रास्वपाको समानुपातिक बन्दसूचीमा झमेला, नाम फिर्ता नलिएसम्म अद्यावधिक नहुने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपाल पार्टी (उनेपा) सँगको पार्टी एकता तोडिएपछि समानुपातिक उम्मेदवारहरूको बन्दसूची अद्यावधिक गरेको छ।
- रास्वपाले उनेपाका १४ जना सदस्यहरूको नाम बन्दसूचीबाट हटाउने वा राख्ने विषयमा निर्वाचन आयोगसँग छलफल गरिरहेको छ।
- पार्टीभित्रको आलोचना र पदको विवादका कारण उनेपासँगको ७ बुँदे सहमति खारेज गरिएको छ, र अद्यावधिक प्रक्रियाबारे दुई विकल्प छन्।
काठमाडौँ । उज्यालो नेपाल पार्टी(उनेपा)सँगको पार्टी एकता तोडिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समानुपातिक उम्मेदवारहरूको बन्दसूची अद्यावधिक गरेको छ । आइतबार बिहान निर्वाचन आयोग पुगेर बन्दसूची अद्यावधिक गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । उनेपाको तर्फबाट बन्दसूचीमा रहेका १४ जना नामको सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल भइरहेको झाले बताए ।
‘समानुपातिक बन्दसूची अद्यावधिक भएको जानकारी आएको छ । कुलमानजीको पार्टीबाट राखिएका १४ जनाको हकमा आयोगका पदाधिकारीसँग छलफल भइरहेको छ । विस्तृत जानकारी आएको छैन’, उनले भने ।
पुस १४ गते उनेपासँग ७ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो । तर सहमति कार्यान्वयनका लागि हदैसम्म लचिलो हुँदा समेत रास्वपा तयार नभएको उनेपाका नवनियुक्त अध्यक्ष कुलमालन घिसिङले आरोप लगाएका छन् । तर घिसिङको आरोपको खण्डन गर्दै रास्वपाका नेताहरूले पार्टीको महत्त्वपूर्ण पद, केन्द्रीय सदस्य र निर्वाचनपछि भावी प्रधानमन्त्री पनि माग गरेपछि सहमति कार्यान्वयन नभएको आरोप लगाएको छ । रास्वपाको शनिबार बसेको सचिवालयको आकस्मिक बैठकले उनेपासँग भएको ७ बुँदे सहमति खारेज गर्ने निर्णय गर्यो ।
रास्वपाले बुझाएको समानुपातिक बन्दसूचीमा उनेपाका १४ जना सदस्यहरू छन् । यसअघि आन्तरिक प्रतिस्पर्धामा अब्बल अंक पाएकालाई पन्छाएर सेलिब्रेटी, व्यापारी घराना लगायतलाई अगाडि राखिएकोप्रति पार्टीभित्र र बाहिर चर्को आलोचना भएपछि १५ जनाले नाम फिर्ता लिइसकेका छन् ।
रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले अद्यावधिकका लागि दुईवटा विकल्प रहेको बताए । ‘समावेशी क्लस्टर नमिलेको ठाउँमा नियमित प्रक्रिया अन्तर्गत अद्यावधिक हुन्छ । उनेपाको तर्फबाट बन्दसूचीमा रहेका व्यक्तिको हकमा बन्दसूचीमा रहेका व्यक्तिले नाम फिर्ता लिनुपर्छ’, रातोपाटीसँग उनले भने, ‘हामी पदका लागि होइन एकताकै पक्षमा छौँ भन्नुभयो भने उहाँहरूकै नाम बन्दसूचीमा राखिन्छ ।’
अद्यावधिक कसरी गर्ने भन्ने विषयमा जसको जुन स्थान रिक्त छ वा नाम फिर्ता लिएको अवस्थामा तलबाट माथि सारिने सम्भावना रहेको बुर्लाकोटीले बताए । अर्को विकल्पमा एकता गर्नुअघि योग्य व्यक्तिलाई अन्यन्त्र रहेर एकताबाट आएकालाई राखिएकाले पहिलेकै व्यक्तिलाई सो स्थानमा ल्याउन सकिने उनले बताए ।
‘अद्यावधिकका विषयमा हामीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरिरहेका छौँ । पार्टीको तर्फबाट दुई विकल्प हुन्छ । पहिलोमा जस्तै एक नम्बरमा रहेका व्यक्तिले नाम फिर्ता लिएको खण्डमा तलबाट माथि अद्यावधिक हुन्छ । दोस्रो पहिलो योग्य व्यक्तिलाई अन्यन्त्र व्यवस्थापन गरी एकतामा आएका व्यक्तिलाई राखिएको अवस्थामा पहिलेकै व्यक्तिलाई ल्याउने सम्भावना छ’, उनले भने ।
यसैगरी प्रत्यक्ष उम्मेदवार छनोट सम्बन्धमा वरिष्ठ नेता बालेन शाहले गृहकार्य गरिरहेको बुर्लाकोटीले जानकारी दिए । प्राइमरी निर्वाचनको साथै बहुआयमिक योग्यताको आधारमा छनोट गर्नेबारे छलफल भइरहेको उनले बताए ।
तर निर्वाचन आयोगले बन्दसूचीमा रहेका व्यक्तिले नाम फिर्ता नलिएसम्म केही गर्न नसक्ने बताएको छ । कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समावेशी क्लस्टर नमिलेको खण्डमा सच्याउन मिलेपनि एकता प्रक्रियामा जोडिएका व्यक्तिहरूले नाम फिर्ता लिनुपर्ने बताए ।
‘बन्दसूचीमा रहेका व्यक्तिहरू जुन पार्टीका हुन् उसले नाम फिर्ता नलिएसम्म अद्यावधिक हुन सक्दैन । सम्बन्धित दलले नाम फिर्ता लिन नमानेको खण्डमा जुन दलको बन्दसूचीमा नाम रहेको उसकै उम्मेदवार हुन्छ’, भण्डारीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण