ऐन संशोधनको माग गर्दै पाँच संस्थाद्वारा ज्ञापनपत्र

मङ्गलबार, २२ पुस २०८२, १७ : ३४
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • स्वास्थ्य क्षेत्रका पाँच पेसागत संघसंस्थाले स्वास्थ्य व्यवसायी परिषद् ऐन संशोधनको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।
  • परिषद्को कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै, ऐन संशोधन नभएकोमा उनीहरूको आपत्ति छ।
  • उच्च अदालतको आदेश कार्यान्वयन नभएको र माग पूरा नभए सशक्त कार्यक्रम गर्ने चेतावनी दिएका छन्।

काठमाडौँ । स्वास्थ्य क्षेत्रका पाँच विभिन्न पेसागत सङ्घसंस्थाले स्वास्थ्य व्यवसायी परिषद् ऐन तत्काल संशोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन, नेपाल जनस्वास्थ्य सङ्घ, मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल, नेपाल सिएमए सङ्घ र हेल्थ असिस्टेन्ट सङ्घले संयुक्त रूपमा परिषद्को कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दबाब दिएका हुन्।

ती संस्थाले परिषद् स्थापना भएको २७ वर्ष बितिसक्दा पनि ऐन संशोधन नहुनु दुःखद भएको उल्लेख गरेका छन्। परिषद्को ऐनमा पेसागत सङ्घसंस्थाको उचित प्रतिनिधित्वको व्यवस्था नभएको, विषयविज्ञको सट्टा बाहिरका व्यक्तिले विभिन्न समितिको नेतृत्व गरिरहेको र एकै सदस्यले पाँचभन्दा बढी समिति ओगटेको भन्दै उनीहरूले आपत्ति जनाएका छन्। ज्ञापनपत्रमा परिषद्को नेतृत्वले पेसागत मर्यादा र विज्ञतालाई बेवास्ता गरेको आरोप लगाइएको छ।

यसैगरी, उच्च अदालतले तीन महिनाभित्र परिषद्को निर्वाचन गराउन परमादेश जारी गरे पनि त्यसको कार्यान्वयन नभएकोमा ती संस्थाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। पाँचवटै संस्थाका पदाधिकारीले परिषद्का अध्यक्ष सुवोधकुमार शर्मा र रजिस्ट्रार लीलानाथ भण्डारीलाई भेटेर आफ्ना मागहरू छिटो पूरा गर्न ध्यानाकर्षण गराएका छन्। माग सम्बोधन नभए थप सशक्त कार्यक्रम अघि बढाउने उनीहरूको चेतावनी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप