बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दीपेन्द्रसिंह ऐरी र एरिका गुरुङ वर्ष खेलाडी घोषित

बुधबार, २३ पुस २०८२, २१ : ५८
बुधबार, २३ पुस २०८२

सारांश

  • दीपेन्द्रसिंह ऐरी र एरिका गुरुङ वर्ष खेलाडी घोषित, पोखरामा एनएसजेएफ अवार्ड वितरण गरियो।
  • ऐरीले क्रिकेटमा र गुरुङले कराँतेमा उत्कृष्ट प्रदर्शन गर्दै अवार्ड जिते, विभिन्न खेलका खेलाडीहरू सम्मानित।
  • पोखरामा आयोजित अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड खड्गबहादुर रानाभाटलाई प्रदान गरियो।

पोखरा । क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कराँतेकी एरिका गुरुङ वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) आयोजनामा बुधबार पोखरा सभागृहमा भएको २२ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड–२०८१ मा वर्ष खेलाडी पुरुषमा ऐरी र वर्ष खेलाडी महिलामा गुरुङ घोषित भएका हुन् ।

गत वर्षको खेलका उपलब्धि आधारमा उनीहरूलाई वर्ष खेलाडी घोषित गर्दै पुरस्कार प्रदान गरियो । नेपाली क्रिकेटले पछिल्लो समय प्राप्त गरेको विभिन्न सफलतामा ऐरीको ठुलो योगदान छ । एसीसी प्रिमियर लिगकप–२०२४ मा कतारविरुद्ध एकै ओभरमा उनले छक्का प्रहार गरेका थिए ।

उनले वर्ष २०८१ मा ३७० रन बनाउनुका साथै २० विकेट लिएका थिए । उनले अमेरिकामा भएको विश्वकपमा छ विकेट लिएका थिए । यो विधामा मनोनयनमा पर्नेमा उसुका विजय सिंजाली, खो–खोका जनक चन्द, टेबल टेनिसका स्यान्टु श्रेष्ठ र क्रिकेटका कुशल भुर्तेल थिए ।

यसैगरी, गत वर्ष पनि यो विधामा अवार्ड थापेकी एरिकाले भुटानमा सम्पन्न आठौँ दक्षिण एसियाली खेलकुदमा २ स्वर्ण, अस्ट्रेलियन ओपन–२०२४ मा स्वर्ण, चीनमा सम्पन्न सिनियर कराँते च्याम्पियनसिपमा रजत जित्न सफल भएकी थिइन् ।

सिंगापुरमा भएको एसिया प्यासिफिक कराँते च्याम्पियनसिपमा समेत उनले स्वर्ण तथा दुबईमा विश्व वान लिगमा रजत पदक जितेकी थिइन् । यो विधामा कराँतेकी एलिसा मगर, खो–खोकी मानमती धामी, फुटबलकी रेखा पौडेल र भलिबलकी सलिना श्रेष्ठ समेत मनोनयनमा परेका थिए ।

अवार्ड समारोहमा पोखराका खड्गबहादुर रानाभाटलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदानको मूल्याङ्कन आधारमा भूतपूर्व खेलाडी मञ्च नेपालका पूर्व अध्यक्षसमेत रहेका रानाभाटलाई उक्त सम्मान गरिएको हो ।

गण्डकी क्षेत्रकै हिमाल सुनारी (भलिबल) ले पिपल्स च्वाइस अवार्ड जिते । गण्डकी प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबलको उपाधि जित्दा टिमका मुख्य खेलाडी थिए । उनी पोखरामा भएको तेस्रो टाइगर कपमा बेस्ट सर्भर घोषित भएका थिए । यो विधामा उसुका विजय सिन्जाली, टेबल टेनिसकी इभाना थापा, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल पनि मनोनयनमा थिए ।

यसैगरी, पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामाले वर्ष प्रशिक्षकको अवार्ड पाए । सो विधामा बक्सिङका दीपक महर्जन, खो–खोका लक्ष्मीनारायण वैद्य, क्रिकेटका महेश रिजाल र करातेका प्रशिक्षक कुशल श्रेष्ठ थिए ।

युवा वर्ष खेलाडीको अवार्ड क्रिकेटकी पूजा महतोले जितेकी छिन् । नेपाल महिला यू–१९ क्रिकेट टोलीलाई पहिलोपटक विश्वकपमा पुर्याउँदा नेपालको नेतृत्व पूजाले गरेकी थिइन् ।

विभिन्न १० अवार्डमध्ये एसियन स्पोर्टस् जर्नालिष्ट अवार्ड बङ्गलादेशका मोहम्मद हसन उल्लाह खान, पारा एथलिट अवार्ड प्रभा आङ्देम्बेले पाए । स्पेसल अवार्ड तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङले प्राप्त गरे ।

पोखरामा जन्मिएका तुलसीकुमार भूपू ब्रिटिस लाहुरे हुन् । नवौँ डान ब्ल्याक बेल्ट पाउने उनी पहिलो नेपाली समेत हुन् । खो–खोको महिला र पुरुष टिम दुवैले टिम अफ दि इयरको अवार्ड जिते ।

नेपाली खेलकुदको प्रतिष्ठित यो अवार्ड राजधानी काठमाडौँ बाहिर पहिलोपल्ट पोखरामा भएको हो । अवार्डको पूर्व सन्ध्यामा मङ्गलवार स्पोर्टस् समिटसमेत भएको थियो ।

मञ्चअन्तर्गतको एनएसजेएफ एकेडेमी आयोजनामा भएको कार्यक्रममा पोखरामा खेल पर्यटन र अर्थतन्त्रबारे छलफल भएको मञ्च अध्यक्ष निरञ्जन अधिकारीले बताए । अधिकारीले पोखरामा खेल क्षेत्रमा प्रशस्त अवसर रहेको उल्लेख गर्दै अवार्ड कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरे ।

अवार्डको मुख्य प्रायोजक गोल्छा ग्रुप थियो । पावर्ड बाईमा यती एयरलाइन्सको साथ थपिएको थियो । भोटिङ पार्टनर खल्ती र पोसाक पार्टनर केल्मी नेपाल हुन् । सो अवसरमा विविध सांस्कृतिक कार्यक्रम समेत भयो ।

पोखरामै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदेशस्तरीय पोखरा स्पोर्टस् अवार्डसमेत गर्दै आएको छ । हालसम्म नवौँ संस्करण पूरा भइसकेको मञ्चका गण्डकी अध्यक्ष एमबी आस्थाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप