बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्राध्यक्षको अपहरण टुलुटुलु हेर्नु बलात्कार हेरेजस्तै हो – बाबुराम भट्टराई

बिहीबार, २४ पुस २०८२, २२ : १४
बिहीबार, २४ पुस २०८२

सारांश

  • पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भेनेजुएला मामिलामा नेपाल सरकारको प्रतिक्रियाको आलोचना गरे।
  • उनले अमेरिकी कार्यको विरोध गर्दा नेपालको परराष्ट्र नीतिमा प्रश्न उठाए, निष्क्रियताप्रति आक्रोश व्यक्त गरे।
  • भट्टराईले राष्ट्रिय सुरक्षा र हितको लागि अन्तरिम सरकार र नेताहरूलाई संवेदनशील बन्न आग्रह गरे।

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल सरकारले लिएको 'नजिकबाट नियालिरहेको' भन्ने अभिव्यक्तिको चर्को आलोचना गरेका छन् ।

बिहीबार राति सामाजिक सञ्जालमार्फत आफ्ना विचार सार्वजनिक गर्दै उनले सार्वभौमसत्तासम्पन्न राष्ट्रको प्रमुखलाई सैन्य बल प्रयोग गरेर अपहरण गर्दा पनि केवल 'नजिकबाट नियाल्ने' भन्नु लाजमर्दो भएको टिप्पणी गरेका छन् । 

डा. भट्टराईले यस्तो निष्क्रियतालाई 'कसैलाई सबैको अगाडि कसैले बलात्कार गर्दा टुलुटुलु हेरेर मात्र बस्न मिल्छ र ?' भन्ने प्रश्न गर्दै नेपालको परराष्ट्र नीतिको वर्तमान अवस्थाप्रति आक्रोश व्यक्त गरे । उनले यो नेपालले सधैँ अनुशरण गर्दै आएको पञ्चशील सिद्धान्त र असंलग्न परराष्ट्र नीति, अन्तर्राष्ट्रिय कानुन, विश्व शान्ति तथा मूल्यमान्पता र सामान्य नैतिकताको समेत विरुद्धमा रहेको औंल्याए । 

उनका अनुसार नेपाल जस्तो जटिल भू–राजनीतिक अवस्थिति भएको मुलुकको निम्ति यस्तो संवेदनशील विषयमा मौनता साँध्नु गम्भीर राष्ट्रिय सुरक्षा र समग्र राष्ट्रहितको मुद्दा पनि हो । 

भट्टराईले अमेरिकी सरकारको कुनै अमूक नीति वा कामको विरोध गर्नु समग्र अमेरिकी राज्य र जनताको विरोध नभएको स्पष्ट पारेका छन् । उनले मित्र राष्ट्रको गलत कामको विरोध गर्नु भनेको सो मित्रको पूरै विरोध नभई उसलाई सतर्क गराएर सुध्रन सघाउनु भएको पनि उल्लेख गरेका छन् । 

यस्तो संवेदनशील र राष्ट्रिय हितको विषयमा अन्तरिम सरकार गम्भीर बन्नुपर्ने र प्रमुख दल तथा नेताहरू पनि मूकदर्शक नबन्न उनले आग्रह गरे । डा. भट्टराईले अरू विषयमा मतभिन्नता भए पनि परराष्ट्र नीति र राष्ट्रिय सुरक्षाको विषयमा आम राष्ट्रिय सहमति हुनैपर्नेमा जोड दिएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप