सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

महाधिवेशनको सन्देश जनस्तरमा पुर्‍याउन मातहतका कमिटीलाई निर्देशन

बिहीबार, २४ पुस २०८२, २१ : ४४
बिहीबार, २४ पुस २०८२

काठमाडौँ । नेकपा एमालेले पार्टीको ११औँ महाधिवेशनको सन्देश जनस्तरमा पुर्‍याउन पार्टीका मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णयसहित अन्तरपार्टी निर्देशन जारी गर्दै एमालेले मंसिर २७ देखि पुस ३ गतेसम्म भएको पार्टी महाधिवेशनले गरेको निर्णयलाई जनस्तरसम्म पुर्‍याउन निर्देशन दिएको हो । 

पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा प्रतिगमनका विरुद्ध व्यापक जनमत निर्माण गर्ने र भदौ २३ र २४ गतेको घटनाले राष्ट्रिय राजनीति र पार्टी जीवनमा उत्पन्न समस्याको विधिसम्मत समाधान खोज्ने उद्देश्य राखेको एमालेले स्पष्ट पारेको छ । ‘ती दुवै उद्देश्यमा पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशन पूर्णतः सफल रह्यो’, अन्तरपार्टी निर्देशनमा उल्लेख छ ।

महाधिवेशनका समयमा प्रतिनिधि चयनदेखि नेतृत्व निर्वाचनसम्म भएका बहस र विवाद सकिएका एमालेले जनाएको छ ।

‘निर्वाचनका समयमा भएको समूह बन्दी त्यहीँ सकिएको छ, यति बेला पार्टी पुनः वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकताबद्ध भएको छ, महाधिवेशनका समयमा केही कम कमजोरीहरू रहेका भए पनि हाम्रा उपलब्धिहरूका सामु ती गौण छन्, अब सिङ्गो पार्टी महाधिवेशनका सन्देशहरू बोकेर जनताका बिचमा पुग्नुपर्दछ’, जारी निर्देशनमा उल्लेख छ ।

पार्टीको दोस्रो विधान महाधिवेशनबाट पारित दस्ताबेजहरूबाट सिङ्गो पार्टीपंक्ति निर्देशित हुनुपर्ने उल्लेख गर्दै पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनबाट अत्यन्त लोकतान्त्रिक तरिकाले नेतृत्व चयन भएको एमालेले जनाएको छ ।

‘आगामी ५ वर्षका लागि नीति र नेतृत्वको प्रश्न विधिसम्मत रूपमा निरूपण भएको छ, अब सिङ्गो पार्टीपंक्ति पार्टी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय गन्तव्य हासिल गर्नका लागि पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सङ्कल्प पुरा गर्न लाग्नु पर्दछ’, अन्तरपार्टी निर्देशनमा लेखिएको छ ।

पार्टीले भदौ २३ र २४ गतेको घटना राष्ट्रको जीवनमा अत्यन्त गम्भीर र दुःखद घटना भएको स्पष्ट पारेको छ । यस घटनाले मुलुक प्रतिगमनको बाटोतर्फ अग्रसर भएको भन्दै एमालेले जननिर्वाचित सरकारको ठाउँ संविधानले नचिनेको सरकारले लिएको जनाएको छ ।

‘असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरिएको छ, ऐतिहासिक संविधानसभाबाट बनेको संविधान घायल भएको छ, राष्ट्रको गौरव र अस्मितामाथि गम्भीर क्षति पुर्‍याउने काम भएको छ, मुलुकमा भय र त्रासको वातावरण सिर्जना भएको छ, लोकतन्त्रका आधार स्तम्भमाथि प्रहार गरिएको छ, यस्तो अवस्थामा मुलुकलाई सही दिशातर्फ फर्काउनका लागि आन्दोलनकारी ढङ्गले अघि बढ्नुपर्छ’, पार्टीको निर्देशन छ ।

प्रतिनिधिसभाको पुनर्स्थापना होस् या निर्वाचन दुवै मोर्चामा सफलता पाउनका लागि सिङ्गो पार्टीपंक्ति एकताबद्ध र आन्दोलनकारी ढङ्गले अघि बढ्नुपर्ने पार्टीले स्पष्ट पारेको छ । 

अन्तर्राष्ट्रियस्तरमा घटेका घटनाक्रमहरूले पनि हाम्रो जस्तो मुलुकमा राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, लोकतन्त्र र लोकतान्त्रिक परिवेश तथा हाम्रो जस्तो पार्टी र आन्दोलनको रक्षाका लागि आन्दोलनकारी ढङ्गले अघि बढ्नुपर्नेको अपरिहार्यतालाई पुष्टि गरिरहेको एमालेले जनाएको छ । यसतर्फ सिङ्गो पार्टीपंक्तिको ध्यान जानु आवश्यक एको पार्टीले स्पष्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप