शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

माओवादीदेखि रास्वपासम्म : नयाँ दल चहारिरहने लक्ष्मण चौधरी

बुधबार, २३ पुस २०८२, २० : ००
बुधबार, २३ पुस २०८२

काठमाडौँ । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भएपनि केही समयदेखि निष्क्रिय थिए लक्ष्मण थारू । पुस २१ मा उनी नाउपाका नेता सुरेन्द्र चौधरी लगायतसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरे ।

लक्ष्मण थारू छिटो-छिटो पार्टी बदल्ने नेताको रूपमा चिनिन्छन् । माओवादी पृष्ठभूमिका उनले  थरूहट तराई पार्टी, मधेसी जनअधिकार फोरम नेपाल हुँदै तराई-मधेस केन्द्रित अधिकांश दल चहारिसकेका छन् । मधेसी जनअधिकार फोरम नेपालपछि उनी थरुहट तराई पार्टी नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय जनता पार्टी नेपाल, थरुहट थारुवान राष्ट्रिय मोर्चा, नागरिक उन्मुक्ति पार्टीमा पुगे । अहिले नाउपा छोडेर रास्वपासम्म पुग्दा नौवटा पार्टीमा उनी भित्रिसकेका छन् ।  

माओवादी जनयुद्धमा सहभागी चौधरीले संविधान निर्माणका बेला तत्कालीन माओवादी केन्द्रका नेता लेखराज भट्टले कैलाली र कञ्चनपुरलाई सेती महाकाली प्रदेशमा गाभ्नुपर्नेमा जोड दिएपछि पार्टी परित्याग गरेका थिए । त्यस समयमा उनी माओवादीको कैलाली जिल्ला इन्चार्च थिए । 

त्यसपछि उनले आफ्नै नेतृत्वमा थरुहट तराई पार्टी नेपाल गठन गरे । त्यसको केही समयमै उनी मधेसको नयाँ शक्तिको रुपमा उदाएको उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालमा आवद्ध भए । तर फोरम नेपाल मुद्दा छाडेर सत्ताको राजनीति गर्न लागेको आरोप लगाउँदै उनी त्यसबाट पनि अलग भएर उनले थरुहट तराई पार्टी नेपाललाई पुनर्गठन गरे । फेरि पनि उनले उक्त पार्टीलाई लामो समयसम्म चलाउन सकेनन् र २०६९ असोजमा विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसँग एकता गरे । 

टीकापुर घटनाको दोषी रहेको भन्दै प्रहरीले उनलाई २०७२ भदौमा भैरहवाबाट पक्राउ गरेको थियो । विजयकुमार गच्छदारले लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराएपछि चौधरी कैलाली जिल्ला कारागारमै रहेको बेला २०७४ कात्तिकमा तत्कालीन राजपामा प्रवेश गरेका थिए । 

राजपा नेपालको गतिविधिबाट उनी जेलमै रहँदा असन्तुष्ट थिए । धरौटीमा रिहा भएका उनी २०७९ असारमा रञ्जिता श्रेष्ठको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरे । अर्धभूमिगत अवस्थामा रहेका लक्ष्मण थारु नागरिक उन्मुक्ति पार्टीमा पनि असन्तुष्ट थिए ।

नागरिक उन्मुक्ति पार्टीमा श्रीमान्-श्रीमतीको किचलो प्रवेश गरेपछि उनी राजनीतिमा निष्क्रिय रहेका थिए । कृषि फार्म खोलेर उनी त्यहींको काममा व्यस्त थिए । 

फागुन २१ गतेको प्रतिनिधिसभा चुनाव नजिकिँदै जाँदा वैकल्पिक शक्तिहरू रास्वपामा एकीकृत हुने क्रम बढिरहेको छ । यस्तोमा चौधरी पनि रास्वपामा प्रवेश गरेका छन् । 

एकपछि अर्को पार्टी प्रवेश गर्ने चौधरीको प्रवृत्तिलाई कतिपयले ‘पदको लोभ’ भनेर आरोप समेत लगाउने गर्छन् । कैलालीका राजेश चौधरी भन्छन्, ‘पहिचानका लागि सधै राजनीति गर्ने लक्ष्मण चौधरी पहिचान विरोधी शक्तिमा जानु भएको छ । त्यसैबाट पुष्टि हुन्छ कि उहाँ पदको कति लोभी हुनुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप