रेबिजका कारण ज्यान गुमाएका बालकको त्यो मार्मिक वाक्य
सारांश
- ललितपुरकी एक महिलाले रेबिजविरुद्धको खोप लगाउन छोरालाई अस्पताल ल्याइन्, किनभने एक बालकलाई कुकुरले टोकेको थियो।
- कुकुरले टोकेका बालकको रेबिजका कारण मृत्यु भएपछि महिलाले आफ्नो छोरालाई पनि खोप लगाउन चाहेकी थिइन्।
- लेखकका अनुसार, काठमाडौँमा रेबिजविरुद्धको खोपको अभाव र औषधि पसलको लापरवाहीले मृत्युको विडम्बना निम्त्यायो।
केही हप्ता अगाडि ललितपुरकी एक महिला आफ्नो छोरालाई रेबिजविरुद्धको खोप लगाउन भनेर अस्पताल आइपुग्नुभएको थियो। उहाँको भनाइअनुसार अन्दाजी १२ वर्षीय एक बालकसँग उहाँको छोराको भेट घरबाहिर खेल्न जाँदा भएको थियो। आफ्नो छोराको अनुरोधमा महिलाले सो बालकलाई आफ्नो घरमा ल्याएका थिए।
खाना खाने बेलामा सो बालकले ती महिलाको छोरालाई आफ्नो पनि खाना खान आग्रह गरेका थिए। सो क्रममा बालकले आफू आफन्तकोमा बस्ने गरेको र आफ्नो अभिभावक अनि परिवारका अरूले पनि माया नगर्ने बताएका थिए।
पछि सुत्ने बेलामा बत्ती निभाउनेबित्तिकै आत्तिने र तर्सिने गरेकोले सो बालक सुत्न नसकेकाले महिलाले आफन्तकोमा फर्काइदिनुभएछ। दुर्भाग्यवश, सो बालकको केही दिनमा नै रेबिजका कारणले मृत्यु भएको थाहा पाउनुभएछ। तसर्थ खाना सेयर गरेकोले आफ्नो छोरालाई पनि खोप लगाउन भनेर आइपुग्नुभएको रहेछ।
‘यदि पहिले नै कुकुरले टोकेको थाहा भएको भए मैले नै सो बालकलाई लगेर खोप लगाइदिन्थेँ,’ भनेर उहाँले दुःख व्यक्त गर्नुभएको थियो। उहाँको भनाइअनुसार बालकका बुबा निर्माण कार्यमा व्यस्त हुँदा बढीजसो घरबाहिर रहनुपर्ने अनि आमाले दोस्रो बिहे गर्दा बालकले आत्मीय माया नपाएको सुनाएका थिए। जुन आफैँमा मार्मिक बनाउने वाक्य हो।
जनावरले टोकेर आउनेमा धेरैजसो बालबालिकाहरू हुने गर्दछन्। जनावरमा बढी कुकुरले नै टोकेर आउने गर्दछन्।
अस्पतालमा एक–दुई दिन अगाडिदेखि नै सो बालकसँग सम्पर्कमा रहेकाहरू पनि खोप लगाउन आउनुभएको थियो। अरूको भनाइअनुसार सो बालकलाई कुकुरले टोकेको अनि आफन्तले नजिकैको औषधि पसलमा लगेको तर घाउका लागि मात्र औषधि दिएका रहेछन्। तर रेबिजविरुद्धको खोप लगाउन न त बालकका आफन्तले (वा जोसँग बालक थिए) सोचेको देखिन्छ न त औषधि पसलले नै खोप लगाउन अस्पताल जान सल्लाह नै दिएको देखिन्छ। काठमाडौँजस्तो सहरमा रेबिजविरुद्धको खोप नलगाएर मृत्यु हुनु यो घटना आफैँमा दुर्भाग्य र विडम्बना मान्न सकिन्छ।
जनावरले टोकेर आउनेमा धेरैजसो बालबालिकाहरू हुने गर्दछन्। जनावरमा बढी कुकुरले नै टोकेर आउने गर्दछन्। धेरैजसो बालबालिकाहरूले कुकुरलाई चलाइदिँदा टोक्ने गरेको अभिभावकहरूले भन्ने गरेको पाइन्छ। विशेषतः औँला वा घाँटीभन्दा माथि नै बढी टोक्ने गरेको पाइन्छ।
पछिल्लो समय बिरालोले पनि टोकेर वा चिथोरेर आउनेको सङ्ख्या ह्वात्तै बढेको देखिन्छ। मेरो अनुभवमा अभिभावकहरू आफ्नो काममा व्यस्त हुँदा टोकेको नदेख्ने/थाहा नपाउने वा टोकेको भए पनि बालबालिकाले आफ्नो अभिभावकलाई नभनिदिनाले खोप लगाउनबाट चुक्ने गरेको वा ढिलो मात्र थाहा पाउने गरेको देखिन्छ।
जनावरले टोकेको अवस्थामा चिकित्सकको परामर्श लिएर खोप छिटोभन्दा छिटो लगाउनुपर्दछ। कुनै पनि उमेर समूहका बालबालिकाका लागि खोपको डोज र मात्रा एकै हुन्छ। अर्थात् उमेरअनुसार खोपको डोज र मात्रा फरक–फरक हुँदैन। बालबालिका खोप भनेपछि डराउने वा विचलित हुने हुँदा खोप मासुभित्र (इन्ट्रा मस्कुलर) दिँदा राम्रो हुन्छ र यसलाई चार मात्रामा (चार पटक) दिने गरिन्छ।
अन्त्यमा, मृतक बालकले (आमाबुबाको माया नपाएको) माथि उल्लेखित महिलालाई भनेको कुरा आफैँमा मार्मिक थियो। त्यसमा पनि काठमाडौँजस्तो सहजै खोप उपलब्ध हुने ठाउँमा समेत खोप लगाउनबाट चुक्नु/वञ्चित हुनु अर्को ठुलो विडम्बना हो।
माथि उल्लेखित बालकलाई स्थानीय औषधि पसलले रेबिजविरुद्धको पनि खोप लगाउन सुझाव दिएको भए बालकको मृत्यु नै हुने थिएन। औषधि पसलमा रेबिजविरुद्धको खोप उपलब्ध भए कुकुरले (वा जनावरले) टोकेको अवस्थामा विलम्ब नगरी लगाइदिनुपर्दछ। यदि नभए एकपटक जतिसक्दो चाँडो चिकित्सकको परामर्श लिन सुझाउनुपर्दछ।
कतिपय औषधि पसलहरूमा जनावरको टोकाइपछि घाइतेहरूलाई टिटानसको सुई मात्र लगाए पुग्छ भन्ने गर्दा रेबिजबाट मृत्युवरण गरेकाहरू मैले धेरै देखेको छु। एक वर्ष अगाडि लगभग ३० वर्षीय युवा आफ्नो गाउँ जाँदा त्यहाँको स्थानीय कुकुरले टोकेपछि नजिकैको औषधि पसल जाँदा कुकुर देखिराख्ने भएकोले रेबिज खोप आवश्यक नभएको बरु टिटानसको खोप मात्र लगाए पुग्छ भन्दा केही महिनाको अन्तरालमा अस्पताल आइपुग्दा रेबिजका लक्षणहरू देखा परिसकेका थिए।
रेबिज प्राणघातक रोग त हो तर समयमा नै पूर्ण खोप लगाए सुरक्षित भइन्छ। यो जानकारी नेपालभरि अझै पुर्याउन भने सकेको देखिँदैन। जसको कारणले बर्सेनि नेपालमा दर्जनौँ मानिसको मृत्यु रेबिजका कारणले हुने गरेको तथ्याङ्क देखिन्छ।
यही अनुभवलाई आधार मान्दै यदि औषधि पसलका बिक्रेताहरूलाई (फर्मासिस्ट) पनि सम्बन्धित निकायले समय–समयमा रेबिज खोपसम्बन्धी जानकारी वा तालिम दिन सके धेरैको ज्यान बचाउन सकिने थियो भन्ने मेरो सुझाव हो। किनभने जोसुकैलाई कुकुर वा जनावरले टोके घाइते पहिला पुग्ने भनेको नै स्थानीय औषधि पसलमा हो र उनीहरूले दिने सल्लाह नै सबैभन्दा महत्त्वपूर्ण हुने गर्दछ।
अन्त्यमा, मृतक बालकले (आमाबुबाको माया नपाएको) माथि उल्लेखित महिलालाई भनेको कुरा आफैँमा मार्मिक थियो। त्यसमा पनि काठमाडौँजस्तो सहजै खोप उपलब्ध हुने ठाउँमा समेत खोप लगाउनबाट चुक्नु/वञ्चित हुनु अर्को ठुलो विडम्बना हो।
रेबिज प्राणघातक रोग त हो तर समयमा नै खोपको मात्रा पूरा लगाए पूर्ण सुरक्षित भइन्छ भन्ने जानकारीलाई अझै व्यापक बनाउन जरुरी देखिन्छ। विकसित देशहरूमा जस्तै नेपालमा पनि रेबिज रोग इतिहासमा मात्र सीमित होस् भन्ने मेरो सपना हो।
(लेखक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण