बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गाँजा खेती र घरेलु मदिरालाई कानुनी दायरामा ल्याउँछौँ: मुख्यमन्त्री बानियाँ

बुधबार, २३ पुस २०८२, २३ : ०९
बुधबार, २३ पुस २०८२

सारांश

  • मुख्यमन्त्री बानियाँले गाँजा र घरेलु मदिरालाई कानुनी दायरामा ल्याउने बताएका छन्।
  • प्रदेश सरकारले गाँजालाई औषधीय सुनको रूपमा उपयोग गर्ने तयारी गरेको छ, र ब्रान्डिङ गर्ने तयारीमा छ।
  • राक्सिराङ गाउँपालिकाले नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरु गरेको छ।

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गाँजाखेती र घरेलु मदिरालाई कानुनी दायरामा ल्याइने बताएका छन् । गाँजा खेती र घरेलु मदिरा उत्पादनका लागि बागमती प्रदेशमा कानुनी बनाएर नियमन गर्ने उनले बताए ।

बुधबार राक्सिराङ गाउँपालिकाको १९ औँ अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले गाँजा र मदिरा सम्बन्धी ऐन ल्याउने बताएका हुन् । गाँजाको सवालमा संघ, प्रदेश र स्थानीय सरकारबिच समन्वय गरी प्रशोधन केन्द्र स्थापना गरिने उनले बताए । गाँजालाई औषधि निर्माणमा प्रयोग गरिने उनको भनाई छ ।

प्रदेश सरकारले अबको आर्थिक समृद्धिको आधार परम्परागत खेती र उत्पादनलाई बनाउने उनको भनाई छ । मुख्यमन्त्री बानियाँले औषधीय गाँजाको वैधानिकता र घरेलु मदिराको ब्रान्डिङ गर्ने तयारीमा सरकार रहेको बताए । मुख्यमन्त्री बानियाँका अनुसार प्रदेश सरकारले गाँजालाई केवल लागूऔषधका रूपमा नभई औषधीय सुनका रूपमा उपयोग गर्ने तयारी थालेको छ ।

‘संघीयतापछि विकट गाउँहरू सुगमतर्फ उन्मुख हुनु नै गणतन्त्रको असली उपलब्धि हो । अहिलेको व्यवस्थामा प्रहरीले गाँजा लगाउँदैमा समात्ने र घरेलु मदिरा फाल्ने अवस्था अब रहँदैन ।’ मुख्यमन्त्री बानियाँले भने ‘हामीले कोदो र गिठ्ठाबाट बनेको मदिरालाई ब्रान्डिङ गरेर किसानको आयआर्जनसँग जोड्दैछौँ । प्रदेश सरकारले कानुनी निर्माण गरेर वर्षौँदेखि लुकीछिपी हुँदै आएका गाँजा खेतीलाई उत्पादनलाई उद्योगको रूप दिनेछ । हामी अब कुरामा अलमलिँदैनौँ । गण्डकी प्रदेशले झैँ हामी पनि विधेयक ल्याएर गाँजाबाट क्यान्सरको औषधिसम्म बनाउने मार्ग खोल्छौँ । कोदो, मकै र किवीबाट बनेका घरेलु मदिरालाई प्रहरीले नष्ट गर्ने होइन । प्रदेश सरकारले ब्रान्ड बनाएर विदेश निर्यात गर्नुपर्छ । जसले ग्रामीण अर्थतन्त्रमा ठुलो फेरबदल ल्याउने र विदेशी मदिराको आयात प्रतिस्थापन गर्नेछ ।’

पूर्वाधार निर्माणसँगै राक्सिराङको मुहार बदल्न प्रदेश सरकारले लगानी बढाइरहेको उनले बताए । पुल, सडक विस्तार र प्रशासनिक सुदृढीकरणलाई प्राथमिकतामा राखेको सरकारले स्थानीय स्रोतलाई उपयोग गर्ने नीति लिएको उनले बताए । मनहरी–परेवाभीर–मलेखु सडकलाई प्राथमिकतामा राखेको उनको भनाई छ ।

सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्दै राक्सिराङ

मकवानपुर जिल्लाको विकट स्थानीय तहको रूपमा रहेको राक्सिराङ गाउँपालिकाले आफ्नो नवनिर्मित सुविधासम्पन्न प्रशासकीय भवनबाट सेवा सुरु गरेको छ । नवनिर्मित भवनको बुधबार मुख्यमन्त्री बानियाँले उद्घाटन गरेका हुन् ।

मुलुक संघीय संरचनामा गइसकेपछि २०७३ सालमा स्थापित स्थानीय तहले ९ वर्षपछि आफ्नै प्रशासकीय भवनबाट सेवा दिन सुरु गरेको हो । गाउँपालिका स्थापनापछि पालिका केन्द्र चैनपुरस्थित प्रजा जागृति माध्यमिक विद्यालयको छात्रावास भवन र स्वास्थ्य चौकी भवनलाई मर्मत सुधार गरी गाउँपालिकाले सेवा सुचारु गरेको थियो ।

२०७८ असारबाट पालिका केन्द्र चैनपुरमै ७ कठ्ठा जमिनमा पालिका भवन निर्माण थालिएको थियो । निर्माण थालिएको करिब साढे चार वर्षपछि पालिकाको चारतले ४३ कोठे भवन निर्माण सम्पन्न गरिएको थियो । ६ करोड ४२ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी जयमाता इन्जिनियरिङ निर्माण कम्पनीसँग सम्झौता गरी काम थालिएको थियो ।

२०८२ असार मसान्तसम्म निर्माण कार्य सकिसक्नुपर्ने सम्झौता भए पनि तोकिएको समयभन्दा ४ महिना ढिला गरी निर्माण पक्षले काम सकेको थियो । नयाँ भवन निर्माण भएसँगै पालिकाको कार्यालयको सेवा थालनी गरिएको  गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । संघीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत लगानीमा भवन निर्माण भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप